Breaking News

भरतपुर महानगरले बाँडेको न्यानो कपडा कमसल भएको आरोप

Banner

प्रतिमा कुमाल

चितवन, पुस २१-

चितवनमा यतिबेला शितलहर चलेको छ । पुस माघको जाडो र शीतलहरले विपन्न समुदायलाई एकदमै सताउँछ । यसै विषयलाई दृष्टिगत गरेर भरतपुर महानगरपालिकाको शिक्षा महाशाखाले विभिन्न विद्यालयमा ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तरगत एक हजार ४३ जनालाई न्यानो कपडा वितरण गरेको छ ।

तर, चिसो मौसममा बाबालिकाको शिक्षामा असर नपरोस् भनेर वितरण गरिएको न्यानो कपडाले विपन्न वर्गको खिल्ली उडाइरहेको छ ।
भरतपुर महानगरपालिका–१७ मा रहेको आधारभूत विद्यालय लगौँटाकी कुसुम परियार विद्यालय परिसरभित्र ब्याडमिन्टन खेल्दै थिइन् । महानगरले दिएको गाडा निलो र पहेलो रंगको ट्रयाक सुट लगाएकी उनीसँगै सबै फुरुङ्ग थिए । खेलकुदले पसिना–पसिना भएकी परियारले ट्रयाक सुट दिउँसोमा मात्र न्यानो दिने बताइन् । विद्यालयको सामान्य टिसर्ट माथि ट्रयाक सुट लगाएकी उनले भनिन्, ‘दिउँसो गेमहरु खेल्ने भएकोले गर्मी हुन्छ । बिहान बेलुका एकदमै जाडो हुन्छ । ट्रयाक सुटले जाडो छेक्दैन ।’ जाडोबाट जोगिन यहाँका बालबालिका कक्षा कोठामा एकसँग अर्को टासिएर पढ्ने गरेका छन् ।

टिसर्टसँग सामान्य स्विटर माथि स्विटरसँग ट्रयाक सुट लगाएकी अविशा कुमाल थरथर कठ्याङ्ग्रिदै विद्यालय आउँदै थिइन् । भरतपुर–२८ स्थित आधारभूत विद्यालय सिसावासमा अध्ययनरत कुमालको बेथा पनि परियारको जस्तै छ । ‘ट्रयाक सुटले छेक्दैन जाडो । हेर्नुन ट्रयाक सुट भित्र दुईटा स्वीटर भित्र टिसर्ट लगाको छु,’ उनले भनिन् । गरिब तथा विपन्न परिवारका बालबालिकाको अवस्था अहिले परियार र कुमालको जस्तै छ । उनीहरुले जाडोसँग लड्दै शिक्षा हासिल गरी उज्यालो भविष्य कोर्नु छ ।

यस्तै अभिभावकहरु पनि महानगरले गुणस्तरहिन कपडा दिएको गुनासो गरेका छन् । सुमिना तामाङले महानगरले कपडा दिँदा न्यानो हेरेर दिएको भए हुने उनको भनाइ थियो । सिसाबास विद्यालयमा तामाङले बच्चा पढाएकी छन् । न्यानो कपडा भनेर दिए पनि गर्मी महिनामा लगाउने खालको रहेको उनको भनाइ छ । उनले भनिन्, ‘महानगरले जाडोको कपडा दियो भन्दा खुसी लागेको थियो । तर, हेर्दा राम्रो त छ न्यानो छैन । पातलो छ । दिएपछि गुणस्तरीय नै दिएको भए हुन्थ्यो ।’

पश्चिम चितवनको पुछारमा यो विद्यालय पर्छ । नारायणी नदी र राप्ती नदीको बीचमा बस्ती भएकाले चिसो बढेसँगै शितलहर चल्दा मानिसहरूको दैनिक जीवन कष्टकर छ । जाडो मौसममा मध्यान्न १२ बजेसम्म घाम देखिँदैन साँझ ४ बजे पछि यहाँ हुस्सु लाग्न थाल्छ ।
कल्पना कुमालले महानगरको सहयोगले खर्च जोगाउनुको साटो बढाएको बताइन् । उनले भनिन्, ‘जाडोको कपडा महानगरले दिने भने पछि कपडाको पैसा जोगिने भयो भन्ने भयो । जोगिएको पैसा नानीको अन्य शैक्षिक सामग्रीमा खर्च गर्छु भन्ने सोचेको थिए । सोच–सोचमै सीमित भयो ।’

आधारभूत विद्यालय लगौँडाका प्रध्यानाध्यापक रोमकान्त पौडेलले विद्यालयले दिएको ट्रयाक सुट भन्दा कमसल ट्रयाकसुट महानगरले दिएको बताए । ‘वडाबाट एक लाख बजेट परेर गत वर्ष बालबालिकालाई हामीले ट्रयाक सुट वितरण ग¥र्यौ । त्यो अहिलेसम्म लगाउँदै छन् । हामीले दिएको कपडा र महानगरले दिएको कपडाको गुणस्तर हेर्नु हुन्छ भने हामीले दिएको बढी न्यानो छ,’ उनले भने ।

कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको भरतपुर महानगरपालिका शिक्षा महाशाखाका अधिकृत दिपक सिक्देलले बताए । विपन्न तथा गरिब परिवारका बालबालिकालाई शिक्षामा प्रोत्साहनसँगै जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरेको उनको भनाइ थियो । ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तरगत भरतपुर–६ को देवज्योति आधारभूत विद्याय, १३ को आधारभूत विद्यालय ब्रहापुरी, १७ को आधारभूत विद्यालय लगौंटा, १८ को आधारभूत विद्यालय भूवनबस्ती, २१ को आधारभूत विद्यालय रंगिला र आधारभूत विद्यालय सितापुर, २३ को आधारभूत विद्यालय घैलाघारी, २६ को जमानसिंह आधारभूत विद्यालय र नारायणी आधारभूत विद्यालय खयरघारी, २७ को काजिमान आधारभूत विद्यालय, २८ को आधारभूत विद्यालय सिसाबासमा महानगले न्यानो कपडा वितरण गरेको हो । टेन्डर मार्फत् महानगरले १५ लाखमा काठमाडौंको लक्की कपडा उद्योगलाई ठेक्का दिएको थियो ।

महानगरले वितरण गरेको न्यानो कपडा बी देखि सी ग्रेडको रहेको सुनिल इन्टरप्राइजेज कपडा उद्योग गैँडाकोटका प्रमुख सुनिल लामाले बताए । उनले भने, ‘सुपर पोलिको कपडा हो । गुणस्तर हेर्दा ‘बी’ वा ‘सी’ ग्रेडमा पर्छ । जाडो छेक्दैन ।’ साथै कालिका गारमेन्ट गैँडाकोटका प्रमुख शम्भु देवकोटाको भनाइ पनि यस्तै छ ।

सुपर पोलिको ‘ए’ ग्रेडको ट्रयाक सुट १२ सय देखि १५ सय मूल्य पर्ने इन्टरप्राइजेजको भनाइ छ । ‘बी’ ग्रेडको मुल्य ८०० देखि एक हजार र सि ग्रेडको कपडालाई ७०० देखि ८०० मुल्य रहेको छ । महानगरले सुपर पोलिको ए ग्रेडको ट्रयाक सुट एक हजार ४३ जनालाई वितरण गर्दा १२ लाख, ५१ हजार ६ सय देखि १५ लाख ६४ हजार ५०० लगत हुन आउछ । बी ग्रेडको कपडा वितरण गर्दा ८ लाख, ३४ हजार ४०० देखि १० लाख ४३ हजार लागत हुने देखिन्छ । सी ग्रेडको कपडा वितरण गर्दा सात लाख ३० हजार १०० देखि ८ लाख ३४ हजार ४०० लागत लाग्ने देखिन्छ ।

महानगरले आर्थिक वर्ष २०७६–०७७ देखि न्यानो कपडा वितरण गर्न थालेको हो । त्यस आर्थिक वर्षमा १३ वटा सामुदायिक विद्यालयका ४४७ जनालाई न्यानो कपडा वितरण गरिएको थियो । १० लाखमा महानगरले युनाइटेड अर्डर सप्लायर्स चितवनलाई ठेक्का दिएको थियो ।
आर्थिक वर्ष २०७७–०७८ मा ६ वटा विद्यालयका ५५३ जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको थियो । यसका लागि महानगरले १५ लाख बजेट विनियोजन गरेको थियो । आर्थिक वर्ष २०७८–०७९ मा १५ वटा विद्यालयका एक हजार २७६ जनालाई न्यानो कपडा वितरण गरिएको थियो । १५ लाखमा संजिवनी अर्डर सप्लायर्स भरतपुर चितवनले यसको ठेक्का लिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>