Breaking News

भरतपुरको विकासमा मेयर दाहालको सक्रियता बढ्यो, नारायणी तटबन्धको काम अनुगमन

Banner

चितवन, मंसिर १८-

भरतपुरमा नवनिर्वाचित सांसद र मेयरले विकासको काममा जुट्न प्रतिस्पर्धा गर्न थालेका छन् ।

नवनिर्वाचित संघीय सांसद रवि लामिछाने, विक्रम पाण्डे र प्रदेश सांसद उत्तम जोशी एक्सनमा उत्रिन थालेसँगै मेयर रेनु दाहालले पनि विकासको काममा चासो र सक्रियता बढाएकी हुन् ।

आज सोमबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल पनि केही पत्रकारहरुसहितको जम्बो टोली बोकेर नारायणी तटबन्ध आयोजनको अनुगमन तथा निरीक्षणमा गएकी छन् । निरीक्षणका क्रममा मेयर दाहालले तटबन्धनको कार्य प्रगतिको बारे जानकारी लिएकी छन् । तटबन्धनका लागि अहिले केही स्थानमा बिग बोल्डर (ठूलो चट्टान) झार्ने कार्य भइरहेको छ । भने क्याम्पहरु निर्माण पनि भइरहेको छ । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी शंकर बुढाथोकीले अहिलेसम्म तीन प्रतिशत काम पूरा भइसकेको जानकारी दिए । अबको केही समयपछि आखाँले देखिने गरी तटबन्धनले आकार लिने छ ।

अनुगमनपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै भरतपुर महानगरपालिका प्रमुख दाहालले महानगरपालिका धेरै वटा आयोजना सञ्चालन हुँदै आए पनि नारायणी नदीको तटबन्धनको कामलाई प्राथमिकतामा राखेको उल्लेख गरिन् । नारायणी र राप्ती नदीको तटबन्धन गर्न सकेमात्र भरतपुरको दिगो विकास हुने भएकाले यो आयोजनालाई प्राथमिकतामा रहेको उनको भनाइ थियो । तटबन्धनको काम गर्ने क्रममा सहजीकरण गर्न महानगरपालिका कुनै पनि समयमा तयार रहेको उनले बताइन् ।

हिउँद लागेसँगै नारायणी नदीको निर्माण गर्ने काम सुरु भएको हो । नारायणी नदी तटबन्धको लागि संघीय सरकार उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट करिब पाँच अर्ब बजेट विनियोजन भई ४ वटा प्याकेजमा ठेक्का सम्झौता भइसकेको छ भने एउटा प्याकेजको बोलपत्र आह्वान भइसकेको छ । ठेक्का सम्झौता भएको चार वटा प्याकेजमा धमाधम काम सुरु भएसँगै यो कामले गति लिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर शंकर बुढाथोकीका अनुसार रामघाटदेखि शिवघाट हुँदै काभ्रेघाटसम्म करिब ५ किलोमिटर एक अर्ब १५ करोडको ठेक्का सम्झौता भएको छ ।

दोस्रो प्याकेज ५ किलोमिटरकै गाजीपुरदेखि हिरापुरसम्म ४८ करोड रुपैयाँको ठेक्का सम्झौता भएको छ । सिसैदेखि बलुवासम्म करिब पाँच किलोमिटर र ३७ करोडको ठेक्का सम्झौता भएको छ ।

बलुवादेखि गोलाघाटसम्म २६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको छ । पाचौँ प्याकेज नारायणी सिबिचको काम पुलदेखि करिब एक किलोमिटर अगाडि बोलपत्रको काम भई अहिले मूल्याङकनको क्रममा छ । यो प्याकेजको लागत अनुमान २० करोड रहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>