Breaking News
अङ्ग्रेजी नयाँ वर्षमा आन्तरिक पर्यटकले भरियो सौराहा

चितवन,पुस १७-
पर्यटकिय क्षेत्र सौराहामा पर्यटक भरिभराउ भएका छन् । अङ्ग्रेजी नयाँ बर्ष २०२३ का कारण यहाँका होटल तथा रेष्टुरेन्टहरु पर्यटकले भरिएका हुन् । सौराहा आउने अधिकांस आन्तरिक पर्यटक छन् । शनिवार साँझ आएका कतिपय पर्यटकहरुलाई कोठा पाउनसमेत मुस्किल भएको थियो । बाह्य पर्यटकमा भारतका धेरै आएका छन् भने अन्य तेस्रो मुलुकका पर्यटक न्यून छन् ।
अङ्ग्रेजी नयाँ वर्षका अघिल्ला दुई दिन सार्वजनिक बिदा परेकाले घुम्न आउनेको संख्या बढेको रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल सौराहाका अध्यक्ष नरेश गिरीले बताउनुभयो । उहाँले अङ्ग्रेजी नयाँ बर्षमा पर्यटकको आवागमनले व्यवसायीलाइ उत्साहित बनाएको बताउनुभयो । ‘पर्यटक बढेपछि सौराहा आसपासका रेष्टुराँ पनि भरिए,उहाँले भन्नुभयो’, यसपटक व्यवसायीले छुट प्रदान गर्न नसकेपनि मुस्कानसहितको सेवा प्रदान ग¥यौं ।’ उहाँले शनिवार साँझसम्म १० हजार बढि आन्तरिक पर्यटक सौराहा आएको जानकारी दिनुभयो ।
गएराती सौराहाको राप्ती किनारमा रहेको पव रेष्टुरेन्ट पर्यटकले खचाखच थियो भने यहाँका ठुला होटल आफैंले पनि सांगितिक कार्यक्रम आयोजना गरेर पर्यटकलाई मनोरञ्जन प्रदान गरेका थिए । अंग्रेजी नयाँ बर्ष मनाउन आएका पर्यटकहरु गएराती १२ बजेसम्म सौराहामा विभिन्न सांगितिक कार्यक्रमको रमाईलोमा भुलेका थिए ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले शनिबार सौराहाका सबै होटल भरिएको बताउनुभयो । गतबर्षको तुलनामा यसबर्ष केही कम पर्यटक आएपनि पछिल्लो परिस्थितिमा पर्यटकको उपस्थिति उत्साहाजनक रहेको बताउनुभयो । उहाँले सौराहामा पर्यटक नियमित ल्याउन यसबर्ष घुमौ सौराहा अभियान सुरु गर्ने तयारी गरेको जानकारी दिनुभयो । अभियान सातै प्रदेशमा सञ्चालन हुने उहाँले बताउनुभयो । सौराहाका निजी हात्ती सञ्चालन गर्ने सामूहिक सहकारी युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले केहीदिन देखि हात्ती र जीप भरिएको जानकारी दिनुभयो ।
सौराहामा एक सय २० होटल क्षेत्रीय होटल सङ्घमा आबद्ध छन् । सङ्घमा दर्ता नभएका अरु साना होटल पनि रहेका छन् । यस्तै रेष्टुरेन्ट एण्ड बार एशोसियशन नेपाल सौराहामा आबद्ध ५८ वटा रेष्टुरेन्ट यहाँ रहेका छन् । मुख्य गरी सौराहामा आउने पर्यटकहरु हात्ती,डुंगा, जीप सफारी गरेर चितवन निकुञ्जमा रहेको गैंडा, बाघ लगायत जंगली जनावर हेर्न मन पराउँछन् । वन्यजन्तु पर्यटनका हिसाबले चितवन नेपालकै पहिलो पर्यटकिय गन्तव्य हो ।

























