Breaking News
प्रचण्ड प्रधानमन्त्री पदका लागि हामीतिर आउनुभएको हो, नपाएपछि उतातिर लाग्नुभयो: राजेश्वर खनाल

चितवन, पुस १४–
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदका लागि गठबन्धन तोडेको बताएका छन् ।
आज बिहीबार नारायणी अनलाइनसँग कुरा गर्दै सभापति खनालले प्रचण्डले प्रधानमन्त्री पदको लागि कांग्रेसको गठबन्धनमा आएको र नपाएपछि एमालेतिर लागेको बताएका हुन् । उनले भने, ‘ प्रधानमन्त्री पद नपाएपछि उहाँले गठबन्धन छाड्नुहुन्छ भन्ने पहिल्यै जानकारी थियो । यसबारेमा समयमा नै विचार नपु¥याउँदा प्रचण्ड प्रधानमन्त्री बन्न गठबन्धन छाडेर जानुभयो ।’ सभापति खनालले अहिलेको संसदको संरचना नै गठबन्धन गर्ने खालको बनेको भन्दै जोकोही गठबन्धन गरेर सरकार चलाए पनि नागरिकले विकास र समृद्धिको प्रत्याभूति हुने गरी काम गर्नुपर्ने विचार राखे । उनले प्रचण्ड नेकपा एमालेका अध्यक्ष ओलीसँग मिल्नु नेकपा भाग–२ को पुन निर्माण जस्तो लागेको बताए ।
समय थप्यो कांग्रेसले
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवारलाई अन्तर्घात गर्नेहरूमाथि कारबाही सिफारिस गर्ने समय फेरि थप गरेको छ।
कांग्रेस सचिव प्रेम केसीका अनुसार जिल्ला र प्रदेश अनुशासन समितिले कारबाही सिफारिस अब माघ १५ गतेसम्म केन्द्रमा पठाउन सक्छन् । गत मंसिर ४ मा भएको प्रदेश र प्रतिनिधि सभा चुनावमा कांग्रेसका आधिकारिक उम्मेदवारमाथि केही ठाउँमा पार्टीभित्रकै नेताहरूले अन्तर्घात गरेको आरोप लाग्ने गरेको छ ।
कांग्रेस अनुशासन समितिमा अन्तर्घातबारेका सिफारिस आउने क्रम जारी छ । केही कार्यसमितिहरूबाट अन्तर्घात गर्नेहरूका विवरण पठाउन समय थप गरिदिन माग भएकोले माघ १५ गतेसम्मका लागि म्याद दिइएको केसी बताउँछन् ।
























