Breaking News
भरतपुर अस्पतालले बिगत पाँच महिनामा दियो एक करोड बढीको निःशुल्क उपचार

चितवन, पुस २१-
भरतपुर अस्पतालको सामाजिक सेवा इकाई मार्फत यस अािर्थक वर्षको साउनदेखि मंसिरसम्म पाँच महिनाको अवधिमा एक करोड १६ लाख ७३ हजार ६४३ रुपैयाँ बराबरको निःशुल्क उपचार प्रदान गरिएको छ ।
भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट कृष्णप्रसाद पौडेलले प्रेषित गरेको विज्ञप्ति अनुसार अस्पतालमा तीन हजार ४२७ जनाले सो बराबरको निःशुल्क उपचार लिएका हुन् । त्यसैगरी विज्ञप्तिमा अस्पतालको निःशुल्क आकस्मिक कार्यक्रममा सोही अवधिमा एक हजार ३१ जनाले ३२ लाख ८१ हजार ३९ रुपैयाँको सेवा लिएको उल्लेख गरिएको छ । निःशुल्क उपचार लिन सम्बन्धित वडा कार्यालयबाट सिफारिस ल्याउनुपर्ने विज्ञप्तिमा जनाइएको छ ।
भरतपुर अस्पतालमा अति गरिब, असहाय, अपाङ, ज्येष्ठ नागरिक, लैगिंक हिंसापीडित महिला स्वास्थ्य स्वयम्सेवी र भूकम्पपीडितहरूलाई सामाजिक सेवा मार्फत् निःशुल्क उपचारको व्यवस्था गरिएको छ । भरतपुर अस्पतालमा गरिब, विपन्न तथा सिमान्तकृत समुदायहरुले निःशुल्क सेवा लिन आउँदा नेपाल सरकारले जारी गरेको परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा अन्य कुनै परिचयपत्र वा स्थानीय निकायको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । असाह्यका लागि प्रहरीको सहयोग वा अन्य कुनै सामाजिक संस्था वा व्यक्तिको सहयोगमा आएकाहरुलाई निःशूल्क उपचार गरिने व्यवस्था छ । यस्तै, अपाङ्गता भएका नागरिकहरूका लागि महिला विकास शाखाले जारी गरेको परिचय पत्र, ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । साथै लैंगिक हिंसामा परेका महिला, पुरूष वा वालवालिका र स्वयंसेविका महिलाहरूलाई पनि अस्पतालमा आंशिक तथा पूर्ण छुट हुने व्यवस्था अस्पतालले गरेको छ ।

























