Breaking News
चितवनका उद्योगी व्यवसायी भन्छन्ः यस्तै अवस्था रहे पौष मसान्तमा कुनै पनि कर बुझाउन सक्दैनौं

चितवन, मंसिर १८–
चितवनका उद्योगी व्यवसायीहरुले आगामि पौष मसान्तको कर बुझाउन नसक्ने चेतावनी दिएका छन् ।
तरलता व्यवस्थापन, व्याजदर एक अंकमा सिमित गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरुको आयात खुकुलो बनाउन माग गर्दै चितवनका उद्योगी व्यवसायीहरु आन्दोलित भएका छन् । उद्योगीहरुले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै आफूहरुको माग संवोधन नगरे पौष मसान्तमा कुनै पनि कर बुझाउन नसक्ने र चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने चेतावनी समेत दिएका हुन् ।
चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कंडेलले भने–‘हामीले पटक–पटक मागहरु राख्दै आएका छौं, तर माग सम्बोधन हुनुको साटो आर्थिक अवस्था झन जटिल बन्दै गइरहेको छ, यस्तै अवस्था रहे हामी पौष मसान्तमा कुनै पनि कर बुझाउन नसक्ने चेतावनी दिन चाहन्छौं ।’ अध्यक्ष कंडेलले अर्थतन्त्रलाई दिगो बनाउन औद्योगिक लगानीमा वृद्धि गरी औद्योगिक उत्पादकत्व समेत वृद्धि गर्नुपर्ने अवस्थामा बढ्दो व्याजदर, नगद प्रवाहमा परेको असर र मागमा देखिएको संकुचनका कारण उद्योगीहरुमा निराशा पैदा भएको भन्दै तत्काल समस्या समाधान गर्न राष्ट्र बैंकसंग माग गरे ।
उनीहरुले पौष मसान्तसम्मको व्याजलाई पुँजीकरण गर्न तथा पुर्नकर्जाको सुविधालाई निरन्तरता दिन, चालूपूँजी कर्जा सम्बन्धि मार्गदर्शनलाई २ वर्षपछि मात्र कार्यान्वयनमा लैजान, पूर्वाधार निर्माण अन्तरगत भएका खर्चहरुको कार्यको भौतिक प्रगति देखिए लगत्तै तत्काल भुक्तानीको व्यवस्था गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन नियन्त्रित वस्तुहरुको आयात खुकुलो बनाउन राष्ट्र बैंकहरुसंग माग गरेका छन् । पछिल्लो समय खस्कदो आर्थिक अवस्थाका कारण चितवनका धेरैजसो उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन् ।
संघका निवर्तमान अध्यक्ष राजु पौडेलले श्रीलंका जस्तो आर्थिक अवस्था अहिले नरहे पनि यस्तै अवस्था रहे सबैको अवस्था दयनीय हुने बताए । उनले चितवनका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेको भन्दै संघले दिएका सुझाव, सल्लाह र मागलाई बेलैमा सम्बोधन गर्न आग्रह गरे । उनले वर्तमान नेपालको आर्थिक अवस्था र चितवनका उद्योगी व्यवसायीहरुको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।


























