Breaking News
माडीमा बेपत्ता भएको ठेकेदारसँग स्पष्टिकरण, निर्देशनालयले दियो ठेक्का तोड्ने चेतावनी

चितवन, पुस २३-
हुलाकी राजमार्ग निर्देशनालयले माडीमा समयमा काम सम्पन्न गर्न नसक्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरेको छ ।
निर्देशनालयले शनिबार सूचना जारी गर्दै विभिन्न पुल र सडक खण्डको काम समय सम्पन्न गर्न नसकेका निर्माण व्यवसायीसँग तीन दिनभित्र स्पष्टीकरण पेस गर्न माग गरेको हो ।
निर्देशनालयका अनुसार चितवनको माडी–ठोरी सडकखण्डमा घाँघर खोला पुल बनाइरहेको सपना लोहनी जेभी र पतरी खोला पुलको जिम्मा पाएको लोहनी एण्ड ब्रदर्ससँग स्पष्टीकरण माग गरिएको छ । यी निर्माण कम्पनीहरुले सूचना जारी भएको तीन दिनभित्र निर्माणस्थलमा काम सुरु नगरेमा ठेक्का तोड्न प्रक्रियासमेत थालिने निर्देशनालयले जनाएको छ ।
समृद्धिका लागि युवा अभियान माडीले यस क्षेत्रमा सडक तथा पुलको ठेक्का लिएर काम अलपत्र पार्ने निर्माण कम्पनीका प्रमुखहरुलाई दबाब दिने उद्देश्यले सार्वजनिक स्थानमा ‘ठेकेदार हराएको सूचना’ टाँसेका थिए ।
अभियानका अभियन्ताहरुले सञ्चारकर्मी एवं स्थानीयवासीहरुको सहभागितामा माडी–९ वडा कार्यालय, जनजीवन माविअगाडि र जीवनपुर गाउँमा फोटोसहितको विरोध जनाउने ब्यानर टाँसेका हुन् । लोहनी एण्ड ब्रदर्शका निर्माण व्यवसायीले काम अलपत्र पारेको आरोप लगाउँदै रंगीन फोटोसहित ‘ठेकेदार हराएको’ व्यहोराको ब्यानर टाँस गरिएको थियो ।

अभियानले माडी–देवेन्द्रपुरदेखि बगईसम्मको सडक स्तरोन्नतिको जिम्मा लिएको बज्रगुरू कन्स्ट्रक्सन तथा पतरे, मगोई, घाँघर र बगही पुलको जिम्मा लिएको लोहनी एण्ड ब्रदर्श कन्स्ट्रक्सनका निर्माण व्यवसायीको फोटो सार्वजनिक स्थानहरुमा टाँगेर छिटो काम सुरू गर्नका लागि दबाब दिएको हो ।
पूर्वी माडीको हुलाकी सडकमा रहेको पिच भत्काई वर्षौंसम्म नयाँ कालोपत्रे सुरू नगरेको बज्रगुरू कन्स्ट्रक्सनलाई आरोप छ । भरतपुर–माडी–ठोरी हुलाकी राजमार्गअन्तर्गत माडी–देवेन्द्रपुरदेखि बगईसम्मको सडक स्तरोन्नतिको जिम्मा लिएको निर्माण कम्पनीले काम अलपत्र पारेको युवा अभियानले जनाएको छ ।
७.७ किलोमिटर सडक स्तरोन्नति गर्न २०७६ सालको पुसमा सम्झौता भएको थियो । ३३ करोड रूपैयाँ खर्च हुने सो काम गएको वैशाखमा सकिनुपर्ने सम्झौतामा उल्लेख भए पनि हालसम्म सडकको १० प्रतिशतको हाराहारीमा मात्रै काम भएको हुलाकी सडक आयोजना वीरगन्ज कार्यालयका सूचना अधिकारी इन्जिनियर दुर्गा मण्डलले बताए ।
लोहनी एण्ड ब्रदर्शले पतरेसहित मगोई, घाँघर, बगही पुल निर्माणको ठेक्का लिए पनि निर्माण पूरा हुन सकेको छैन । पुल निर्माण पूरा गराउन पटकपटक म्याद थप भए पनि निर्माण कार्यले पूर्णता नपाउँदा माडीवासीहरु समस्यामा रहेका छन् ।
निर्माण व्यवसायी पक्ष भने वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा नभएको भन्दै निकुञ्जसम्बन्धी विभिन्न समस्या देखाई पन्छिने गरेको अभियानका अभियन्ता एवं माडी–१ का पूर्ववडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । उनले निर्माणमा भएको ढिलासुस्तीले माडीको आर्थिक गतिविधिमा असर परेको बताए । माडी नगर क्षेत्रभित्र विकास निर्माणका काममा भएको ढिलासुस्ती, भ्रष्टाचार र बेथितिविरूद्ध माडीका अगुवा युवाहरुले अभियान थालेका छन् । ‘समृद्धिका लागि युवा अभियान माडी’ नामको नयाँ अभियान सुरूवात गर्दै ढिलासुस्ती, भ्रष्टाचार र बेथितिविरूद्ध उनीहरुले खबरदारी बढाएका छन् ।
























