राजनीति
सरकारको न्यूनतम साझा कार्यक्रम तयार भयो, शीर्ष नेताले पारित गरेपछि सार्वजनिक गरिने

काठमाडौं, पुस २२-
सत्ता साझेदार दलले सरकारका न्यूनतम साझा कार्यक्रम तयार पारेका छन्। शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको हो।
सत्ता गठबन्धनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा ७ दलबाट एकरएक जना प्रतिनिधि समावेश गरेर न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार पारेका हुन्।
कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने बताए।
उनले सम्भवत शनिबार न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने जानकारी दिए।
‘शीर्ष नेताहरूले अध्ययन गरेर आवश्यक थपघट गरेर पारित गरेपछि सार्वजनिक गरिन्छ,’ बैठकपछि उनले पत्रकारहरूसँग भने, ‘सुशासन, सेवा प्रवाहलगायत विषयमा केन्द्रित रहेर न्यूनतम साझा कार्यक्रम आउँछ। सबै दलले उठान गरेका विषयबस्तु समेट्ने कोसिस भएको छ।’
























