Breaking News
६ वर्षदेखि अलपत्र सडकले भरतपुर बाइपासका व्यवसायी मर्कामा, ठेकेदारलाई दैनिक ५७ हजार हर्जना

प्रतिमा कुमाल
चितवन, मंसिर २७–
व्यवसायको लागि उत्कृष्ट ठाउँ मानिएको भरतपुरको बाइपास सडक छेउका व्यवसायीहरु करिब ६ वर्षदेखि मर्कामा छन् ।
सडक निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीले समयमा सडकको काम नसक्दा यहाँका स्थानीयले आर्थिक र स्वास्थ्यमा नोक्सानी ब्यहोर्नु परेको हो ।
भरतपुरको मुख्य सडक केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्मको ‘बाइपास सडक’सरकारी कार्यालय, बैंक, विद्यालय तथा उद्योगलगायत रहेकाले व्यवसायिक गतिविधि बढ्दै गएको ठाउँ हो । तर, सडकको काम लामो समयसम्म अलपत्र पर्दा धूलो र धुवाको कारण होटलमा ग्राहक घटेको स्थानीय व्यवसायी मुना अधिकारीले बताइन् । उनले भनिन्, ‘विभिन्न कामले यहाँका संघ,संस्था, कार्यालयमा आएकाहरुको खाजा खाने ठाउँ होटल नै हो । तर, बर्खामा डुबानले र हिउँदमा धूलोले ग्राहक आउन छाडेका छन् ।’ व्यवसायी अधिकारीले बाध्यताले मात्र ग्राहक आउने गरेको बताइन् ।
एकछिन मास्क नलगाए रुघाखोकी सुरु हुने उनको भनाइ थियो । ‘आँखाहरु बिझाउँछ । मास्क नलगाई बसे साँझ परेपछि रुघाखोकीले समातिहाल्छ । कोरोनाको समयमा भन्दा बढी मुख यो धूलो धूवाले गर्दा छोप्नु परेको छ ।’
व्यवसायी विष्णुदेव राजवंशीले निर्माण कम्पनीले निरन्तर काम नगरीदिँदा ब्यवसायीले घाटा सहनु परेको बताए । जिल्ला प्रशासन कार्यालय चितवनको अगाडि व्यवसाय गर्दै आएका मोरङका राजवंशीले भनिन्, ‘काम गर्नुपर्छ, विकासको काममा केही नोक्सानी जनताले भोग्नुपर्छ । यसमा मेरो कुनै गुनासो छैन् । तर, निरन्तर भएको भए तोकिएकै समयमा सकिन्थ्यो । हामीले पनि राहत पाउथ्यौं ।’
स्थानीय गोपालप्रसाद रेग्मीले ठेकेदारको ढिलासुस्तीले सवारी दुर्घटनाको जोखिम बाइपास सडकमा रहेको बताए । ‘दिनमा त देखिन्छ र दुर्घटनाको सम्भावना कम छ । रातमा सवारी साधनको बत्ती बाले पनि थोरै दूरीको मात्र त देखिने हो । आँखा झिम्कि ग¥यो कि दुर्घटना घट्यो,’ उनले भने ।
युवराज श्रेष्ठले स्थानीयहरु सहेर बसेकाले पनि समयमा काम नसकिएको बताए । जहाँ काम हुदैन त्यहाँको जनता जागरुक भए कुनै पनि निकायबाट काममा आलटाल नहुने उनको भनाइ थियो ।
अर्का स्थानीय व्यवसायी यमलाल बगालेले जग्गा विक्रेताले गरेको पलटिङलाई जनप्रतिनिधिले विकासको मूलको रुपमा लिनु हास्यास्पद रहेको दाबी गरे । ‘विकास भएको भए मुख्य सडकहरुमा पनि देखिन्थ्यो होलानी । जग्गा बिक्रेताले बिक्रीको लािग पलटिङ गरेका छन् त्यसलाईनै भरतपुरमा विकासको मुल फुट्यो भन्दै हिड्छन्,’ उनले भने ।
सडक डिभिजन कार्यालय चितवनले ठेक्का पाएको निर्माण कम्पनी गौरी पार्वती निर्माण सेवा प्रालिलाई कारबाही गरेसँगै भने स्थानीयमा आशा पलाएको छ । यससँगै ‘बाइपास सडक’ निर्माण प्रगति ९६ प्रतिशत पुगेको छ । कम्पनीलाई दैनिक ५७ हजार रुपैयाँ हर्जना सडक डिभिजनले लगाएसँगै सडक निर्माणले गति लिएको हो ।
पाचौं पटक थपिएको म्यादभित्र पनि काम नसकेपछि कम्पनीलाई असोजदेखि दैनिक हर्जनामा राखेको सडक डिभिजन कार्यालय चितवनका सूचना अधिकारी इञ्जिनियर चन्द्रेश्वर साहले जानकारी दिए । उनले भने, ‘डिजाइन परिवर्तन, कोरोना महामारी, निर्माण सामग्रीको मूल्यबृद्धि, विधुतीय तार, पोल जस्ता कारणले पटक पटक म्याद थप हुँदै आएको थियो । भदौ ३१ को म्यादभित्र पनि काम नसकेपछि फेरि म्याद थप्नुपर्ने कारण देखिएन । पहिलो चरणको कारबाहीस्वरूप दैनिक ०.०५ प्रतिशत हर्जना लगाएका हौँ ।’
विसं २०७३ सालको पुस १९ गते ठेक्का सम्झौता भएको यो सडकको पाचौं पटक थपिएको म्याद गत भदौ ३१ गते सकिएको थियो । अहिलेसम्म सडक डिभिजन कार्यालयले ५० लाख १६ हजार हर्जना असुल गरिसकेको छ ।
अहिले यस सडकमा बेस र सबबेसको काम चलिरहेको छ । कालोपत्रेको काम भने रायमाझी–पशुपती जेभीले गर्ने गौरी पार्वती निर्माण सेवा प्रालिका प्रोजेक्ट म्यानेजर सुमन अधिकारीले बताए । उनले भने, ‘पहिलो कालोपत्रेको काम पनि हामीले नै पाएका थियौं । पछि डिजाइनमा परिवर्तन आयो । त्यसपछि रायमाझीले गर्ने भयो ।’ अधिकारीले विद्युतीय पोल चाडै हटे चार प्रतिशत काम छिट्टै सकिने बताए ।
फिडर लाइनको विद्युतीय पोल हटाउन समय लागेको सडक डिभिजन कार्यालय चितवनका इञ्जिनियर राजिव मानन्धरले बताए । ‘यस सडकमा फिडर लाइन छ । यसको व्यवस्थापन नगरी निकाल्दा पूरै भरतपुरनै अध्यारो हुन्छ । यसलाई व्यवस्थापन गर्न निर्माण कम्पनी, सडक र विद्युत् प्राधिकरण छलफल गरिरहेका छौं’, उनले भने ।
गौरी पार्वती जेभीसँग सुरुवातमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको ६ किलोमिटर सडक ७ मिटर चौडा बनाएर कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । १२ करोड ८१ लाख ८२ हजार ९४७ रूपैयाँमा जेभीले सडक निर्माणको जिम्मा लिएको थियो । तर, केही समयमै डिजाइनमा परिमार्जनगरी बीच भागमा ‘मिडियन’ बनाएर त्यसको दायाँ–बायाँ ७–७ मिटरको कालोपत्रे सडक र दुबैतर्फ एक÷एक लेन ग्राभेल सडक बनाउने सम्झौता भयो । पहिले आँपटारीसम्म बनाउने भनिएको ६ किलोमिटर सडकलाई घटाएर चार किलोमिटर बनाउने भनी १३ करोड ४५ लाख ८२ हजार ७९१ रुपैयाँमा सम्झौता गरिएको थियो ।
हर्जना तिर्नुपर्ने भएपछि निर्माण कम्पनीले लामो समयदेखि अड्किएको कामलाई गति दिएको छ । केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म ग्राभेल गर्ने, ढलको काम भइरहेको छ । लगातार एक महिना काम गरे सम्झौताअनुसारको काम सकिने सडक डिभिजन कार्यालय चितवनको भनाइ छ ।
१० प्रतिशत हर्जना तिरिसक्दा पनि सन्तोजनक काम नभए ठेक्का सम्झौता रद्द गरेर निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने व्यवस्था खरिद ऐनमा छ । यो ठेक्काको १० प्रतिशत रकम सवा एक करोड रुपैयाँ भन्दा बढी हुन्छ । निर्माण कम्पनीले ठेक्काबापतको करिब एक करोड रुपैयाँमात्रै बुझ्न बाँकी छ । हर्जना रकम विभागले कम्पनीले पाउने रकमबाट अशुल गरिरहेको छ ।

नयाँ ठेक्का पनि म्याद थप, काम ४५ प्रतिशत
विशालचोकदेखि आँपटारीसम्मको सडक बिस्तारको ठेक्का रायमाझी–पशुपती जेभीले पाएको छ । २०७७ साल असार २६ गते डिभिजनले जेभीसँग सम्भौता गरेको थियो । यस सडकलाई ६ लेनको बनाउने र विशालचोकदेखि केन्द्रीय बस टर्मिनल चोकसम्मको ४ लेन सडकमा थप एक÷एक लेन कालोपत्रे गर्ने गरी सम्झौता भएको थियो । सडक बिस्तारको काम भइरहेको छ । २६ करोड ६ लाख ६६ हजार ७५३ रुपैयाँमा २०७८ फागुन २० गतेभित्र निर्माण सक्नेगरी जेभीसँग सम्झौता भएको हो । तर, समयमै नसकिएपछि म्याद २०८० जेठ १० गतेसम्मका लागि थपिएको छ । केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्मको कालोपत्रे र विशालचोकदेखि आँपटारीसम्म्को सबैकाम समय अगाबै सक्ने रायमाझी–पशुपती जेभीका इञ्जिनियर किरण अधिकारीको दाबी छ । उनका अनुसार यो सडकको भौतिक प्रगति ४५ प्रतिशत भएको छ ।

























