चितवन विशेष
लोकतन्त्र र गणतान्त्रिक आन्दोलनमा ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण: उपमेयर अधिकारी

चितवन, पुस ११–
जेष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले बताएका छन् ।
ज्येष्ठ नागरिकहरुकै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापित भएको बताउँदै अधिकारीले २०६२\०६३ को जन आन्दोलनमा जेष्ठ नागरिकहरुले पु¥याएको योगदान कै कारण देशमा लोकतन्त्र र गणतन्त्र स्थापना हुन पुगेको प्रष्ट पारेका हुन् ।
दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा भरतपुर महानगरपालिका र ज्येष्ठ नागरिक संघ चितवनको सयुक्त आयोजनामा सोमबार भरतपुरमा भएको अन्तरक्रिया कार्यक्रमलाई उद्घाटन गर्दै अधिकारीले ज्येष्ठ नागरिकहरु लोकतन्त्र र गणतन्त्रका नायक भएको बताए ।
आगामी तेस्रो ज्येष्ठ नागरिक दिवसलाई महानगरको सहयोगमा भब्य रुपबाट मनाउने गरी महानगर सहयोग गर्न तयार रहेको पनि उपमेयरले उल्लेख गरे । महानगर ज्येष्ठ नागरिक आमाबुबाहरुकै साथमा छ, तपाइँहरुको सुखदुःखमा महानगरले परिवारको सदस्यको रुपमा सहयोग गर्न तयार छ ।
जेष्ठ नागरिकहरुका लागि भरतपुरमा रहेका अस्पतालहरुमा समन्वय गरी १० शैया छुट्याइएको भएता पनि आगामी दिनहरुमा अझ बढी सेवा सुबिधा उपलब्ध गराउने उपमेयरको प्रतिबद्धता छ ।
कार्यक्रममा अधिवक्ता एकनारायण सापकोटाले कानुनी प्रशिक्षण दिएका छन् । त्यस्तै कार्यक्रममा संस्थाका कार्यबाहक अध्यक्ष माधव शर्मा घिमिरेले कार्यक्रमको विषयवस्तु माथि प्रकाश पारेका थिए । कार्यक्रममा भरतपुर १० का वडा अध्यक्ष परमेश्वर खनाल, संस्थाका केन्द्रीय सदस्य भोजराज न्यौपानेलगायतले मन्तव्य राखेका थिए ।

























