अन्तर्राष्ट्रिय

रोनाल्डो साउदी अरब पुगे, आजै मैदान उत्रने

Banner

काठमाडौं, पुस १९-

कीर्तिमानी रकममा साउदी क्लब अल नासरमा आवद्ध भएका पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो साउदी अरब पुगेका छन्। सन् २०२५ सम्मका लागि साउदी अरेबियाको अल नासरसँग अनुबन्ध भएका रोनाल्डो सोमबार साँझ रियाद पुगेका हुन्।

रोनाल्डोले वार्षिक १७७ मिलियन पाउण्डमा ३ वर्षका लागि क्लबमा आवद्ध भएका हुन्। उनले सन् २०२५ सम्म साउदी अरेबियाको टोली अल नासरबाट फुटबल खेल्नेछन्। यो विश्व फुटबल इतिहासमै हालसम्मको सबैभन्दा बढी पारिश्रमिक हो।

५ पटकको बालेन डि’ओर विजेता रोनाल्डोले कीर्तिमानी रकममा एसियाली क्लब भित्रिएका हुन्। साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई अनुबन्ध गरेर आफूहरूले नयाँ इतिहास रचेको बताएको छ। रोलान्डोलाई क्लबले एउटा सुविधा सम्पन्न लक्जरी होटलमा राखेको छ। उनले व्यक्तिगत सुरक्षाकर्मी र केही सहयोगीसमेत लिएर आएका छन्।

रोनाल्डो मंगलबार स्थानीय समय अनुसार साँझ ७ बजे रियादको अल नासरको २५ हजार क्षमताको मिसुल पार्क स्टेडियममा देखा पर्नेछन्। उनले साउदी क्लबसँग सम्झौता गर्दै आफू अर्को देशमा नयाँ फुटबल लिगको अनुभव गर्न उत्सुक रहेको बताए।

‘म भाग्यमानी छु कि मैले युरोपेली फुटबलमा जित्नका लागि सेट गरेको सबै कुरा जितेको छु र अहिले एसियामा मेरो अनुभव बाँड्ने यो सही समय हो भन्ने महसुस गरिरहेको छु,’ उनले भने। नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल नासरले रोनाल्डोलाई क्लबमा भित्र्याउनु नै इतिहास निर्माण गरेको बताएको छ।
‘यसले हाम्रो लिग, राष्ट्र र भावी पुस्तालाई उत्कृष्ट संस्करण हुन प्रेरित गर्नेछ’, क्लबले भनेको छ।

अल-नासरका अध्यक्ष मुसल्ली अल-मुअम्मरले यो सम्झौतालाई ऐतिहासिक अध्याय भन्दै विश्वका सबै युवा खेलाडीका लागि उच्च उदाहरण भएको प्रतिक्रिया दिए। ‘यो सम्झौताले नयाँ ऐतिहासिक अध्याय लेख्नु मात्र होइन। विश्वका सबै खेलाडी र युवाहरूको लागि उच्च उदाहरण र प्रेरणा हो’, उनले भने, ‘क्लब, साउदी खेलकुद र भावी पुस्ताका लागि थप सफलता हासिल गर्न अल-नासरमा रोनाल्डोको उपस्थितिसँगै हामी अगाडि बढ्नेछौं।’

रोनाल्डोले सन् २००२ सेप्टेम्बर २९ मा स्पोर्टिङ लिस्बनका लागि ब्रागाविरुद्ध खेल्दै क्लब फुटबलमा डेब्यु गरेका थिए। रोनाल्डोले लिस्बनका लागि ३१ खेलमा ५ गोल गरेका थिए।

त्यसपछि म्यानचेस्टर युनाइटेडका लागि उनले सन् २००३ देखि २००९ सम्म २ सय ९२ खेलमा १ सय १८ गोल गरे।

रियल म्याड्रिड उनको करिअरको सर्वाधिक सफल क्लबको रुपमा रह्यो। उनले सन् २००९ देखि २०१८ सम्म ४ सय ३८ खेल खेल्दै ४ सय ५० गोल गरे। युभेन्टसमा ३ सिजन बिताएका उनले १ सय ३४ खेलमा १ सय १ गोल गरे । म्यानचेस्टर युनाइटेडका लागि गत सिजन ३८ खेलमा २४ गोल गरे।

युनाइटेडसँगको समय बाँकी रहँदै उनले आपसी सहमतिमा सम्झौता तोडेका थिए।

रोनाल्डो भर्खरै कतारमा भएको विश्वकपमा पोर्चुगललाई क्वार्टरफाइनलसम्म पुर्‍याएर फर्केका हुन्। जहाँ उनले घाना विरुद्ध आफ्नो पक्षको सुरुवाती जितमा आफ्नो स्ट्राइकको साथ पाँच फरक फिफा विश्वकपमा गोल गर्ने पहिलो व्यक्ति बनेका थिए। एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>