Breaking News
चितवनमा व्यवसायी भन्छन्ः राज्यको नीतिले अर्थतन्त्र डामाडोल भयो

चितवन, मंसिर २६-
चितवनमा उद्योगी तथा व्यवसायीहरूले देशमा अर्थतन्त्र डामाडोल भएको बताएका छन् ।
आज सोमबार उद्योग वाणिज्य संघ चितवनको ५६ औँ वार्षिक साधारणसभामा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन् ।
देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू पनि डराउनुपर्ने अवस्थामा आइपुगेको नेपालउद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार विशेष गरी साना तथा मझौला उद्योगीव्यवसायी सबैभन्दा बढी मर्कामा परेका छन् । ‘सरकारले राष्ट्र बैँकलाई गरेको जस्तो संरक्षण निजी क्षेत्रलाई पनि गरिदिएको भए देशको अर्थतन्त्र यति कमजोर हुने थिएन,’ उनले भने, ‘तर, बैँक र बैँकर्सलाई मात्रै संरक्षण गर्दा देशको उत्पादनम ागिरावट आएको छ । यसले गर्दा अर्थतन्त्र डामाडोल भयो ।’ निजी क्षेत्रलाई लगानी गर्ने वातावरण नबनाएसम्म देशको अर्थतन्त्रमा सुधार नहुने उनले बताए । ‘अहिले लगानीकर्ताको निद हराम भएको छ,’ उनले भने, ‘राज्यकै संरक्षण नपाएपछि निजी क्षेत्रका लगानीकर्ता सुरक्षित हुने कुरै भएन ।’
महासंघका अर्का उपाध्यक्ष रामचन्द्र संघाईले निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सिर्जना गरेर देशभित्रै रोजगारी सिर्जना गर्न नसकेसम्म देशको अर्थतन्त्रमाथि उकासिन नसक्ने दाबी गरे । ‘युवाजति सबै विदेश पलायन हुने, नेपालमा लगान गर्दा लगानीकर्ता पनि डुब्ने भएपछि अर्थतन्त्रकमजोर नहुने कुरै भएन,’ उनले भने, ‘त्यसैले देशको अर्थतन्त्र बलियो बनाउनको लागि स्वदेशभित्रै रोजगारी सिर्जना गर्न राज्यले ध्यान दिनुपर्छ, त्यसको लागि निजी क्षेत्रलाई पनि राज्यले संरक्षण गर्नुपर्छ ।’
महासंघका कार्यकारिणी सदस्य एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष सहनलाल प्रधानले निजी क्षेत्रमाथि लगाइएको चर्को ब्याजका कारण निजी क्षेत्रमा लगानी गर्नेहरू हात धोएर बस्नुपर्ने अवस्था आएको बताए । केही दिनअघि वीरगञ्जमा भएको घटनालाई उदाहरणको रूपमा प्रस्तुत गर्दै पूर्वअध्यक्ष प्रधानले भने, ‘बैँकले लागू गरेको चर्को ब्याजदरकै कारण आज उद्योगी, व्यवसायी आत्महत्यासम्मको बाटो रोज्न बाध्य भएका छन् । यस्तो कुरा राज्यले बुझिदिनुपर्छ ।’
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले निजी क्षेत्रको लागि सरकारले गम्भीर भएर नसोचेसम्म देश विकासले फड्को मार्न नसक्ने दाबी गरे । ‘राज्यले देश विकासमा निजी क्षेत्रको भूमिका सबैभन्दा बलियो छ भन्ने कुरा बिर्सन हुँदैन,’ उनले भने, ‘किनकी निजी क्षेत्र नै हरेक विकास निर्माणमा राज्यको सहयात्री हो ।’ अहिले राज्यले ध्यान नदिँदा देशमा सञ्चालित करिब ४० देखि ४५ प्रतिशत उद्योगधन्दा बन्द भइसकेका उनले बताए ।
राष्ट्र बैंकले निजी क्षेत्रलाई चर्को ब्याजलगाएर व्यवसायबाटै पलायन हुने अवस्थाको सिर्जना गरेको भन्दै देशभरका उद्योगी, व्यवसायी केही समययता आन्दोलित छन् । यही क्रममा सोमबार भएको उद्योग वाणिज्य संघ चितवनको साधारणसभामा अध्यक्ष् ाचुननारायण श्रेष्ठले पुनः सरकारको ध्यानाकर्षण गराए । उनले राष्ट्र बैंकद्वारा लागू गरिएको चालू पुँजी मार्गदर्शन–२०७९ को व्यवस्थाले देशभरका उद्योगी, व्यवासायीमाथि प्रतिकूल असर परेको भन्दै त्यसलाई कम्तिमा पनि दुई वर्ष लागू गर्न नहुने बताए ।
‘राज्यकै कारण निजी क्षेत्रमा जटिलता थपिएको छ,’ उनले भने, ‘यसले निजी क्षेत्रलाई त घाटा छ नै, राज्य स्वयंलाई समेत क्षति भइरहेको कुरा बिर्सन हुँदैन ।’ सरकारी राजस्वले मुलकको साधारण खर्चसमेत धान्न नसक्ने गरी मुलुकको अर्थतन्त्र संकटउन्मुख हुँदै गएको हुँदा सरकारले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले निजी क्षेत्रको विकासका लागि तीनै तहको सरकारले सकारात्मक प्रयास थाल्नुपर्ने बताए । ‘निजी क्षेत्रलाई कमजोर पार्ने काम तीनै तहको सरकारबाट भएको छ । यसप्रति तीनै तहको सरकार सँच्चिएर जानुपर्छ,’ उनले भने । देशको अर्थतन्त्रलाई माथि उठाउनको लागि केही गर्न नसके पनि विदेशबाट आउने कच्चा पदार्थको आयात कम गर्न स्वदेशमै कच्चापदार्थको उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत महेन्द्रप्रसाद पौडेलले भने निजी क्षेत्रको हितकै लागि करको दरभन्दा पनि दायरा फराकिलो बनाएर काम गर्ने प्रयास गरिरहेको दाबी गरेका छन् । ‘हामीले महानगरबाट करको दायरा फराकिलो बनाउँदै लगेका छौँ,’ उनले भने, ‘करको दायरामा नआएका उद्योगीव्यवसायीलाई पनि समेट्ने प्रयास चलिरहेको छ ।’ विसं.२०१६ सालमा स्थापना भएको उद्योग वाणिज्य संघमा अहिले तीन हजार ७४१ सदस्य आबद्ध छन् ।

























