Breaking News
चितवनमा मुख्य सिजनमै निर्माण सामग्रीको व्यापार सुस्तायो, ३० प्रतिशतसम्म घट्यो मूल्य

चितवन, पुस ७-
बढ्दो शहरीकरण र जनघनत्व बढ्दै गएको चितवनमा निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशत भन्दा बढीले गिरावट आएको छ ।
निर्माण सामग्रीको माग घटेसँगै खपत हुन नसक्दा निर्माण सामग्रीको मूल्यमा गिरावट आएको हो । पर्याप्त व्यापार हुन नसक्दा खपत हुने मुख्य सिजनमै निर्माण सामग्रीको बजार अस्तव्यस्त बनेको छ ।
मंसिरमा धान थन्क्याएपछि हरेक वर्ष यतिबेला घर निर्माण तथा विकासको कार्य तीब्र अगाडि बढ्ने गर्छ । जसबाट निर्माण सामग्रीको खपत पनि बढ्न जान्छ तर, यो वर्ष भने मुख्य सिजनमै निर्माण तथा विकासको कार्य अगाडि बढ्न सकेको छैन ।
नेपालमा विकास खर्चको अवस्था निकै कमजोर छ । गत वर्ष पनि सरकारले विनियोजन गरेको खर्चमध्ये ५० प्रतिशत पनि खर्च हुन सकेन । त्यस्तै, यो वर्ष पनि विकास निर्माणको कार्य निकै सुस्त देखिएको छ । स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले विकास निर्माणको कार्यमा प्रभाव पारेको छ ।
त्यस्तै, अहिले बजारमा तरलताको चरम अभाव छ भने ब्याजदर ह्वात्तै बढेको छ । बजारमा तरलता अभाव र ब्याजदर वृद्धिले अधिकांश क्षेत्रमा प्रभाव परेको छ । व्यवसायीहरुले पर्याप्तमा मात्रामा लगानी गर्नका लागि रकम पाइरहेका छैनन् भने अर्कोतर्फ विगतको दिनमा लिएको ऋण तिर्न निकै चुनौती थपिएको छ ।
बैँकले घर निर्माणमा ऋण लगानी नगर्दा चितवनमा यस वर्ष घर निर्माणको काम पनि कम भएको छ । जसले गर्दा निर्माण सामग्रीको पर्याप्त बिक्री हुन सकेको छैन । चितवन हार्डवेयर व्यवसायी संघका अध्यक्ष हरि गैरेले बैँकले घर निर्माणमा ऋण नदिँदा व्यापार घटेको बताए । उनले भने, ‘ व्यापारमा ३० प्रतिशत कमी आएको छ । कम्पनीहरुले उधारो दिँदैनन् । साना व्यवसायीहरु त पलायन नै हुने अवस्थामा छन् ।’ उनले कतिपय निर्माण सामग्रीको मूल्य घटेको पनि नारायणी अनलाइनलाई बताए ।
माग घटेसँगै घर निर्माणमा आवश्यक पाइपको पनि मूल्य घटेको छ । पाइपको मुख्य बिक्रेता आरएएस ट्रेडिङ प्रालिका प्रोपाइटर अग्नीधर बर्ताेलाले घर निर्माणमा प्रयोग हुने पाइपको मूल्यमा १० प्रतिशतले गिरावट आएको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ गत वर्षको तुलनामा व्यापारमा ५५ देखि ६० प्रतिशतसम्म गिरावट आएको छ । ग्राहकहरुको संख्यामा गिरावट आएको छ ।’
माग घटेसँगै चितवनको बजारमा सिमेन्टको मूल्यमा प्रतिबोरा ५० देखि ८० रुपैयाँसम्म गिरावट आएको छ । रडको मूल्यमा भने घटबड भइरहेको व्यवसायीहरु बताउँछन् । भरतपुर महानगरपालिका–११ बसेनीको मनकामना हार्डवेयरका प्रोपाइटर प्रकाश ढकालले पोहोरको तुलनामा झण्डै ६५ प्रतिशतले व्यापार घटेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘यतिबेला निर्माण सामग्री बिक्री हुने सिजन हो । जेनतेन बैँकबाट ऋण लिएर घर बनाउनेहरु समस्यामा परेका छन् । लिनुपर्ने पैसा असुल गर्न पनि कठिन भएको छ ।’ उनले सिमेन्टको मूल्यमा प्रतिबोरा ५० देखि ८० रुपैयाँसम्म गिरावट आएको जानकारी दिए ।
गत वर्ष विकास निर्माणको मुख्य सिजनमै निर्माण सामग्रीको अत्याधिक मूल्य बढेको थियो । मूल्य बढेको भन्दै देशभरका निर्माण व्यवसायीहरु आन्दोलित भएका थिए । तर, यो वर्ष निर्माण तथा विकासको कार्य अगाडि बढ्न नसक्दा मूल्यमा गिरावट आएको छ । समग्रमा अहिले निर्माण सामग्रीको मूल्यमा ३० प्रतिशतसम्म कमी आएको व्यवसायीहरुको भनाइ छ ।
इँटा व्यक्तिगत तथा व्यवसायिक घर निर्माणका लागि बढी प्रयोग हुने सामग्री हो । बजारमा तरलता अभाव भएका कारण घर निर्माणका कार्य ठप्प भएका छन् । जसले गर्दा अहिले इँटाको बजार माग ४० प्रतिशतले कम भएको छ ।

बजार माग नहुँदा मूल्यमा पनि ३० प्रतिशतसम्म गिरावट आएको छ । इँटाको खपत हुने मुख्य सिजन नै यही हो । अहिले विगतको तुलनामा यो वर्ष इँटाको मूल्य ३० प्रतिशतसम्म कमी आएको छ । यस्तै, व्यवसायीहरुले इँटाको नयाँ उत्पादन सुरु गर्न सकेका छैनन् । तयारी अवस्थामा रहेको इँटा नै बिक्री हुन नसकेपछि व्यवसायीहरुले घाटा खाएर नै इँटा बिक्री गर्न थालेको व्यवसायीहरुको भनाइ छ । अहिले इँटाको गुणस्तर र ब्रान्ड हेरेर बजारमा प्रति इँटाको मूल्य १० रुपैयाँदेखि १७ रुपैयाँमा बिक्री भइरहेको छ । सिमेन्ट उद्योगीहरुको उत्पादन क्षमताको १० प्रतिशत पनि खपत हुन सकेको छैन ।
अहिले बजारमा विभिन्न ब्रान्डका पीपीसी र ओपीसी सिमेन्ट ६ सय रुपैयाँदेखि ७५० रुपैयाँसम्म बिक्री भइरहेको छ । केही महिना अघिसम्म पीपीसी र ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६५० रुपैयाँदेखि ८ सय रुपैयाँमा बिक्री भइरहेको थियो । यस्तै, डन्डीको मूल्यमा पनि गिरावट आएको छ । यसअघि प्रतिकेजी १३५ देखि १४० रुपैयाँसम्म बिक्री भएको डन्डीको मूल्य अहिले प्रतिकेजी १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म बिक्री भइरहेको छ ।
पञ्चकन्या स्टिलले डन्डीको मूल्य घटाएर २६ रुपैयाँ तोकेको छ । यसअघि कम्पनीले प्रतिकेजी १३१ रुपैयाँमा बिक्री गर्दै आएका थिए । त्यसैगरी हिमाल स्टिलले केही महिना अगाडिसम्म प्रतिकेजी १३७ रुपैयाँ मूल्यमा बिक्री गरिहेकोमा अहिले घटाएर १३३ रुपैयाँ तोकेको छ । जगदम्बा स्टिलको मूल्य प्रतिकेजी ११० रुपैयाँमा बिक्री भइरहेको छ ।
एक महिनाअघि कम्पनीको डण्डी प्रतिकेजी ११६ रुपैयाँमा बिक्री भइरहेको थियो । साथै, अन्य कम्पनीहरुको डण्डीको मूल्य पनि प्रतिकेजी ७ रुपैयाँसम्म घटाएर बिक्री गरिरहेका छन् । त्यस्तै, बजारमा विकास निर्माण क्षेत्रमा सबैभन्दा बढी खपत हुने सिमेन्टको माग ४०.२ प्रतिशतले माग घटेको छ भने अधिकांश सिमेन्ट क्षेत्रको कारोबार ३९ प्रतिशतले घटेको छ ।
त्यसैगरी, इन्जिनियररिङ र निर्माण कम्पनीको माग ४३.४ प्रतिशत, घरजग्गा क्षेत्र ५२.८ प्रतिशत र स्टिल उद्योग क्षेत्रको ६१.१ प्रतिशतले माग घटेको छ । बजारमा माग घटेसँगै यसको प्रत्यक्ष असर मूल्यमा परेको छ ।
























