Breaking News
चितवनको भरतपुरमा बन्दै नेपालकै ठूलो ओभरहेड खानेपानी ट्याङकी, १३ हजार बढी लाभान्वित हुने

चितवन, पुस २१–
चितवनको भरतपुर महानगरपालिकामा सहज खानेपानी वितरणका लागि नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।
आउँदो फागुन १४ गतेभित्रमा निर्माण सक्ने गरि जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत रहेका दुई वटा ओभरहेड ट्याङकी मध्ये सबै भन्दा ठूलो ९ सय घनमिटरको ओभरहेड ट्याङकीको निर्माण अन्तिम चरणमा पुगेको हो । भरतपुर–१० स्थित भरतपुर खानेपानी व्यवस्थापन बोर्ड परिसरमा निर्माणाधीन ओभरहेड ट्याङकीको काम धमाधम भइरहेको छ । ‘आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत सकिएको छ भने वित्तिय प्रगति ६९ प्रतिशत रहेको छ’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले भने ‘सम्झौता अवधिमै काम सकाउने गरि काम भइरहेका छन् ।’
वि.सं.२०७७ असार ८ गते भएको सम्झौता २०७९ असार ७ गते सकिएको थियो । कोभिडका कारण काम सम्पन्न गर्न ढिलाई भएपछि फागुन १४ गतेसम्मको म्याद थप गरिएको छ । यो अवधिमा काम सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना प्रमुख सुवेदीले भने । यस आयोजना निर्माणमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत र बाँकी रकम संघीय सरकारको लगानी रहेको छ ।

बिहीबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै यस ट्याङकी निर्माण सकिएलगत्तै भरतपुरबासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन सकिने बताइन् । उनले महानगरबासीलाई स्वच्छ खानेपानी खुवाउने आफ्नो अभियान रहेको भन्दै सोही अनुरुप धेरै खानेपानी आयोजनाहरु अगाडि बढाइएको बताइन् । ‘भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि मैले दर्जनौं खानेपानी साना तथा ठूला आयोजनाहरु अगाडि बढाए, म बोर्डको अध्यक्षको हैसियतले पनि यो नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माणको अग्रसरता लिएको थिए’–मेयर दाहालले भनिन् ।
उनले यस अवधिमा भरतपुरका सबै बासिन्दलाई स्वच्छ खानेपानी खुवाउने बताइन् । उनले रामनगरमा देखिएको खानेपानीको समस्या पनि छिट्टै समाधान हुने बताइन् । ‘हामीले दिर्घकालिन रुपमै ठूलो आयोजना रामनगरमा अगाडि बढाएका छौं, तत्काल हुने कामहरु पनि भइरहेका छन्’–मेयर दाहालले भनिन् ।

जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत भरतपुर ११ मै ४५० घनमिटरको ओभरहेड ट्याङकी निर्माण सम्पन्न भइसकेको छ । हाल निर्माणको अन्तिम चरणमा रहेको ट्याङकी निर्माण सम्पन्न भएलगत्तै भरतपुरका १३ हजार ५५२ जना लाभान्वित हुने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । यस आयोजना कुल २७ करोड १७ लाख २४ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इन्जिनियर चिरञ्जीवी सेढाईले जानकारी दिए । उनले यस आयोजनामा ७५ किलोमिटर पाइपलाइन, २ वटा बोरिङ र २ वटा ओभरहेड ट्याङ रहेको बताए ।


























