Breaking News

भरतपुरमा प्रचण्डको स्वागतमा निर्माण नभएर अलपत्र परेको सडक बिहान झिसमिसेमै सम्याइयो

Banner

प्रतिमा कुमाल

चितवन, पुस १६ 

तेस्रोपटक प्रधानमन्त्री पद ग्रहण गरेसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलो पटक गृह जिल्ला चितवन आएका छन् ।

उनको स्वागतमा भरतपुर महानगरपालिकाले वडा नं. १० दीपेन्द्र चोकदेखि केहि भित्र पर्ने हिमाली चोकको खाल्डो बिहान झिसमिसेमै पुरिएको छ । अल्कत्रा सहितको गिटी खसाली तीनहात बाटो सम्याएको हो ।

यस क्षेत्रमा मेयर रेनु दाहालको निवास पर्छ । यस चोक हुँदै दैनिक मेयर दाहाल निवासदेखि माहानगर र माहानगरदेखि निवास आवतजावत गर्छिन् । चितवन आएको बेला प्रधानमन्त्री प्रचण्ड पनि यस बाटो हुदै मेयरको निवास पुग्ने गर्छन् ।

चोकको खाल्डो पुरे पनि निर्माणधिन हिमाली पथ भने जस्ताको त्यस्तै छ । सडक निर्माण सुरु गरेको लामो समय हुदा पनि पूर्णता नपाउदा धूलोले सताइरहेको स्थानीय टंक सुवेदीले बताए । उनले भने, ‘बर्खामा हिला र खाल्डोले हिडडुल गर्न गाहे थियो । अहिले धूलोले बसिसक्नु छैन् । बुबा तथा प्रधानमन्त्रीको स्वागतमा बाटो धुन र चोकको खाल्डो पुर्न सक्ने मेयरले जनताको समस्या देखिनन् ।’ जनप्रतिनिधिले देखावटी काम गरेको सुवेदीको गुनासो छ । आज बिहान महानगरले वीरेन्द्र क्याम्पस चोकदेखि दीपेन्द्र चोकसम्मको सडक दमकलमा पानी ल्याएर सफा गरेको थियो ।

स्थानीय बासुदेव रानाभाटले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए । ‘यो नाटक र नौटंकी हो । आगोलागी भए निभाउन सक्दैन एकदिन प्रधानमन्त्री चितवन आउदा पुरै बारुद यन्त्र ल्याएर बाटो पखाल्न के आवश्यक थियो ? यो राज्य संयन्त्रको दुरुपयोग हो’, उनले भने ।

हिमाली पथ निर्माणमा ध्यान नजादा एक वर्षदेखि स्थानीयले सास्ती खेप्दै आएको रानाभाटले बताए । उनले भने, ‘लगभग एक वर्षभन्दा बढी भइसक्यो । सुरुको ६ महिना त हामीले आफ्नो सामान्य सवारीसाधन पनि घर लान नसकेर बीच बाटोमा राखेर हिडेका हौं । अहिले पूरै धूलो उडेर साना केटाकेटीदेखि लिएर ज्येष्ठ नागरिकलाई धेरै समस्या परिरहेको छ । भवन निर्माणको सामग्री ल्याउन सक्ने अवस्था छैन खाल्डा खुल्डीले । यही बाटो प्रधानमन्त्री हिड्नुहुन्छ । मेयर हिड्नुहुन्छ । घर यही छ । कसैको पनि राम्रोसँग ध्यान गएको छैन ।’

२०७८ साल मंसिरबाट यस सडकको काम सुरु भएको थियो । पुरानो सिनर्जी चोकदेखि भित्र पहिलो घुम्तीबाट बीरेन्द्र बहुमुखी क्याम्पस (डिग्री) कलेजसम्मको करिब ७०० मिटरको बाटो बन्न लागेको हो । ६ मिटर चौडाइको यस सडकको ढल तथा चेम्बरको जिम्मा भरतपुर महानगरपालिकाले ठेकेदार दिपक लामालाई दिएको थियो । लामाले सार्वजनिक बोर्ड नराखी काम गरेका छन् । साथै उनको दुईवटा मोबाइल नम्बर नै सेवामा छैनन् । यस सडक निर्माणमा माहानगरले खटाएका इञ्जिनियर शिवहरी अधिकारीको समेत फोन उठेन ।

महानगरको ७५ प्रतिशत र स्थानीयको २५ प्रतिशत आर्थिक सहयोगमा यस बाटोको ढल र चेम्बरको काम भएको हिमाली टोल विकास समितिका निर्वतमान अध्यक्ष बद्री खनालले बताए । करिब एक करोड १२ लाख रुपैयाँमा ठेक्का लगाएको उनको भनाइ छ ।

ठेकेदारको कारण सडकको काम रोकिएको खनालले बताए । उनले भने, ‘५० लाखको काम गरेर ६८ लाख माग गरेको छ । उसले भुक्तानी नलिँदा महानगरबाट कालोपत्रेको लागि परेको बजेट रोखिएको छ ।’ सडक कालोपत्रे गर्नको लागि महानगरबाट ३० लाख बजेट परेको खनालले बताए । यस्तै सडक गुणस्तर अनुगमन प्रतिवेदन महानगरबाट हराएको खनालले बताए । उनले भने, ‘तीन पटक छानबिन समिति गठन गरेर ठेकेदारको कामको गुणस्तर चेकजाँच भयो । त्यसमा कमसल सामग्री प्रयोग गरेको प्रमाणित भयो । तर, तीन पटक प्रतिवेदन पेस ग¥यौं । तीन पटकनै हरायो । फोटोकपी धन्न राखेका थियौं ।’ फेरी सो प्रतिवेदन पेस गर्ने तरखरमा समिति रहेको छ ।

यस सडकको म्याद गत जेठमा सकिएको हो । थपिएको म्याद अनुसार गत असार २५ सम्म काम सकिनु पर्ने हो । तर, अझै यस सडकको च्याम्बरको काम बाकी छ । ठेकेदारको कारण यस सडक कालोेपत्रेका लागि परेको बजेट पनि रोकिन सक्ने अवस्थामा छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>