Breaking News
दिनेश कोइराला भन्छन्ः पार्टीकै काममा सक्रिय छु, कांग्रेसप्रतिको भावनालाई कसले कारबाही गर्छ ?

चितवन, मंसिर २७-
चितवन–३ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचनमा पराजित भएका कांग्रेसका पूर्वकेन्द्रीय सदस्य दिनेश कोइराला निर्वाचनपछि पनि कांग्रेस नेता तथा कार्यकर्ताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् ।
एमालेको समर्थनमा माछा चिन्ह लिएर उठेका कोइराला निर्वाचनको मतको आधारमा तेस्रो स्थानमा रहे पनि आफ्ना मतदाता र समर्थकहरुलाई धन्यवाद दिँदै निरन्तर भेटघाटमा क्रियाशिल रहेका हुन् । कांग्रेसको चितवन जिल्लाका र केन्द्रीय तहका नेता सबै उनीसँग निरन्तर छलफल र अन्तरक्रियामा रहेका छन् ।
आज मंगलबार पनि उनी काठमाडौँमा कांग्रेसका नेताहरुसँग देशको पछिल्लो राजनीतिक परिस्थिति, कांग्रेसको सुदृढिकरण र सरकार निर्माणबारे छलफलमा नै रहेको नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ मलाई पार्टीले कारबाही गरेको भए पनि मेरो कांग्रेसप्रतिको भावनालाई कसले कारबाही गर्छ ? मैले कांग्रेस पार्टीलाई बलियो बनाउन नेतृत्वलाई खबरदारी गरेको हो । मैले गठबन्धनको विरोध गरेको हो । मलाई होइन कांग्रेस नेतृत्वलाई नै कारबाही गर्नुपर्छ ।’ कोइरालाले कांग्रेस नेतृत्वको अर्कमण्ड्यताले गर्दा समानुपातिकमा कांग्रेसले मत कम ल्याएको आरोप लगाए । उनले भने, ‘गुट, स्वार्थ र परिवारवादले गर्दा कांग्रेस एक्लैले बहुमत ल्याउनुपर्ने पार्टी आज गठबन्धन गर्दा पनि बहुमत ल्याउन सकेन ।’ निरन्तर पार्टीको काममा सक्रिय रहेका उनी कारबाहीको विषयमा तीन महिना आफूले हेर्ने त्यसपछि समाधान हुने बताए । उनले भने, ‘ मेरो एजेण्डा देश विकास र समृद्धि हो । पार्टीको सुदृढिकरण हो । म जहिले पनि राजनीतिमा नै सक्रिय रहनेछु ।’
कांग्रेसको १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य रहेका उनले स्वतन्त्रबाट चितवन–३ मा उम्मेदवारी दिए पछि चितवनमा तरंग सिर्जना भएको थियो । उनी लगायतका असन्तुष्ट नेताहरुका कारणले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चितवनमा हार्ने सम्भावना देखेर गोरखातिर लागेका थिए ।
कोइरालाले उम्मेदवारी दर्ता दिएपछि आयोजना गरेको पत्रकार सम्मेलनमा भनेका थिए ‘अब राष्ट्रिय राजनीति पहिले जस्तो हुँदैन । अब राष्ट्रिय राजनीतिलाई केही गिरोहको हातमा छाड्न सकिँदैन । अब नेपाली कांग्रेसलाई भत्काउन दिइँदैन । अब सशक्त हस्तक्षेप गरिन्छ । यही हस्तक्षेपका लागि उम्मेदवारी हो ।’
सत्ता गठबन्धनले साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रका डा. भोजराज अधिकारीलाई अघि सारेको बेला कांग्रेस नेता कोइरालाले बागी उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेको तर्फबाट जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेको समेत उम्मेदवारी परे पनि एमालेले न्यौपानेको उम्मेदवारी फिर्ता लिएर कोइरालालाई समर्थन गरेको थियो । तर, कोइरालाले निर्वाचनमा स्वतन्त्रको प्रभाव र कांग्रेसको छिन्नभिन्न मतदाताको कारणले अपेक्षित मत ल्याउन सकेनन् । जेसीसको राष्ट्रिय अध्यक्ष भइसकेका कोइराला चितवनमा प्रभावशाली युवा नेताको रुपमा मानिन्छन् ।
























