Breaking News
चितवनका व्यवसायीद्वारा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण, आर्थिक क्षेत्र सुधारको अपिल

चितवन, पुस १२-
चितवनका उद्योगी तथा व्यवसायीहरुले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समग्र आर्थिक क्षेत्रको बिग्रदो अवस्थाबारे जानकारी गराएका छन् ।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठको नेतृत्वमा गएको व्यवसायीहरुको प्रतिनिधि मण्डलले वर्तमान अवस्थाको बारेमा प्रधानमन्त्रीको निवासमा पुगेर ध्यानाकर्षण गराएको हो ।
भेटमा संघले अर्थतन्त्र जोगाउनको लागि सरकारद्वारा ठोस कदम चालिनुपर्ने धारणा राखेको छ । अहिले बैँकद्वारा गरिएको ब्याजदरको बृद्धि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय असहजता, मुल्यबृद्धिलगायतका कारणले गर्दा आर्थिक क्षेत्र तहसनहस भएको बताउँदै नेपाल राष्ट्र बैंकद्वारा ल्याएको चालु पूँजीमार्गदर्शन–२०७९ को कार्यान्वयन कम्तिमा दुई वर्ष स्थगन गर्नका लागि अनुरोध गरेका छन् ।
सोही अवसरमा संघका अध्यक्ष चुननारायण श्रेष्ठले सडक डिभिजन कार्यालय चितवनद्वारा यही पुस ८ गते देखि भरतपुरको नारायणगढदेखि गोन्द्राङसम्मको सडकको दाया“बाया“ तर्फका संरचनाहरु अव्यवस्थित रुपमा डोजर लगाई भत्काउँदा व्यवसायीको ठूलो क्षति भएको बताए ।
भेटमा अध्यक्ष श्रेष्ठले कोभिड–१९, तत्पश्चात सिर्जित परिस्थिति र ब्याज बृद्धिका कारण चेपिएका व्यवसायीलाई पुस मसान्तको संघारमा आफ्नो सामान व्यवस्थित गर्ने समयसम्म नदिई घरटहरामा डोजर लगाइएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । भरतपुर महानगरपालिकाद्वारा पनि संरचना भत्काउन ३५ दिने सूचना प्रकाशन गरिसकेको बताउँदै उक्त कार्य सरोकारवाला, निजी क्षेत्रलगायतको समन्वयमा प्रक्रियागत रुपमा हुने व्यवस्था गर्न उनीहरुले अनुरोध गरे ।
त्यसैगरी सोही अवसरमा सरकारी ढुकुटीमा रहेको रकम प्रवाह गरी तरलता व्यवस्थापनको उपाय अबलम्बन गर्ने व्यवस्थाका लागि समेत व्यवसायीले अनुरोध गरेका थिए । भेटघाट कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले देशको वर्तमान अवस्थाको बारेमा आफू संवेदनशिल भएको बताउँदै समस्या समाधानको लागि सामुहिक प्रयास आवयक रहेको बताए । संघको टोलीले नवनियुक्त प्रधानमन्त्रीलाई बधाई ज्ञापनगर्दै सफलकार्यकालको शुभकामना समेत व्यक्त गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । टोलीमा संघका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र कार्यसमिति सदस्य राजन पियाको सहभागिता रहेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले नारायणी अनलाइनलाई जानकारी दिए ।
























