Breaking News

चितवनको भरतपुरमा बन्दै नेपालकै ठूलो ओभरहेड खानेपानी ट्याङकी, १३ हजार बढी लाभान्वित हुने

०
Banner

चितवन, पुस २१–

चितवनको भरतपुर महानगरपालिकामा सहज खानेपानी वितरणका लागि नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माण अन्तिम चरणमा पुगेको छ ।

आउँदो फागुन १४ गतेभित्रमा निर्माण सक्ने गरि जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत रहेका दुई वटा ओभरहेड ट्याङकी मध्ये सबै भन्दा ठूलो ९ सय घनमिटरको ओभरहेड ट्याङकीको निर्माण अन्तिम चरणमा पुगेको हो । भरतपुर–१० स्थित भरतपुर खानेपानी व्यवस्थापन बोर्ड परिसरमा निर्माणाधीन ओभरहेड ट्याङकीको काम धमाधम भइरहेको छ । ‘आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत सकिएको छ भने वित्तिय प्रगति ६९ प्रतिशत रहेको छ’ संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले भने ‘सम्झौता अवधिमै काम सकाउने गरि काम भइरहेका छन् ।’

वि.सं.२०७७ असार ८ गते भएको सम्झौता २०७९ असार ७ गते सकिएको थियो । कोभिडका कारण काम सम्पन्न गर्न ढिलाई भएपछि फागुन १४ गतेसम्मको म्याद थप गरिएको छ । यो अवधिमा काम सम्पन्न गर्ने लक्ष्य लिईएको आयोजना प्रमुख सुवेदीले भने । यस आयोजना निर्माणमा भरतपुर खानेपानी व्यवस्थापन बोर्डको ३० प्रतिशत र बाँकी रकम संघीय सरकारको लगानी रहेको छ ।

बिहीबार भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले निर्माणाधीन आयोजनाको निरीक्षण गर्दै यस ट्याङकी निर्माण सकिएलगत्तै भरतपुरबासीलाई सहज रुपमा खानेपानी उपलब्ध गराउन सकिने बताइन् । उनले महानगरबासीलाई स्वच्छ खानेपानी खुवाउने आफ्नो अभियान रहेको भन्दै सोही अनुरुप धेरै खानेपानी आयोजनाहरु अगाडि बढाइएको बताइन् । ‘भरतपुर महानगरको मेयरमा निर्वाचित भएपछि मैले दर्जनौं खानेपानी साना तथा ठूला आयोजनाहरु अगाडि बढाए, म बोर्डको अध्यक्षको हैसियतले पनि यो नेपालकै ठूलो ओभरहेड ट्याङकी निर्माणको अग्रसरता लिएको थिए’–मेयर दाहालले भनिन् ।

उनले यस अवधिमा भरतपुरका सबै बासिन्दलाई स्वच्छ खानेपानी खुवाउने बताइन् । उनले रामनगरमा देखिएको खानेपानीको समस्या पनि छिट्टै समाधान हुने बताइन् । ‘हामीले दिर्घकालिन रुपमै ठूलो आयोजना रामनगरमा अगाडि बढाएका छौं, तत्काल हुने कामहरु पनि भइरहेका छन्’–मेयर दाहालले भनिन् ।

जखडीमाई सहलगानी खानेपानी आयोजना अन्तरगत भरतपुर ११ मै ४५० घनमिटरको ओभरहेड ट्याङकी निर्माण सम्पन्न भइसकेको छ । हाल निर्माणको अन्तिम चरणमा रहेको ट्याङकी निर्माण सम्पन्न भएलगत्तै भरतपुरका १३ हजार ५५२ जना लाभान्वित हुने भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक प्रजापति दाहालले जानकारी दिए । यस आयोजना कुल २७ करोड १७ लाख २४ हजार रुपैयाँमा बोलपत्र स्वीकृत भएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इन्जिनियर चिरञ्जीवी सेढाईले जानकारी दिए । उनले यस आयोजनामा ७५ किलोमिटर पाइपलाइन, २ वटा बोरिङ र २ वटा ओभरहेड ट्याङ रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>