Breaking News

सांसद रवि लामिछानेलाई टेरेन निर्माण कम्पनीले, भरतपुरको धर्मचोक सडक अझै अलपत्र

Banner

प्रतिमा कुमाल

चितवन, मंसिर २१–

नारायणगढको शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक हुँदै कचपचे चोकसम्मपुग्ने सडक निर्माण कम्पनीले १५ दिनमा पूरा गर्ने बाचा गरे पनि अझै अलपत्र परेको छ ।

निर्माण सुरु भएको पाँच वर्षमा पनि नसकिएको यो सडक स्थानीय चुनावदेखि प्रतिनिधि र प्रदेश निर्वाचनको एजेण्डा बने पनि अझै निर्माणले पूर्णता पाउन नसकेको हो ।

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले चुनाव जितेको १५ दिन भित्र सडकको काम सकिने भन्दै भोट मागेको यहाँका स्थानीयले बिर्सिएका छैनन् । साथै, चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा भारी मतान्तरले विजयी भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछानेले अनुगमनको क्रममा भनेका कुरा पनि स्थानीयको मन मस्तिष्कमा ताजै छ । तर, कामले कुनै गति नलिएको स्थानीय ईन्द्रकला भट्टराई बताउँछिन् ।

‘मेयर रेनु दाहालले बाटो बनाइ दिन्छौं भन्दै भोट माग्नुभयो । हामीले जितायौं । दोस्रो पटक मेयर बनेको सात महिना लागिसक्यो । बाटोनै बनेको छैन’ उनले भनिन्, रवि जी पनि बाटोको अनुगमनको लागि आउनु भयो । सबैको अगाडि १५ दिनमा काम सक्न ठेक्केदारलाई निर्देशन दिनुभयो । १० दिन गैसक्यो कुनै काम भएको छैन ।’ सांसद लामिछानेको आदेशपछि दैनिक धूलाम्य सडकमा पानी छर्ने काम भने दैनिक भएको भट्टराईको भनाइ थियो ।

करिब तीन हजार १०० मिटरको यस बाटोको सम्झौता २०७५ साल वैशाख २६ गते भएको थियो । सघन शहरी तथा भवन निर्माण आयोजना चितवनले रमण शिव शक्ति जेभीसँग यसको सम्झौंता गरेको थियो । सम्झौता अनुसार २०७७ असार मसान्तसम्म निर्माण सक्नुपर्ने भए पनि २०७९ साल मंसिर २१ गते जादा पनि निर्माण पूरा हुन सकेको छैन ।

के भन्छन् स्थानीय ?

राज्य गैरजिम्मेवार हुँदा ठेकेदारले समयमै काम नगरेको स्थानीय भोजनारायण कँडेलको बुझाइ छ । ‘मुख्य कुरा राज्य जिम्मेवार हुनुप¥यो । ठेकेदारहरुलाई पकड र नियन्त्रणमा राख्नुपर्छ । दुई वर्षमा सम्पन्न गर्ने भनेर जिम्मा लिएको ठेकेदारले ५ वर्ष भइसक्यो, अब ५०० मिटर बाटो बाँकी छ त्यही पनि डेढ वर्ष देखि जस्ताको त्यस्तै छ । दुई महिना भयो दिनमा दुई टिप गिटी झार्छ । यसरी कहिले सकिन्छ,’ उनले भने ।

राज्य जवाफदेही नहँुदा जनप्रतिनिधिलाई समेत ठेकदारले नटेरेको कँडेलले गुनासो गरे । उनले भने, ‘नवनिर्वाचित मेयरदेखि सांसदले ठेकेदारलाई यही धर्मचोकको चौतारीमा उभ्याएर १५ दिन भित्र काम सम्पन्न गर्छु भनेर कबुल गराएको हो । ठेकदारले आधा बाटोसम्म पनि बेसका लागि गिटी राम्रोसँग झारेको छैन ।’

ठेकदार कम्पनीलाई दबाब दिनका लागि यहाँका स्थानीय सरोकारवाला निकायमा नधाएका भने होइनन् । वडा कार्यालय तालाबन्दी, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, सघन शहरी तथा भवन निर्माण आयोजना चितवन लगायतमा पटक–पटक गुहार लगाई सकेका छन् । तर, यसको कुनै प्रभाव सडकको काममा नदेखिएको कँडेलले बताए ।

भानु सापकोटाले जनप्रतिनिधिको अनुगमन र निर्देशन देखावटी मात्रै रहेको धारणा राखे । ‘रवि आएको दुई दिनसम्म चार टिप गिटी झ¥यो त्यसपछिको स्थिति त्यस्तै छ । मेयरले धर्मचोक सडक भन्दै जितेर जानु भयो फर्केर आउनु भएन । ठेकेदारको तल्लो निकाय देखि माथिल्लो निकायसम्म पहुँच छ । उसलाई केको डर,’ उनको भनाइ थियो ।

नागरिकलाई सास्ती

वर्षामा हिलाम्य र हिउँदमा धूलाम्य सडकले यहाँका स्थानीय बासिन्दाको दैनिकी सकसपूर्ण छ । स्वास्थ्यमा असर पारिरहेको छ । त्यस माथि खुल्ला ढलका कारण अभिभावकलाई त्रसित बनाएको स्थानीय बिन्दा अर्यालले गुनासो गरिन् । ‘६ देखि ७ फिट गहिरो ढल बनाइएको छ । त्यसलाई छोप्ने काम भएको छैन् । बच्चाहरु ढलमा पर्छन् भन्ने डर छ,’ उनले भनिन् ।

यसबाटोमा खनिएका नालीमा परेर अहिलेसम्म दुई जनाको मृत्यु समेत भइसकेको छ । लडेर घाइते हुनेको संख्या नगन्य रहेको स्थानीय ईश्वरीप्रसाद कँडेल बताउँछन् । भरतपुर महानगरपालिकाको पूर्वलेखा प्रमुख समेत रहिसकेका कँडेलले योजना गलत कम्पनीसँग भएको दाबी गरे । उनले भने, ‘म भरतपुर नगरपालिका हुँदाको पूर्वलेखा प्रमुख हो । अनुभव भएकाले म भन्न सक्छु यस प्रकारको योजना हुदैनन् ।’

व्यवसाय घाटामा

यस सडकको कारण यहाँको व्यवसायीले पनि घाटा बेहोर्दै आएका छन् । ‘सडक नबन्दा चहलपहल शून्य जस्तै छ । व्यापार घाटामा छ । खान लगाउन समेत धौंधौ भइसक्यो । धेरै व्यवसायीहरु यहाँबाट बिस्थापित पनि भइसके । रविले जिते पछि केही गर्नु हुन्छ कि भन्ने आशा लागेको थियो । खै उहाँलाई पनि टेर्न छोडनु भयो कि भन्ने लागेको छ,’ कपडा व्यवसायी राम प्रसादले दुखेसो पोखे ।

भरतपुर महानगरपालिका वडा नं. ४ का नवनिर्वाचित वडाध्यक्ष अर्पण पोख्रेलले निर्माण कम्पनीले काम नगर्नुको जड थाहा पाउन नसकेको बताए । ‘सडक ४ नम्बर वडामा परे पनि हाम्रो क्षेत्र अधिकार भित्र पर्दैन । स्थानीय हामीलाई दोष दिन्छन् । हाम्रो बलभुताले सक्ने पहल निरन्तर गरिरहेका छौं । कुन कारणले काम हुनसकेन अहिलेसम्म मुल जड थाहा पाउन सकेनौं,’ उनले भने ।

यता बाँकी रहेको ५०० मिटर सडक निर्माण गर्न ठेकेदार कम्पनी आनाकानी गरिरहेको छ । निर्माण ठेक्का पाएको रमण शिव शक्ति जेभीका परियोजना प्रबन्धक रञ्जन ठाकुरले प्रचण्ड मार्गका कारण धर्मचोकको काम रोकिएको बताए । ‘भरतपुर–२१ पार्वतीपुरमा प्रचण्ड मार्ग बन्दै छ । सबै निर्माण सामाग्री उतै छ । ५०० मिटर बाटो बनाउनका लागि सामाग्री दैखिन प्रचण्ड मार्गदेखि धर्मचोक र धर्मचोक देखि प्रचण्ड मार्ग ढुवानी गर्दा खर्च बढी हुन्छ । त्यसैले काम रोकिएको हो,’ उनको भनाइ थियो ।

सडक निर्माण कम्पनीका प्रबन्धक ठाकुरले अबको एक हप्ता भित्र बाँकी रहेको बैकुण्ठचोकदेखि धर्मचोकसम्मको काम सकिने नारायणी अनलाइनसँग दाबी गरे । यसअघि उनले बाँकी काम कात्तिक २५ गतेसम्म सक्ने दाबी गरेका थिए । उनले नाला र सबबेसको काम सकिएकोले नाला चेकजाँच गर्ने काम बाँकी रहेको भन्दै २५ कात्तिकसम्ममा सबै काम सकिने दाबी गर्दै आएका थिए । यद्यपि रमण शिवशक्ति जेभीले नेपाल सरकारबाट २०७९ साल चैत २५ गतेसम्मको म्याद पाएको छ । धेरै समय लागिसकेकाले अब चैत कुर्न नपर्ने ठाकुरको भनाइ थियो ।

ठेकेदारको तीन काम अलपत्र

सघन शहरी तथा भवन निर्माण आयोजना चितवन प्रमुख प्रकाश अर्यालले रमण शिव शक्ति जेभीले लिएको तीन वटै परियोजना अलपत्र रहेको बताए । उनले भने, ‘जेभीले धर्मचोकको सडक, प्रचण्ड मार्ग र सोही अन्तरगतको महेन्द्र चोक सडकको जिम्मा एकै चोटी पाएको हो । कुनै पनि काम सकेको छैन् ।’

अब एक महिनामा काम नसके ठेकेदारलाई कारबाही गर्ने चेतावनी समेत दिएको अर्यालले जानकारी दिए । ‘जेभीको कामको गति देखेर ठेक्का फिर्ता गर्ने तयारीमा हामी थियौं । कोरोना महामारी, मूल्यबृद्धि जस्ता कारणले आउदो चैतसम्मको म्याद सरकारले दियो । तर, अबको एक माहिना भित्र काम सक्न हामीले निर्देशन दिएका छौं । ठेकेदारले मौखिक रुपमा स्वीकारेका छन् । अब पनि काम नसके कारबाहीमा जाने तयारीमा छौं, उनले भने ।

१० मिटर चौडाइको यस बाटो निमार्णको लागि सडकको दुवै तर्फ ६ देखि ७ फिट गहिरो ढल खनिएको छ । यो सघन शहरी विकास कार्यक्रमअन्तर्गत कालोपत्रे सडक तथा ढल निर्माण कार्य प्याकेज नं. २ अन्तर्गतको सात योजनामध्ये एक रहेको छ । जसकालागि सरकारले ९९ करोड, ९७ लाख, चार हजार ९०९ दशमलब ५२ रुपैँयाँ कुल लागत रकम अनुमान गरेको थियो । भ्याटसहित ६८ करोड, २३ लाख, १५ हजार ८२४ दशमलब १६ रुपैयाँमा सम्झौता भएको थियो । शहिदचोकदेखि बैकुण्ठचोक, धर्मचोक र कचपचे चोकसम्मको १० मिटर चौडाइको यस बाटोको ठेक्का रकम भने ७१ करोड ३८ लाख ३५ हजार ५७४ रुपैयाँ रहेको छ । अहिलेसम्म ठेक्का रकम मध्ये ७२ प्रतिशत रकम भुक्तानी भइसकेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>