Breaking News

भरतपुरमा सवारीसाधनको नयाँ व्यवस्थापनः पुल्चोकदेखि गोन्द्राङ र आँपटारीसम्म हर्न निषेध

Banner

चितवन, मंसिर २९-

भरतपुर महानगरपालिकाले आगामी पुस ७ गतेदेखि साना तथा ठूला सवारीसाधनलाई व्यवस्थापन गर्ने काम सुरु गरेको छ ।

बुधबार भरतपुर महानगरपालिकामा बसेको सरोकारवालाको बैठकले सवारीसाधन व्यवस्थापन गर्न पाँच वटा महत्वपूर्ण निर्णय गरी कार्यान्वनमा ल्याउन लागेको हो ।

पछिल्लो समय बढ्दै गएको सहरीकरणसँगै सवारीसाधन व्यवस्थापनमा समस्या देखिएसँगै महानगरले तत्काल केन्द्रीय बस टर्मिनल र नारायणगढ बस पार्कमा अनिवार्य पार्किङको व्यवस्था गरेको छ । महानगरको निर्णय अनुसार पूर्वबाट काठमाडौँ–पोखरा जाने यात्रुबाहक बस, मिनी बस, माइक्रोलगायतको भाडाको सवारीसाधनहरुको पिक एण्ड ड्रप केन्द्रीय बसपार्कबाट बाइपास सडक प्रयोग गरी आँपटारीबाट बाहिरिनु पर्ने छ ।
पूर्वबाट पश्चिम बुटवल, धनगढी, महेन्द्रनगरसम्म जाने यात्रुबाहक सवारीको यात्रु पिक एण्ड ड्रप केन्द्रीय बसपार्कमा गरी चौबिसकोठी, लाइन्सचोक हुँदै पुलचोकबाट बाहिरिनु पर्ने व्यवस्था गरिएको छ । पश्चिम जाने यात्रुबाहक सवारीसाधनले केन्द्रीय बर्स पार्कबाट पिक एण्ड ड्रप गरी पश्चिमतर्फ निस्किने नियम बनाएको छ ।

यस्तै भरतपुर महानगरपालिका क्षेत्रको रिङरोडमा चल्ने म्याजिकहरुको क्यु लिने र पार्किङ गर्ने स्थल नारायणगढ बसपार्कमा गर्नुपर्ने निर्णय गरिएको छ । भरतपुरबाट टाँडी, पर्सा, भण्डरा, लोथरसम्म जाने यात्रुबाहक बस र म्याजिकको क्यु लिने र पार्किङ गर्ने स्थान केन्द्रीय बसपार्कमा गर्नुपर्ने व्यवस्था मिलाइएको छ ।

नारायणगढ बजारको पुलचोकबाट पोखरा बसपार्क तर्फ जाने ट्रक र लामो दूरीका बस प्रवेशमा निषेध गरिएको छ । यस्तै काठमाडौँ पोखराबाट पूर्व वा पश्चिमतर्फ जाने यात्रुबाहक सवारीसाधन ट्रक, लहरी, टिपर जस्ता मालबाहक सवारीसाधनहरुलाई आँपटारीबाट नारायणघाट बजारतर्फ जान निषेध गरिएको छ ।

महानगरको गोन्द्राङदेखि पुलचोक आँपटारीसम्मको बार क्षेत्रमा जथाभावी हर्न बजाउन निषेध गरिएको छ । यस्तै नारायणगढ तथा भरतपुरमा रहेका राजमार्गको पेटी तथा सडकको दाँया बायाँ भागमा निजी तथा भाडाका सवारी साधनहरुलाई पार्किङमा निषेध गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुन्दर र सुसंस्कृति भरतपुर महानगरको परिकल्पना अनुसार सवारीसाधनलाई व्यवस्थापन गर्न लागिएको बताइन् ।

गोन्द्राङदेखि पुलचोकसम्म ६ लेन सडक निर्माण भइरहेकाले दुर्घटनाको जोखिम बढ्दै गएसँगै तत्काल सवारी व्यवस्थापनमा जुटेको उल्लेख गरिन् ।
मेयर दाहालको अध्यक्षतामा बसेको बैठकमा उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख नवराज अधिकारी, वातवरण शाखा प्रमुख विराट घिमिरे, यातयात व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>