चितवन विशेष
विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पस छानिए, प्रतिविद्यार्थी ४० लाखसम्म अनुदान

चितवन, पुस १६-
विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रमअन्तर्गत विद्यार्थीलाई उद्यमी बनाउन चितवनका तीन क्याम्पसलाई छनोट गरेको छ ।
क्याम्पसबाट प्राप्त प्रस्तावनाको आधारमा आयोगले विद्यार्थीहरु पढ्दै उद्यमी बन्दै गर्न पाउने अवसरका लागि चितवनका तीन क्याम्पसलाई छनोट गरेको हो ।
अनुदान आयोगले छानेको क्याम्पसहरुमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पस देशभरबाट दोस्रो नम्बरमा रहेको छ । देशभरबाट पहिलो नम्बरमा पुलचोक क्याम्पस रहेको छ । त्यसैगरी चितवनका प्रेसीडेन्सी कलेज आठौं नम्बरमा र पूर्व चितवनको शहिद स्मृति क्याम्पस १६ नम्बरमा रहेका छन् । देशभरबाट १८ वटा क्याम्पस अनुदान आयोगले छनोट गरेको हो ।
देशभरका उत्कृष्ट शैक्षिक संस्थाहरुलाई विश्वविद्यालय अनुदान आयोगले यो परियोजनाको लागि छनोट गरेको हो । यस कार्यक्रमअनुसार हरेक क्याम्पसबाट उद्यमशिल बन्नको लागि ३० जना विद्यार्थी छनोट हुनेछन् । उनीहरुले उद्यमशिलताको तालिम लिइसकेपछि सबै प्रक्रिया पूरा गरेर विद्यार्थीहरुले व्यवसाय गर्न पाँच लाखदेखि ४० लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् । छनोटमा परेका विद्यार्थीहरुले देश तथा विदेशमा गएर उद्यमशिलतासम्बन्धी तालिम लिने अवसर पनि प्राप्त गर्नेछन् । तालिमको लागि प्रतिविद्यार्थी ५० हजार रुपैयाँ र पाठ्यक्रमको विकास गर्न क्याम्पसले १५ लाख रुपैयाँ प्राप्त गर्ने सम्तगण्डकी बहुमुखी क्याम्पस व्यवस्थापन विभागका प्रमुख डा कपिलदेव सुवेदीले नारायणी अनलाइनलाई जानकारी दिए । उनले भने, ‘पढ्दै र कमाउँदै कार्यक्रमलाई उच्च शिक्षामा प्रयोग गर्न खोजिएको हो । यसका लागि क्याम्पसले पीएचडी गरेका प्राध्यापकहरु नियुक्त गरेर काम सुरु गर्नुपर्छ । यो नयाँ अवधारणा अनुसार आएको योजना हो । विद्यार्थीले ३० देखि ६० घण्टासम्म उद्यमिशिलता तालिम पनि यो योजनाको लागि लिनुपर्ने हुन्छ ।’ सुवेदीले क्याम्पसहरुले पाएको यो राम्रो अवसर भएकोले यसलाई सहीरुपमा सदुपयोग गर्नुपर्ने बताए ।

























