चितवन विशेष

सबैलाई समान शिक्षाका लागि गैँडाकोटका जनप्रतिनिधि प्रतिबद्ध

Banner

गैँडाकोट, मंसिर २४-

गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सबैका लागि समान शिक्षा दिन आफूहरु प्रतिबद्ध रहेको बताएका छन् ।

विश्व मानव अधिकार दिवसको अवसरमा शिक्षाका लागि राष्ट्रिय अभियान नवलपुरले गरेको ‘शिक्षामा मानवअधिकार, कार्यान्वयनमा स्थानीय सरकारको भूमिका’ अन्तरक्र्रिया कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् ।

सामुदायिक रेडियो विजय एफएम १०१.६ र मानवअधिकार तथा शान्ति समाज नवलपुरको संयोजन रहेको कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले गैँडाकोटमा सबैका लागि समान शिक्षा दिन आफूहरु प्रतिबद्ध रहेको बताए । नगरप्रमुख अधिकारीले नगरभित्रको गुणात्मक शिक्षा वृद्धिका लागि प्रारम्भिक बालकक्षाको शिक्षा सुधारका कार्यक्रम गरेको दाबी गरे । उनले भने, ‘ईसीडी कक्षाका शिक्षकका हौसला बृद्धि गर्न केन्द्र सरकारभन्दा स्थानीय तह अघि रहेको छ । शिक्षा क्षेत्रको विकासका लागि शिक्षकहरुको शिक्षणकला समयअनुसारको अपडेट हुन आवश्यक छ । आर्थिक अभावका कारण कुनै बालबालिका पढ्नबाट बञ्चित हुनु पर्देन ।’

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय पूर्वसचिव विश्व बास्तोलाले सबैका लागि गुणस्तर शिक्षा, सबैको पहुँचको शिक्षा प्रदान गर्नका लागि स्थानीय सरकार सक्षम रहेको बताए । संविधानले शिक्षालाई अनिवार्य र निःशुल्क व्यवस्था गरेकोले शिक्षालाई मानवअधिकारको कोणबाट बुझ्न जनप्रतिनिधिलाई सुझाव प्रदान गरे ।

गैँडाकोट वाड नं. ८ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटा, गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटा र गँैडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले गुणस्तरीय सर्वसुलभ शिक्षाका लागि प्रतिबद्धता व्यक्त गरेका छन् । राज्यको नीतिगत सुधार र स्थानीय सरकारको पहलले आवश्यकता अनुरुपको दरबन्दी मिलान गर्न सक्ने हो भने सबैका समान र गुणस्तर शिक्षा सम्भव रहेको उनीहरुको विचार छ ।

मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्वकेन्द्रीय सचिव श्यामसुन्दर पराजुलीले गुणस्तरयुक्त शिक्षाका लागि सबैको समान पहुँच स्थापितका लागि स्थानीय सरकारले नीतिगत सुधार गरेर अघिबढ्न सुझाव दिए । उनले विद्यालयका प्रधानाध्यापकहरु नसच्चिएसम्म गुणस्तरयुक्त शिक्षा दिवा सपना हुने विचार राखे ।

मानवअधिकार तथा शान्ति समाज नेपाल नवलपुर शाखाका अध्यक्ष भानुभक्त रिमालले शिक्षा मानवीय जीवनको महत्वपूर्ण पक्ष मात्र नभएर मानवअधिकारको महत्वपूर्ण पाटो भएको बताए । पालिकाभित्रका सबै बालबालिकाले शिक्षामा समान पहुँच प्राप्त गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको भन्दै स्थानीय सरकारले पहलकदमी चाल्न सुझाव प्रदान गरे ।

कार्यक्रममा गैँडाकोट नगरपालिका जनप्रतिनिधिहरु सुवास चापागाईं, ज्ञानप्रसाद खनाल, हरि पौडेल, जिवराज महत्तो, धनिराम थनेत, तेजबहादुर बोहरा, रत्नबहादुर बोहरा, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य माधवप्रसाद गौतम, नवलपुरका उपसभापति मुना धनञ्जय, सचिव कमल शर्मा, सहसचिव दयाप्रसाद रेग्मीलगायतको उपस्थिति रहेको थियो ।

शिक्षामा मानवअधिकार, कार्यान्वयनमा स्थानीय सरकारको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा लुम्बिनी प्लसका अध्यक्ष निर्मला शर्माले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम एसडीआरसीका अध्यक्ष तथा कार्यक्रमका संयोजक जनकलाल तिवारीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै तिवारीले कार्यक्रममा प्राप्त सुझावलाई सम्बन्धित निकायमा पु¥याउने र जनप्रतिनिधिहरुको प्रतिबद्धतालाई समयसमयमा सचेत गराउने काम एनसिइ नेपालले गर्ने धारणा राखे । तिवारीले एनसीई नवलपुरले शिक्षामा बजेट बढाउन जननिर्वाचित प्रतिनिधिलाई सुझाव पत्र प्रदान, महिला हिंसा न्यूनीकरणका लागि सचेतना, लैंगिक विभेद अन्त्यका लागि सचेतनामूल रेडियो कार्यक्रम जिल्लाले गरेको बताए । कार्यक्रमको सहजीकरण सामुदायिक रेडियो विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले गरेका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>