चितवन विशेष
भरतपुर–४ को राधाकृष्ण मन्दिरमा १३० जनाको आँखा परीक्षण

चितवन, मंसिर १८–
भरतपुर महानगरपालिका–४ को राधाकृष्ण मन्दिरमा शनिबार गरिएको आँखा शिविरमा १३० जनाले आँखा परीक्षण गरेका छन् ।
आनन्द कृषि सहकारी संस्थाले शेयर सदस्यहरुलाई निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरेको हो ।
नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १३० जनाको आँखा परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३ जनामा मोतिया बिन्दु भएको पाइएको प्राविधिकहरुले जानकारी दिएका छन् । उनीहरुको भरतपुर आँखा अस्पतालमा निःशुल्क अप्रेसन हुने संस्थाका अध्यक्ष शोभाप्रसाद आचार्यले जानकारी दिए ।
भरतपुर महानगरपालिका–४ स्थित राधाकृष्ण मन्दिर परिसरमा सम्पन्न निःशुल्क आँखा शिविर कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शोभाप्रसाद आचार्यले गरेका थिए । सहकारीले समयसमयमा आफ्ना शेयर सदस्यहरुका लागि विभिन्न स्वास्थ्य शिविरहरु गर्दै आइरहेको छ । सहकारीको स्थापना विसं २०६८ सालमा भएको हो ।
























