चितवन विशेष
भरतपुरमा भएको डोरी तान्ने प्रतियोगितामा ४० माथिका समूह विजयी

चितवन, पुस १४–
तमू ल्होसारको अवसरमा भरतपुरमा आयोजित रस्साकस्सी (टक अफ वार) प्रतियोगितामा ४० वर्ष माथि समूहका पुरुष प्रथम भएका छन् ।
४० वर्ष तलका र ४० वर्ष माथिका गरी ११–११ जनाको समुहमा प्रतिस्पर्धा भएको हो ।
विजेता समूहलाई भोलि ल्होसारको दिन सम्मान गरिने तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवन खेलकुद समितिका सदस्य मनिराज घलेले बताए । तमू ह्युल छोँज धीँको संग्रहालय महाबौद्ध गुम्बा परिसर (तिनखोले गुम्बा) मा प्रतियोगिता भएको थियो ।
विजयी हुनेमा गन्जहिं गुरुङ, खड्काबहादुर गुरुङ, रामबहादुर गुरुङ, खड्क सिं घले, सुला गुरुङ, लाल घले, दिनेश गुरुङ, बुद्धि गुरुङ, भरत गुरुङ, बुद्धिबहादुर गुरुङ र चित्र बहादुर गुरुङ रहेका छन् ।
तमू समुदायको साझा संस्था तमू ह्युल छोँज धीँ गुरूङ राष्ट्रिय परिषद् चितवनले विभिन्न कार्यक्रमको आयोजना गरी तमू ल्होसार पर्व मनाउँदै छ । भोलि पुस १५ गते विशेष दिन भए पनि आज १४ गते विभिन्न खेलकुद प्रतियोगिता गरेर मनाएको हो ।
साथै आज साँझ सांस्कृतिक कार्यक्रममा राष्ट्रियस्तरका कलाकारहरूको प्रस्तुति रहने आयोजकको भनाइ छ । आयोजकका अनुुसार लोक तथा दोहोरी कलाकारहरू शीतल गुरूङ, सविन गुरूङ र चिजा तामाङबाट प्रत्यक्ष दोहोरी गाउने कार्यक्रम तय भएको छ।
ल्होसार तमू समुदायको नयाँ वर्षको रुपमा समेत रहेको छ । यस दिन बाघ वर्ग (तोल्हो)लाई बिदाइ गर्दै बिरालो वर्ग (हिल्हो)लाई स्वागत गरेर यसवर्ष ल्होसार पर्व मनाउन लागिएको हो ।
























