Breaking News

नारायणीमा सिग्नेचर पुल बनाउन दुई कम्पनीको प्रस्ताव, ठेक्का भएको चार वर्षमा काम सकिने

Banner

मधुसूदन दवाडी

चितवन, पुस २०

चितवन र नवलपरासीको गैँडाकोट जोड्न नारायणी नदीमा सिग्नेचर पुलको निर्माणका लागि दुई कम्पनीले प्रस्ताव पेस गरेका छन् ।

सडक विभागले गत कात्तिक २ गते गरेको ठेक्का आव्हानमा दुई निर्माण कम्पनी अनक कन्सट्रक्सन र टुदी कन्सट्रक्सन कम्पनीले ठेक्का हालेका हुन् । विभाग अहिले ठेक्काको मूल्यांकनकै प्रक्रियामा रहेको छ ।

सडक विभागअन्तर्गत पुल महाशाखाका उपसचिव नरेन्द्र भट्टले आव्हान गरिएको ठेक्कामा दुई निर्माण कम्पनीले ठेक्का हालेको नारायणी अनलाइनलाई बताए । उनले ठेकेदार छनोट प्रक्रियामा अझै दुई महिनाजति लाग्ने जानकारी दिए । उपसचिव भट्टले भने, ‘ ठेकेदार छनोट भएको चार वर्षमा पुल निर्माणको काम सकिने छ । सुरुमा कम्पनीले पुलको डिजाइन तयार गर्नेछ । डिजाइन स्वीकृत भएको तीन वर्षमा मात्र पुल निर्माणको काम सक्नुपर्ने हुन्छ । ’ उनले आवश्यकता अनुसार निर्माण कम्पनीले विदेशी प्राविधिकहरुको पनि सहयोग लिन सक्ने बताए ।
यो पुल मुलुकका लागि नौलो प्रविधि तथा डिजाइन हुने प्राविधिकहरुले बताएका छन् । सिग्नेचर ब्रिज एक अर्ब ४७ करोड रुपैयाँको लागतमा निर्माण गर्न लागिएको हो । नारायणी नदीमा आकर्षक तथा कलात्मक पुल निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ ।

विभागले जानकारी दिए अनुसार यो पुल ५०० मिटर लामो हुनेछ । सरकारले यसलाई केही वर्ष अघिदेखि पर्यटकीय रुपमा समेत आकर्षक बनाउने तयारी अनुसार यसको निर्माण कार्य सुरु गरिएको विभागको भनाइ छ ।

सिग्नेचर पुल निर्माणमा विश्व बैंकको चार अर्ब सहयोग लगानी रहने छ । २०७५ मा नै सरकारले उक्त सहयोगको सम्झौता गरेको थियो । पहिलो चरणमा ४ वटा सिग्नेचर पुल निर्माणका लागि विश्व बैंकले ४ अर्ब लगानी गर्ने सम्झौता भएको हो। सोही अनुसार यो नारायणीमा निर्माण हुने सिग्नेचर पुल पहिलो हो ।

अहिले बुटवलको तिनाउ, सर्लाही र रौतहट जोड्ने वाग्मती तथा दमौलीमा सिग्नेचर पुल बनाउन डिजाइन भइरहेको छ । सडक विभागको वैदेशिक महाशाखाले विभिन्न २० वटा स्थानमा यस्ता पुल निर्माणका लागि प्रस्ताव गरेको छ । त्यसका लागि करिब ३० अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । यसका लागि लगानीको स्रोतहरुको खोजी भइरहेको सडक विभागको दाबी छ ।

कस्तो बन्नेछ सिग्नेचर पुल ?

यस्ता पुलहरु सामान्य पुल जस्तै मोटरेबल नै भए पनि नयाँ प्रविधिबाट निर्माण हुने पुल विभागले जनाएको छ । झट्ट देख्दा नेटवर्क आर्क ब्रिज जस्तै देखिने भए पनि यो आर्क ब्रिजभन्दा अझ आकर्षक हुन्छ ।

पुल चार लेनको बन्ने छ । प्रत्येक लेनको बीचमा डिभाइडर रहनेछ भने हिड्नका लागि फराकिलो फुटपाथ समेत रहने विभागले जनाएको छ । पुलहरुमा रातको समयमा लाइट जोड्न सकिन्छ जसले सहरी सौन्दर्यता बढाउनुका साथै पर्यटकहरुका लागि आकर्षणको केन्द्र हुनेछ ।
सडक विभागका अनुसार यस्ता पुलहरुले नेपाल आर्थिक समृद्धिमा अघि बढिरहेको भन्ने झल्को दिनेछ । युरोपका धेरै देशहरुमा यस्ता पुलहरु बनेको र त्यहाँ लोकप्रिय भएकाले नेपालमा पहिलोपटक निर्माण गर्न लागिएको हो ।

नागरिक खुसी

गत असारमा भरतपुर महानगरपालिकाले गरेको समृद्ध भरतपुर अन्तरक्रियामा नारायणी नदीमा पुल बनाउने विषयले निकै चर्चा पाएको थियो । भरतपुरकी मेयर रेनु दाहालले दोस्रोपटक भरतपुर महानगरको उम्मेदवारी दिँदा प्रतिबद्धतापत्रमा नारायणी नदीमा आकर्षक ‘सिग्नेचर ब्रिज’ निर्माण गर्ने उल्लेख गरेकी थिइन् । महानगरको अन्तरक्रियामा नारायणी नदीमा सिग्नेचर ब्रिज बनाउन कन्सेप्च्युअल डिजाइन भइसकेको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताएका थिए । चार दशक पुरानो नारायणीको एक मात्र पुल जीर्ण बनिसकेकोले पुलको ठेक्का प्रक्रिया अगाडि बढेपछि चितवन र गैँडोकाटका सथानीय खुसी भएका छन् ।

गैँडाकोट नगरपालिका–१ ब्रिटिस क्याम्पका निर्मल पौडेलले सिग्नेचर पुल बनेमा देशको लागि राम्रो हुने भन्दै खुुसी व्यक्त गरे । नारायणगढ–बुटवलको सडक निर्माण जस्तै ढिलासुस्ती भयो भने सिग्नेचर पुल बन्ने सपना अधुरै रहने बताए । उनले भने, ‘ काम सुरु नहुँदै अर्काे निर्वाचन आउँछ, रड र गिटी झार्देमा वर्षाे बित्यो भने पुलको सपना अधुरै रहने छ ।’ उनले अहिलेको पुरानो पुलमा ट्रक गुड्दा हल्लिने गरेकोले यात्रा गर्न डर भइरहेको बताए ।

प्रतिकात्मक फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>