चितवन विशेष
भरतपुरको सप्तगण्डकी क्याम्पसमा नयाँ विद्यार्थीको स्वागतमा सांस्कृतिक कार्यक्रम

चितवन, पुस ११-
भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा नयाँ विद्यार्थीको स्वागतमा सांस्कृतिक कार्यक्रम गरिएको छ ।
कक्षा १२ का विद्यार्थीहरुले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागतमा वृहत् सांस्कृतिक कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न जातजातिका सांस्कृतिक नृत्यहरु र आधुनिक रिमिक्स गरी एक दर्जन नृत्यहरु प्रस्तुत गरेका थिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष शिक्षाविद् रमाकान्त सापकोटा, क्याम्पस प्रमुख मणिराज महतो र कक्षा ११ र १२ का प्रमुख सागर अधिकारीले संयुक्तरुपमा कक्षा ११ का ४०० बढी विद्यार्थीहरुलाई खादा र अबिर लगाएर उपहार प्रदान गरेका थिए ।

कक्षा १२ का विद्यार्थी सुरेन्द्र देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका उपाध्यक्ष सापकोटाले किशोर किशोरी उमेरका विद्यार्थीहरुलाई यस्ता सांस्कृतिक र अतिरिक्त क्रियाकलापले परिपक्क नागरिक बन्न सहयोग गर्ने बताए । कार्यक्रममा क्याम्पस प्रमुख महतोले विद्यार्थीहरुलाई क्याम्पसमा स्वागत गर्दै शैक्षिक प्रगतिको शुभकामना दिए । कार्यक्रममा कक्षा १२ को पहिलो त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने
विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । स्वागत तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन शत्रमा क्याम्पसका सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुखहरु , पूर्वसहायक क्याम्पस प्रमुखहरु र क्याम्पसमा क्रियाशिल विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो ।


























