Breaking News

भरतपुरको वीरेन्द्र क्याम्पसमा प्राध्यापकले नपढाई गर्छन् हाजिरी, दुई महिनामा सक्छन् एक वर्षको कोर्स

Banner

चितवन, पुस ६-

चितवनको भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसमा चरम बेथिति र लापरवाही बढ्दै गएको छ । क्याम्पस प्रशासनले शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिन नसक्दा लापरवाही र बेथिति बढ्दै गएको हो ।

चितवनकै पुरानो त्रिभुवन विश्वविद्यालयको आंगिक यस क्याम्पसमा प्राध्यापकहरु १५ दिन पढाउन आउने १५ दिन नआउने गर्दा विद्यार्थीहरु दिक्क भएका छन् । प्राध्यापकहरुले एक वर्षको कोर्सलाई दुई महिनामा नै सक्ने र दुई दिन पछाडिसम्मको हाजिरी अगाडि नै गर्ने गरिएको पाइएको छ ।

आज (बुधबार) नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस इकाइले गरेको अनुगमनमा प्राध्यापकहरुले पुस ८ गतेसम्मको हाजिरी गरेको भेटियो । कतिपय प्राध्यापकहरुले क्याम्पसमा पढाउँदै नपढाइ हाजिरी गरेर तलब खाने गरेको विद्यार्थीहरुको आरोप छ । नेपाल विद्यार्थी संघ वीरेन्द्र बहुमुखी क्याम्पस कमिटी उपाध्यक्ष सुभास पौडेलले शिक्षकहरु पढाउन नआउने गरेको गुनासो बढेपछि आफूहरुले क्याम्पस प्रमुखलाई राखेर छड्के अनुगमन गरेको बताए । उनले भने, ‘ प्रध्यापकले पुस ८ गतेसम्मको हाजिरी ६ गते नै गरेका छन् । पढाउन नआई हाजिरी गर्नु गलत हो यस्तो गल्ती शिक्षकहरुबाट नहोस् । यस्तो हुनुमा क्याम्पस प्रशासनको पनि कमजोरी छ । उनीहरुले पढाइ भएको नभएको प्रभावकारी ढंगले अनुगमन गर्न सकेका छैनन् ।’ उपाध्यक्ष पौडेलले एक वर्षको कोर्स दुई महिनामा सिध्याउने प्रचलन पनि वीरेन्द्र बहुमुखी क्याम्पसमा रहेको गुनासो गरे । उनले आफूहरुले अहिले सचेत मात्र गराएको र फेरी पनि अटेर गरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।

क्याम्पसमा हुने लापरवाही र गल्तीलाई क्याम्पस प्रमुख प्राध्यापक डा दयाराम पौडेलले पनि स्वीकार गरेका छन् । उनले हाजिरीलाई राम्रोसँग अनुगमन गर्न नसक्नु आफूहरुको कमजोरी भएको बताए । उनले भने, ‘ कक्षामा पढाइ भएको वा नभएको अनुगमन गर्ने काम हरेक विभागीय प्रमुखहरुबाट हुनुपर्छ । क्याम्पसमा ३०० शिक्षक र ५० जना कर्मचारी छन् । यस्ता कमजोरीलाई सुधार गर्नुपर्छ । व्यक्तिको पनि कमजोरी छ । यस्ता गल्ती गर्नेलाई कारबाही गर्नुपर्छ ।’ उनले क्याम्पसमा सबैलाई व्यवस्थापन गरेर प्रशासन चलाउन गाह्रो भएको बताए । उनले भने, ‘क्याम्पसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक छ ।’ वीरेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापकहरुको अन्यत्र निजी क्याम्पसहरुमा लगानी भएकोले पनि क्याम्पसमा तोकिएको समयमा प्राध्यापकहरु बस्न नसक्ने विद्यार्थी र अभिभावकहरुको गुनासो छ । काम नै नगरे पनि तलब पाइन्छ भन्ने कर्मचारी र प्राध्यापकमा गलत मानसिकता रहेको कारणले वीरेन्द्र क्याम्पस धरासायी बन्दै गएको अभिभावकहरुको आरोप छ ।

विसं २०२२ सालमा स्थापित वीरेन्द्र बहुमुखी क्याम्पस चितवनको एक मात्र त्रिभुवन विश्वविद्यालयको आंगिक र पुरानो क्याम्पस हो । चितवनमा मात्र नभई समग्र चितवन र यसको वरपरका जिल्लाबाट विद्यार्थीहरु क्याम्पसमा अध्ययन गर्न आउँछन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>