चितवन विशेष
ग्लोबल आइएमईको वार्षिकोत्सवमा रक्तदान

चितवन, पुस १९–
निजी क्षेत्रको सबैभन्दा ठूलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडले १६औँ वार्षिकोत्सव मनाएको छ । सोमबार पुस १८ गते स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको बैंकले देशव्यापीरूपमा बृहत रक्तदान कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो ।
देशका सातवटै प्रदेशमा प्रदेश कार्यालय परिसरमा एकैसाथ रक्तदान कार्यक्रम आयोजना गरिएको बागमती प्रदेश उपप्रमुख विदुर ज्ञवालीले जानकारी दिए ।
यस कार्यक्रमअन्तर्गत बागमती प्रदेशका दुई ठाउँमा रक्तदान गरिएका छन् । यस प्रदेशका भरतपुर शाखा चितवन र कान्तिपथ शाखा काठमाडौँमा रक्तदान गरिएका भरतपुर शाखा प्रबन्धक केशवप्रसाद ओलीले जानकारी दिए ।
केन्द्रीय बस टर्मिनल चोक भरतपुरमा रहेको कार्यालय परिसरमा बिहान १० देखि दिउँसो ३ बजेसम्म रक्तदान गरिएको थियो । कार्यक्रममा ६६ जनाले रक्तदान गरेको भरतपुर शाखा इञ्चार्ज कल्पना बस्ताकोटीले जानकारी दिइन् ।
त्यस्तै प्रदेश १ को बिर्तामोड शाखा झापा, मधेश प्रदेशको मिर्चैया शाखा सिरहा, गण्डकी प्रदेशको न्यूरोड शाखा पोखरा, कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा दाङ, कर्णाली प्रदेशको सुर्खेत शाखा वीरेन्द्रचोक र सुदूरपश्चिम प्रदेशको चौराहा धनगढी शाखा कैलालीमा रक्तदान कार्यक्रम आयोजना गरिएका छन् ।
देशभर आयोेजित कार्यक्रममा कुल ५ सय १२ जना रक्तदाताले रक्तदान गरेको बैंकले जानकारी दिएको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजोपयोगी कार्यहरूमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको बागमती प्रदेश उपप्रमुख ज्ञवालीले जानकारी दिए ।
ग्लोबल आइएमई निजी क्षेत्रको सबैभन्दा बढी चुक्ता पुँजी भएको वाणिज्य बैंक हो । देशभर यसका २९२ शाखा, २७१ एटीएम छन् । त्यस्तै २८३ शाखारहित बैंकिङ सेवा, ५२ विस्तारित शाखा तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९ सयभन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमा बैंकिङ सेवा प्रदान गर्दै आएको ज्ञवालीले जानकारी दिए ।

























