Breaking News

पितृसत्ताभित्र पीडित पुरुष

Banner

प्रतिमा कुमाल
चितवन, मंसिर २०-

नेपाली समाजलाई पितृसत्तात्मक समाज भनेर परिभाषित गर्ने गरिए पनि यहाँ पीडित पुरुषको सङ्ख्या कम छैन । सामाजिक सञ्जालको दुरुपयोग र वैदेशिक रोजगारमा जानुपर्ने बाध्यताले पुरुषलाई अझै पीडित बनाएको छ । यस्तोमा उनीहरुको पीडा सुनिदिने निकाय समेत कम छन् ।

उसो त पुरुष पीडित भएर पनि न्याय माग्न हिचकिचाउने गर्दछन् । न्याय माग्न पुगे पनि पहिला पुरुषभाथि नै औँला उठ्छ । भरतपुर महानगरपालिका वडा नं.४ का एक पुरुष पीडित भएको भन्दै दैनिक जसो जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । आफ्नै श्रीमतीबाट हिंसामा परेका उनी ‘घर न घाट’को अवस्थामा छन् भने मानसिक तनावले उनलाई भित्रभित्रै सताइरहेको छ ।

उनले भने, ‘आमाको कारण विदेशमा रहेका मेरो छोराहरु आत्महत्या गर्छुसम्म भन्छन् । न्याय माग्न आएको ठाउँमा पनि मलाई नै दोषी जसरी कुरा गर्छन् । मलाई कति पीडा छ कस्लाई बुझाउँ ।’ श्रीमतीले धनसम्पत्ति हिनामिना गरेको मुद्दा उनले जिल्ला प्रहरी कार्यालय चितवनमा दायर गरेका छन् । विक २३ वर्ष वैदेशिक रोजगारमा थिए । यस अवधिमा आर्जेको पैसा लगानी गर्ने भन्दै बैंक खाता हेर्दा एक हजार रुपैयाँ मात्र पाएको उनले बताए ।

कमाएको रकम श्रीमतीसँग खोज्दा घरमा झैझगडा हुन सुरु भएको उनको भनाइ छ । ‘श्रीमान् श्रीमतीमा हिसाबकिताब हुन्छ । यति सुन जोडेँ, यो गरेँ, त्यो गरेँ, भनेर भनिरहँदा विदेशबाट म आएपछि कमाएर जोडेको केहि नदेखेपछि सोधनु प¥यो । यहिँबाट विवाद भयो । श्रीमतीले कुटपिट पनि गरिन्’ उनले भने ।

योसँगै ती पुरुषलाई साहुको ऋणले पनि सताउने गरेको छ । श्रीमतीले लिएको ऋणले उनको रातमा निद्रा र दिनमा शान्ति छैन । उनी भन्छन्, ‘साथीभाइको सुन मागेर लगाएको रैछ । ल्याएपछि फिर्ता पनि गरेको छैन रैछ । सुन पसलबाट पनि उधारो लिएकी रैछिन् । अन्य ऋण त कति हो कति । साहु दैलोमा आइरहन्छन् ।’

समाजमा इज्जत जान्छ भन्ने डरले उनले यी कुरा आफैमा गुम्साएर राखेका थिए । यस तनावका कारण ती पुरुष कुरीतिमा समेत विश्वास गर्न थालेको बताउँछन् । ‘यस्तो माया गर्ने श्रीमती छोडेर गएको, आउँदा कुटपिट गर्ने, दिनकै झगडा गर्ने, कमाए अनुसार हुनुपर्ने धनसम्पत्ति नहुँदा धेरै ठाउँमा झार फुक गरेँ । माताहरुलाई देखाएँ,’ उनले भने । सहनै नसकेपछि प्रहरीमा गुहार माग्न आएको उनी बताउँछन् । दुई सन्तान जापानमा छन् ।

घरको अवस्थाले उनका छोराहरुले कुनै नराम्रो कदम उठाउँछन् कि भन्ने उनलाई डर लागिरहन्छ । उनले आफ्ना पीडाहरु जिल्ला प्रहरी कार्यालय चितवनले आयोजना गरेको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको क्रममा खुलासा गरेका हुन् । यस्तै पीडा अर्का पुरुषको पनि छ । उनलाई आफ्नै श्रीमतीले आफू पनि मर्ने र छोराछोरीलाई पनि मार्ने धम्की दिरहन्छन् । आफू वैदेशिक रोजगारमा जान लागेको भएपनि श्रीमतीको यस्तै धम्कीका कारण नगएको बताउँछन् । उनले भने, ‘विदेश जा भन्दै छोराछोरी कै अगाडि मुखमा आएजति गालिगलोच गर्नुहुन्छ । नगए आफू पनि मर्ने र छोरा छोरीलाई पनि मारीदिने धम्कीसम्म सहेर बसेको छु ।’

उनी वैदेशिक रोजगारमा नगएका भने होइनन् । उनले बिहे गरेको १४ वर्ष भयो त्यतिनै वर्ष उनले खाडी मुलुकमा पसिना बगाएका छन् । यस क्रममा घर आउने जाने गरिरहेका उनले स्वदेशमै बस्ने निर्णय गरेपछि परिवारमा अशान्ति मच्चिएको हो । घरमा बस्ने निर्णय पनि आफ्नो खुसीले नलिएको उनी बताउँछन् । श्रीमती घरमै नबस्ने थाहा पाएपछि डेढ वर्ष अघि स्वदेश फर्किएको ती पुरुषले बताए ।
‘यो बीचमा घरमा श्रीमती नबस्ने कहिले काठमाडौँ कहिले कहाँ बस्ने थाहा पाएँ । घर नबिग्रियोस भनेर फर्किएको थिए’ उनले भने । सिलाई बुनाईमा माहिर उनी श्रीमतीलाई पनि सीप सिकाएर व्यवसाय गर्ने विचारमा थिए । तर, श्रीमान् श्रीमतीबीच समझदारी नहुँदा उनीहरु सम्बन्ध विच्छेदको गोरेटोमा छन् । विवाद उत्पन्न हुनुमा उनी समाजिक सञ्जाललाई मुख्य कारण मान्छन् । ‘१५–२० सकेन्डको भिडियोमा विभिन्न लाको खाको देख्छन् । सोहि अनुसारको आशा श्रीमान्सँग गर्छन् । सेकेन्डडै पिच्छेको अपेक्षा पूरा गर्न सक्दिनँ’, उनले भने ।

श्रीमतीले नकारात्मक देखासिकी गर्न खोज्दा नै आफ्नो सम्बन्धमा खटपट आएको उनले दुख पोखे । उनको माडी बजारमा घर छ । असमझदारीका कारण उनी माडीमा बस्छन् भने श्रीमती भरतपुरमा डेरागरि बस्दै आएको उनले बताए । एक छोरा एक छोरीको सानो खुसी र सुखी परिवारको अभिभावक सुनार अहिले आफूजस्तो दुखि कोहि नरहेको ठान्छन् ।

श्रीमतीबाट पीडित भएका उनीहरुमात्र होइन । यी प्रतिनिधिपात्र जस्तै धेरै पात्रहरु रहेका छन् । जसमा भरतपुर–११ का युवा पनि छन् । श्रीमतीले उजुरी दिएपछि प्रहरी कार्यलयमा उनको दैनिका आवत जावत भैरहन्छ । फोनमा धेरै बेर नबोल भन्नुले नै उनको प्रहरी कार्यालयसम्मको यात्रा तय गरिदियो । उनले भने, ‘२४ सै घण्टा फोनमा झुण्डिनु कुनै पनि श्रीमान् वा श्रीमतीलाई राम्रो लाग्दैन । आफ्नो जिम्मेवारी पनि बहन गर्नु प¥यो । मैले धेरै फोनमा नबोल मात्र भनेको थिएँ श्रीमतीले प्रहरीमा मुद्दा हालिछन् ।’

उनी सन् २०१० मा खाडी मुलुक पुगेका थिए । सन् २०२१ बाट स्वदेशमै केही गरौँ भन्ने सोचले उनी घर फर्किएका थिए । आफ्नी श्रीमती आवश्यकता भन्दा बढी फोनमा बोल्न थालेपछि सम्झाउने प्रयास गरेको उनले बताए । अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले मादक पदार्थ, वैदेशिक रोजगार र सामाजिक सञ्जालले धेरैको परिवार तहसनहस पारेको बताए ।

पण्डितले भने, ‘सामाजिक सञ्जालले गर्दा पहुँच धेरै भयो । आफ्नो आम्दानी भन्दा अर्काले के लगाएको छ के खाको छ, फलानेले के ग¥यो म नि गर्छु भन्नेमा मान्छे पुगेका छन् । श्रीमान्ले पु¥याउन सक्दैन । त्यसपछि विवाद अनि सम्बन्ध विच्छेद ।’ यी विषयलाई सम्बन्ध विच्छेदको बाटोमा लग्नु भन्दा पहिला परामर्श दिएर मिलाउने प्रयास प्रहरीको पहिलो कदम रहेको उनको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>