चितवन विशेष
प्लाष्टिकजन्य फोहोर ल्याउँदा साबुन सित्तैमा

चितवन, पुस २५–
चितवनको भरतपुर महानगरपालिका–१० मा रहेको हिमाली पथ टोल विकास संस्थाले प्लाष्टिकजन्य फोहोर ल्याउने टोलवासीलाई साबुन सित्तैमा दिने भएको छ । टोलका अध्यक्ष प्रजिल श्रेष्ठले एक किलो प्लाष्टिकजन्य फोहोरको सट्टामा एउटा लुगा धुने साबुन दिइने बताए ।
‘टोललाई सफासुग्घर राख्नका लागि हामीले फोहोर लिएर साबुन दिने अभियान सुरु गरेका छौँ’ श्रेष्ठले भने, ‘एक किलो प्लाष्टिकजन्य फोहोर ल्याउने टोलवासीलाई १२५ ग्रामको लुगा धुने साबुन दिन सुरु गरेका छौँ ।’ यस अभियानले टोललाई प्लाष्टिकजन्य फोहोरबाट सुरक्षित गर्न सकिने श्रेष्ठले बताए । यो अभियान निरन्तर सञ्चालन गर्दै लैजाने श्रेष्ठको भनाइ छ ।
मेरो फोहोर मेरो जिम्मेवारी भन्ने मूलमन्त्रलाई आत्मसाथ गर्दै घरेलु फोहोर वर्गीकरण र उचित व्यवस्थापनका लागि प्लाष्टिक लिएर साबुन दिने अभियान सुरु गरिएको श्रेष्ठको भनाइ छ । यसैअवसरमा स्थानीयलाई फोहोरसम्बन्धी चेतना जगाउने उद्देश्यले सोमबार टोलवासीलाई भेला गरेर सचेतनामूलक प्रशिक्षण समेत दिइएको छ । घरेलु फोहोर वर्गीकरण तथा उचित व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको श्रेष्ठले बताए ।
भरतपुर महानगरपालिकाको समन्वय तथा हिमाली टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा ७४ जना टोलवासी सहभागी भएका कार्यक्रम संयोजक मुना पाण्डेले बताइन् । सो अभिमुखीकरणमा टोलवासीहरुलाई घरेलु फोहोर वर्गीकरण, कम्पोष्ट मल बनाउने तरिका, प्राङ्गारिक विषादी बनाउने तरिका, करेसाबारी निर्माणमा जागरण गर्नेगरी प्रशिक्षण दिइउको पाण्डेको भनाइ छ ।
अभिमुखीकरणमा भरतपुर महानगरपालिका वातावरण शाखाकी जानुका केसीसँगै सुवर्ण घिमिरे र शारदा शर्मा पौडेलले स्थानीयलाई प्रशिक्षण दिएका थिए । उनीहरुले कम्पोस्ट मल तथा प्राङगरिक विषादी बनाउने तरिका, वातावरणीय प्रदूषण, घरेलु फोहोर मैला व्यवस्थापनका विषयमा प्रशिक्षण दिएका थिए ।

























