चितवन विशेष
भरतपुरमा लैङ्गिक हिंसा रोक्न विद्यालयका शिक्षकलाई अभिमुखीकरण

निरुता विक
चितवन, मंसिर २२-
भरतपुर महानगरपालिकाले लैङ्गिक हिंसा नियन्त्रणका लागि विद्यालयका शिक्षकलाई अभिमुखीकरण गरेको छ ।
लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियानको अवसरमा विद्यालयहरुमा लैङ्गिक हिंसाको अवस्था कस्तो छ भन्ने विषयमा जानकारी लिँदै बुधबार लैङ्गिक सम्र्पक शिक्षक अभिमुखीकरण कार्यक्रम गरेको हो । कार्यक्रममा हिंसासम्बन्धी विद्यालयमा कस्ता उजुरी परेका छन् र आगामी दिनहरुमा यस्ता घटना हुन नदिन के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।
विद्यालयहरुमा हुने विभिन्न प्रकारको हिंसाहरुमा परेका बालबालिकाहरुकोे गुनासो सुनुवाइ गर्ने त्यसलाई सम्बन्धित ठाउँमा जानकारी गराउने उद्देश्यले बिगत दुई वर्षदेखि भरतपुर महानगरपालिकाले हरेक सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा एकजना लैङ्गिक सम्र्पक शिक्षक नियुक्त गरेको छ । महानगरभित्र ११७ सामुदायिक विद्यालय र संस्थागत धार्मिक ९७ गरी २१४ वटा विद्यालय रहेका छन् ।
कार्यक्रममा भरतपुर महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत एवम् शैक्षिक प्रशासन महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले २०७७ सालबाट महानगरले प्रत्येक विद्यालयमा लैङ्गिक सम्पर्क शिक्षक मार्फत् लैङ्गिक हिंसाजन्य घटनाको निगरानी गर्ने गरेको बताए । उनले भने, ‘ लैङ्गिक हिंसाका घटनाहरुप्रति सजग गर्ने, खबरदारी गर्ने, अभिमुखीकरण गर्ने काम गरिरहेका छौं । विद्यालयमा छात्राहरुले आफूमाथि भएको हिंसाजन्य व्यवहारहरु सजिलै भन्नका लागि महिला शिक्षकलाई नै तोक्दा सहज हुने हुँदा प्रत्येक विद्यालयमा महिला लैंङ्गिक सम्पर्क शिक्षक नियुक्त गरेका छौं ।’
कार्यक्रममा सरोकारवालाहरुले कुन–कुन रुपमा विद्यालयमा हिंसा हुन सक्छन् र त्यस्ता सम्भावित हिंसाको बारेमा छलफल गर्ने, त्यस्ता घटनाको समाधानका लागि के गर्न सकिन्छ भनेर छलफल गरेका थिए । भरतपुर महानगरपालिकाकी स्वास्थ्य तथा सामाजिक विकास महाशाखा प्रमुख शान्ताकुमारी पौड्यालले महानगर भित्रका विद्यालयमा लैङ्गिक हिंसाको विषयमा पुरुषहरुलाई पनि साक्षात्कार गराउन महानगर लागिपरेको बताइन् । उनले स्वस्थ्य स्वयमसेविकासँग महिलाको प्रजनन् स्वास्थ्य र महिलाको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध गासिएको हँुदा महानगरले लैङ्गिक हिंसाविरुद्धको अभियान समुदायको तल्लो तहसम्म पु¥याउनको उनीहरुलाई चेतना प्रवद्र्धन गर्ने क्षमता विकास गरेको बताइन् । हिंसाबिरुद्ध लाग्न समुदायको तल्लो तहसम्म पु¥याउनको लागि सहरमुखी भन्दा पनि गाउँमुखी कार्यक्रमलाई महानगरले जोड दिएको उनको विचार थियो ।
विद्यालयहरुमा बालबालिकाहरुले आफू हिंसामा परेको कुरा अरु समक्ष भन्न डराउने, लजाउने भएकाले प्रत्येक विद्यालयहरुमासुझाव पेटिका स्थापना गरिएको छ । कार्यक्रममा महानगरपालिकाले गरेको यस कार्यक्रम प्रभावकारी भएको विभिन्न विद्यालयका शिक्षकको भनाइ रहेको छ । भरतपुर–१ नदी किनारमा रहेको राष्ट्रिय आधारभूत विद्यालयकी लैङ्गिक सम्पर्क शिक्षक कविता पराजुलीले बालबालिकाहरुले आफू हिंसामा परेको कुरा भन्न थालेको बताइन् । घरमा भएको हिंसा, बुबाआमाले कुटपिट गरेको शिक्षकसँग भन्न सक्ने भएको र छात्राछात्रले शिक्षक शिक्षिकासँग भन्न नसकेको कुरा सुझाव पेटिकामा राख्ने गरेको उनले बताइन् ।

भरतपुर–१६ आधारभूत विद्यालयकी शोभा अधिकारीले लैङ्गिक हिंसा घरबाट नै भएको बताइन् । उनीहरुको अनुसार धेरै जसो पिछडिएका वर्गहरु लैङ्गिक हिंसामा परेका छन् । जस्तै आमाले दोस्रो विवाह गरे पश्चात बुबा, दाजुभाईबाट हिंसामा परेका छन् । यस्ता घटनाहरु विद्यार्थीहरुले शिक्षकसँग भन्ने गर्छन् । यस प्रकारको घटना मात्र नभई विद्यार्थीबीच हुने झगडाको बारेमा पनि विद्यार्थीले सुझाव पेटिकामा लेखेर राख्ने गर्छन् । विद्यालयले प्रत्येक हप्तामा सुझाव पेटिका खोल्ने र घटनाको प्रकृति हेरेर स्कुलमा नै सम्बोधन हुन्छ भने स्कुलमानै सम्बोधन गर्ने गरेको छ । परिवार नै बोलाउनु प¥यो भने पनि बोलाउने अथवा अदालत नै जानु परे पनि जाने, बालबालिकालाई न्याय दिने र उनीहरुको नाम गोप्य राख्ने गरेको छलफलमा सहभागी शिक्षकहरुले बताए । विद्यालयमा भएको घटना सुनाउदै शोभाले भनिन् ‘आज भन्दा ५ वर्ष अगाडिको कुरा हो । अर्काको घरमा बस्दै आएकी एउटा १४ वर्षकी बालिका जहाँ उनलाई पाल्दै गरेको बुबाले यौन हिंसा गरेका थिए । उनले विद्यालयमा आफ्नो महिला शिक्षकलाई सुनाइन् र विद्यालयले घटनाको प्रकृति हेरेर अदालतसम्म पु¥याएर त्यो बालिकालाई न्याय दिन सफल भएको बताइन् । उनले ती बालिकालाई त्यो घरबाट निकालेर आमाको घर संस्थामा हस्तान्तरण गरिएको जानकारी दिइन् ।
भरतपुर–१० इडेन गार्डेन अंग्रेजी माध्यमिक विद्यालयकी महिला शिक्षक कमला भुसालले विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध तालिम दिएर बालबालिकाहरुलाई लैङ्गिक हिंसाबाट कसरी सुरक्षित हुन सकिन्छ भनेर सिकाउन सकिने बताइन् । उनले भनिन्, ‘ बालिकाहरुले आफू हिंसामा परेको छ भने पनि शिक्षकलाई खुलेर भन्ने भनेर सिकाइ सके पश्चात बालबालिकाले शिक्षकसँग आएर भन्ने गरेको र सुझाव पेटिकामा लेखेर राख्ने गरेका छन् ।’ यो कार्यक्रम धेरै प्रभावकारी भएको उनको भनाइ छ ।
























