Breaking News

चितवनका सांसद थपलिया बाग्मती प्रदेशमा एमाले संसदीय दलको नेता बन्ने सम्भावना

Banner

चितवन, मंसिर १७-

चितवनका सांसद जेएन थपलिया वाग्मती प्रदेशको एमाले संसदीय दलको नेता बन्ने प्रबल सम्भावना छ ।

प्रदेश सभामा एमालेबाट निर्वाचित १२ सांसदमध्ये थपलिया सबैभन्दा पाका र अनुभवी नेता भएकोले उनको सम्भावना बढेको हो । प्रदेशसभामा प्रत्यक्षमा विजयी भएका सिनियर नेतालाई संसदीय दलको नेता बनाउने पार्टीले जनाउँदै आएको छ । नयाँ समिकरण बन्न नसकेको अवस्थामा प्रत्यक्ष र समानुपातिकमा पाएको मतले एमाले प्रमुख प्रतिपक्षको भूमिकामा रहने स्पष्ट देखिएको छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा एमाले बाग्मती प्रदेश कमिटीका पूर्वअध्यक्ष आनन्द पोखरेलले बाग्मतीमा एमाले बलियो प्रतिपक्षको भूमिकामा रहने बताए । उनले भने, ‘ ‘हामी विरुद्ध गठबन्धन भएर उठेका राजनीतिक दलहरूले यो प्रदेशमा बहुमत ल्याइसकेका छन्, तसर्थ हामीले सरकार गठनबारे सोच निर्माण गरेका छैनौँ, बहुमत प्राप्त दल या गठबन्धनलाई सरकार निर्माण गर्न दिएर हामीहरू ‘स्ट्रोङ अपोजिसन’ मा रहन्छौँ ।’ उनले प्रत्यक्षमा विजयी भएका नेताहरुमध्ये चितवनबाट विजयी भएका जगन्नाथ थपलिया सबैभन्दा सिनियर रहेकोको उहाँ नै नेता हुने पनि संभावना रहेको बताए ।

को हुन् थपलिया ?

चितवन–१ (१) बाट प्रदेश सांसद बनेका एमालेका जगन्नाथ थपलिया २०३६ सालको विद्यार्थी आन्दोलनबाट कम्युनिस्ट राजनीतिमा होमिएका हुन् । २०१४ साल भदौमा जन्मेका उनी अनेरास्ववियुको केन्द्रीय सचिव बन्दै २०३६ र २०३८ सालमा काठमाडौं मीनभवन क्याम्पसको स्ववियु सभापतिसमेत भए । जनमतसंग्रहपछि तत्कालीन मालेको पार्टी सदस्यता लिएका थपलिया २०६७ सालमा एमाले चितवनको अध्यक्ष थिए ।
राजनीतिमा वैचारिक र स्पष्ट दृष्टिकोण राख्ने नेताका रुपमा परिचय बनाएका थपलिया राजनीति मात्रै नभइ शैक्षिक व्यक्तित्व पनि हुन् । उनी भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसको प्रमुखसमेत भए ।

राजनीतिमा लामो अनुभव भए पनि थपलिया संसदीय क्षेत्रमा अहिलेसम्म उम्मेदवारसमेत भएका थिएनन् । जबकि उनी २०५४ सालमा तत्कालीन जिविस उपसभापति भएका थिए । चितवन–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने आकांक्षा राखेका थपलिया एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे उम्मेदवार बने पछि प्रदेशसभामा निर्वाचन लडेर विजयी भएका हुन् ।

प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख राजनीतिक सल्लाहकार भइसकेका थपलिया प्रदेशसभा प्रभावकारी बनाउने विषयमा आफ्नो अनुभव खर्च गर्ने बताउँदै आएका छन् । विजयी भएपछि आयोजित धन्यवाद कार्यक्रममा उनले भने, ‘जनताहरूले संघीयता र प्रदेशसभाका विषयमा प्रश्न गर्न थालेका छन् । समस्या होलान्, सुधार गर्नु आवश्यक छ । के सुधार गर्ने, कसरी जाने भन्नेमा म आफ्नो राजनीतिक अनुभवका आधारमा भूमिका खेल्नेछु ।’ बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने लक्ष्यसहित चितवन–२ ‘ख’ बाट निर्वाचन लडेका एमालेका पोलिटव्युरो सदस्य देवी ज्ञवाली पराजित भएसँगै थपलियालाई संसदीय दलको नेता बन्ने अवसर आएको हो । बाग्मती प्रदेश सभामा चितवनबाट एमालेबाट थपलियासहित दुई जना निर्वाचित भएका छन् ।

वाग्मती प्रदेशमा प्रत्यक्षतर्फ नेपाली कांग्रेस २४ स्थानमा विजयी भएको छ भने माओवादी केन्द्रले १४, एमालेले १२, राप्रपाले ७, नेकपा समाजवादीले ५, नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीले एक–एक स्थानमा जितेका छन् । वाग्मती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ गरी ११० जना सदस्य चयन हुनेछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>