Breaking News

चितवनमा हुने खैरहनी महोत्सवमा तीन लाख दर्शकबाट ७० करोडको कारोबार हुने अपेक्षा

Banner

निरुता विक

चितवन, पुस ७-

कोरोना भाइरसका कारण लामो समयदेखि हुन नसकेको खैरहनी महोत्सव यो वर्ष आयोजना हुने भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ बागमती र उद्योग वाणिज्य संघ खैरहनीको संयुक्त आयोजनामा खैरहनी वडा नं. २ स्थित लदरी खोला किनारमा बागमती प्रादेशिक एवम् दोस्रो खैरहनी महोत्सव हुन लागेको हो ।

आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा माघ ४ गतेदेखि १५ गतेसम्म आयोजना हुने महोत्सव यस वर्ष दोस्रो संस्करणको महोत्सव हुन लागेको खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठले बताए । यसअघि विसं २०७५ मा महोत्सव आयोजना गरिएको थियो । प्रदेशको उद्योग व्यापार क्षेत्रको विकास गरी देशकै आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरिएको श्रेष्ठले बताए ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले उद्योग वाणिज्य संघ खैरहनीका सदस्यहरुलाई स्टलमा १० प्रतिशत छुट भएको र स्टलको ९ हजार देखि ३० हजारसम्म शुल्क लिने बताए । महोत्सवमा विभिन्न क्षेत्रहरु उद्योग, व्यापार, कृषि, सूचना प्रविधि, पर्यटन, अटो, होटल, शैक्षिक संस्था, सरकारी, गैरसरकारी संघसंस्था, महिला उत्पादन तथा सेवाहरु गरी ३५० वटा स्टलहरु रहने उनले जानकारी दिए ।

करिब एक करोड बीस लाखको लगानीमा हुन लागेको महोत्सवमा तीन लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । यस बृहत महोत्सवमा सवारी साधनहरुसहित गरी करिब ७० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खैरहनीले जनाएको छ । महोत्सवमा बहुर्राष्ट्रिय, राष्ट्रिय तथा लघु घरेलु तथा साना उद्योगहरुका उत्पादनहरु, कृषि उत्पादनहरु, महिला उद्यमीबाट उत्पादित सामग्रीहरु, बालउद्यान, सवारीसाधनलगायत प्रदर्शनी हुने संघले जारी गरेको विज्ञाप्तिमा उल्लेख छ ।

महोत्सवले उद्योगी र उपभोक्ताहरुको सोझो सम्पर्कको स्थापना गराई व्यवसाय वृद्धि गर्ने, उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरुको समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने महोत्सवको लक्ष्य तथा उद्देश्य रहेको जनाइएको छ । महोत्सवले औद्योगिक पर्यटनलाई बढावा दिनुका साथै सूचना र प्रविधिको आदनप्रदान गर्दै कृषकहरुलाई कृषि उपजको विषयमा जानकारी प्रदान गर्ने आयोजकको आशा छ ।

महोत्सव अवधिभर छलफल, अन्तरक्रिया, गोष्ठी तथा प्रतियोगितात्मक कार्यक्रमहरु, स्वास्थ्य तथा शौक्षिक कार्यक्रमहरुको आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवको विशेष आर्कषणको रुपमा विभिन्न जनजातिको स्थानीय भेषभुषामा सांस्कृतिक कार्यक्रमका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति रहनेछन् ।

पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले भने, ‘युवाहरुको लागि सेल्फीजोन, अम्ब्रेला स्ट्रिटदेखि बालबालिकाहरुको मनोरञ्जनका लागि बालउद्यानको समेत व्यवस्था गरिनेछ ।’ महोत्सवमा व्यापारी, उद्योगी, उपभोक्ता, सरकारी निकाय, संघ÷संस्था, अनुसन्धानकर्ता र आमनागरिक समेत एकै ठाउँमा जमघट भई प्रतिक्रिया, सुझाव र सहयोग लिने दिने अवसर रहेको उनले बताए । यस महोत्सवबाट उत्पादक तथा उपभोक्ताहरु बीच सोझो सम्पर्क कायम हुने, आन्तरिक तथा बाह्य पर्यटकीय विकासमा मद्दत पुग्ने र आर्थिक, समाजिक, सांस्कृतिक क्षेत्रको विकासमा फाइदा हुने आयोजकले अपेक्षा राखेको छ । महोत्सवलाई कृषि, प्रर्यटन तथा संस्कृति मन्त्रालयबाट समेत सहयोग मिल्ने आयोजकको विश्वास छ । महोत्सवमा प्रवेश शुल्क ५०, विद्यार्थीहरुलाई ३० र राज्यले सम्मान गरिएको ज्येष्ठ नागरिकलाई टिकट निःशुल्क गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>