Breaking News

नारायणगढमा व्यवस्थित पुलचोक, अव्यवस्थित सडक पेटी

Banner

प्रतिमा कुमाल\निर्मल पौडेल

चितवन, पुस ७–

सडक दुर्घटनाको उच्च जोखिम स्थल मानिएको भरतपुरको पुलचोक आज व्यवस्थित देखिएको छ ।

पुलचोकदेखि पोखरा, काठमाडौँ, बुटवललगायतका लागि लाग्ने लामो दूरीका यात्रुबाहक सवारीसाधन प्रवेश निषेध गरेसँगै पुलचोक अकर्षित र व्यवस्थित देखिएको हो ।

पोखरा बसपार्कलाई बस स्टेसन निर्धारण गरिए पनि पश्चिम तर्फ (भैरहवा, भालुवाङ, अत्तरीया, नवलपुर) हँुदै काठमाडौँ पोखरालगायत स्थान जाने बसले पुलचोकलाई बस स्टेशन बनाउँदै आएका थिए । मुख्य सडक तथा चोकमै यात्रु चडाउने र झार्ने गर्दा ट्राफिक व्यवस्थापनमा सकस भएपछि प्रवेश निषेधको नियम लागू गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख धर्मबहादुर अधिकारीले नारायणी अनलाइनलाई बताए ।

उनले भने, ‘पश्चिमबाट आएका बसले पुलचोकलाई बस स्टेशन बनाउँदा भीडभाडले जामै हुन्थ्यो । हामीलाई ट्राफिक व्यवस्थापनमा एक्दमै चुनौती थियो । फोहोर पनि त्यतिकै हुने । साना –साना दुर्घटना नभएको दिन नै हुदैन थियो । त्यसैले पुलचोकलाई बस स्टेसन बनाएका पश्चिमका लामा दूरीका बसलाई प्रवेश निषेध गरेका हौं । जसले पुलचोकको सुन्दरता पनि बढाएको छ ।’ अबदेखि पश्चिमबाट आएका लामा दूरीका बसले पोखरा बसपार्कलाई नै प्रयोग गर्नुपर्ने उनले बताए ।

कोही व्यवसायी खुसी, कोही दुःखी

पुलचोकबाट लामो दूरीका यात्रुबाहक सवारीसाधन प्रवेश निषेध गरेपछि सुनचाँदी व्यवसायी खुसी भएका छन् । नरेन्द्र रामदामले भने, ‘सुन किन्ने भने पछि ग्राहकहरु नगद लिएर आएका हुन्छन् । पसलकै अगाडि बस लाग्दा पूरै यात्रुको भीड हुन्छ । उनीहरुको सामान मेरो पसल भित्रसम्म राख्थे । जसले हाम्रो ग्राहकलाई असुरक्षित महसुस हुथ्यो । चोरीको डरले हरेक एंगलमा सीसी क्यामरा जडान गरेको छु ।’ ट्राफिक कार्यालय र महानगरको यस कदमले केही सुरक्षित महसुस गराएको रामदामको भनाइ छ ।

यता फलफूल एवम् किराना तथा होटल ब्यवसायीहरु भने असन्तुष्ट छन् । पुलचोक मम रेष्टुरेन्टका सञ्चालक अंकुरन योन्जनले खाजा, खाना खान आउनेको संख्यानै घटेको बताए । एकै दिनमा आधा ग्राहक नै कम भएको उनको भनाइ थियो । उनले भने, ‘कोरोनाको प्रभाव अझै व्यवसायमा छ । बजारमा मान्छेको चहलपहल कम छ । यही बस स्टेशनले गर्दा यात्रुहरु खान आउँथे । त्यही पनि आजबाट रोकियो । ग्राहक निक्कै घटेको छ ।’
स्थानीय व्यवसायी टिका कुमारी पाण्डे दवाडीले एक्कासी प्रवेश निषेध गर्दा किराना पसललाई ठूलो झट्का लागेको बताइन् । ‘बाटोमा यात्राको क्रममा खाने जंग फुड बेच्छौं । महिनाको ३५ हजार पसको भाडा तिर्छौ । एक्कासी बिना जानकारी बस प्रवेश रोकिदिँदा ब्यापारमा ठूलो घाटा हुने भयो,’ उनले भने ।

उद्योग वाणिज्य संघ चितवन र घरबहाल व्यवसायी संघले यस विषयमा सम्बोधन गर्नुपर्ने उनको भनाइ छ । यस निर्णयले प्रभाव पारेका व्यवसायीको घरभाडा पनि कम गर्नुपर्ने माग दवाडीको छ ।

पुलचोक हुँदै पोखरा बसपार्क जाने बाटोमा लामो दूरीका यात्रुबाहक सवारीसाधन प्रवेश निषेध गरे पनि यहाँ साना सवारीसाधनको चाप उतिकै छ । सडकको दुवै तर्फ मोटरसाइकल, स्कुटर, ठेलागाडालगायतको पार्किङ स्थल बनिरहेको छ । यस सडक मार्ग मात्र नभई पार्किङ स्थल नहुदा चौबिसकोठी र नाराणगढका मुल सडकदेखि भित्री सडक सवारी पार्किङ केन्द्र बनेको छ । जसको व्यवस्थापन भरतपुर महानगरपालिका र ट्रापिक कार्यालयले गर्न सकिरहेको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>