चितवन विशेष
भरपुरकी मेयर दाहालद्वारा पश्चिम चितवनमा चार डिप बोरिङको उद्घाटन, किसान खुसी

चितवन, पुस २३-
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एकै दिनमा चार वटा ठूला डिप ट्युबेल सिँचाई प्रणालीको उद्घाटन गरेकी छन् ।
शुक्रबार भरतपुर महानगर–२३ स्थित विभिन्न स्थानमा निर्माण सम्पन्न भएका ४ डिप बोरिङको उद्घाटन गरेकी हुन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजनाका प्रमुख देवकुमार स्याङबोका अनुसार चार वटा डिप बोरिङ तीन करोड ४७ लाख ३१ हजार ८६५ रुपैयाँ लागतमा निर्माण भएको हो ।
डिप बोरिङहरु पूर्णरुपमा सञ्चालनमा आएसँगै भरतपुर–२३ को १२० बिघामा आकाशे पानीको भर पर्नुपर्ने अवस्था हटेको छ । प्राविधिका अनुसार एक डिप बोरिङले ४० देखि ६० बिघा क्षेत्रफल जग्गालाई प्रर्याप्त रुपमा सिँचाई गर्न पुग्छ । महानगरकी मेयर दाहालले सिँचाइको अभाव भएको स्थानमा महानगरपालिकाले सिँचाइका योजना अगाडि बढाएको बताइन् । कृषिको प्रचुर सम्भावना रहेको पश्चिम चितवनलाई पुग्ने गरी सिँचाइको दियो अभियानअन्तर्गत नारायणी लिफ्ट सिँचाइको मर्मत गर्ने काम भइरहेको बताइन् । उनका अनुसार अहिले अल्पकालिन रुपमा डिप ट्युबबेल निर्माणको कार्य अगाडि बढाइएको हो । निर्माण समपन्न भएपछि आगामी दिनमा भरतपुर
महानगरपालिकामा सिँचाइको अभाव नहुने दाहालको दाबी छ । आफ्नो पाँच वर्षे कार्यकालमा ५६२ वटा ट्युबेल निर्माण भएको उनले बताइन् । कृषि उत्पादनलाई वृद्धि गर्न सुख्खाग्रस्त क्षेत्रमा भूमिगत सिँचाईमार्फत् १२ महिना नै सिँचाइको प्रबन्ध मिलाउने गरी महानगरका २९ वटा वडामा बोरिङका कार्यक्रमहरु सञ्चालन भइरहेको प्रमुख दाहालको भनाइ छ ।
चितवन भूमिगत सिँचाई आयोजनामार्फत भरतपुरमा ३० वटा डिप बोरिङ र २०० स्यालो ट्युबवेल निर्माण भइसकेको आयोजनाका प्रमुख स्याङबोले जानकारी दिए । सिँचाइको व्यवस्था भएसँगै कृषकहरु खुसी भएका छन् । भरतपुर–२३ का स्थानीय कृषक ईश्वरप्रसाद सापकोटाले १२ महिना सिँचाइ हुने भएपछि तोरीको उत्पादन बढेर जाने बताए । धेरै वर्षदेखि सिँचाइको अभावमा एक बाली मात्रै लगाउनुपर्ने बाध्यता रहेको भन्दै उनले डिप बोरिङको प्रयोगले उत्पादन वृद्धि हुनुका साथै बेमौसमी खेती लगाउन सकिने उल्लेख गरे ।
भरतपुर २३ का अर्का कृषक नन्दलाल चौधरीले डिप बोरिङले तेब्बर उत्पादन वृद्धि हुने अपेक्षा लिएको बताए । चौधरीले सधै १० मुरी धान आउने खेतमा अब भने ३० मुरी फल्नेमा आफू पूर्णरुपमा आशावादी रहेको सुनाए ।
























