Breaking News

भरतपुरको फोहोर नारायणी किनारमा पुरेपछि चौतर्फी विरोध, निकालेर अन्यत्र लैजान माग

Banner

प्रतिमा कुमाल

चितवन, मंसिर १५-

चितवन महोत्सवका लागि ठाउँ बनाउन बन्दै नारायणगढ बजारको फोहोर लगेर नारायणीको बगरमा पुरेपछि चौतर्फी विरोध भएको छ ।

फोहोरले वातावरणमा गम्भीर असर गर्ने भन्दै वे ग्रुप, बेटर चितवन, नेपाल विकास समाज र हाम्रो दृष्टि राम्रो दृष्टिलगायतका सामाजिक अभियन्ताहरुले चौतर्फी आलोचना गरेका हुन् ।

चितवन उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवका लागि नदीले बनाएको खाल्डोमा बजारको फोहोर हालेर सम्याइएको छ । अभियन्ताहरुले  त्यहाँबाट फोहोर निकालेर सुरक्षित रूपमा अन्यत्र बिसर्जन गर्न भरतपुर महानगरसँग माग पनि गरेका छन् । उनीहरुले सरोकारवाला निकायहरुले यस विषयलाई गम्भीरतापूर्वक नलिएको भन्दै आज बिहीबार नदी किनारमा पत्रकार सम्मेलन नै गरेका छन् ।

पत्रकार सम्मेलनमा जारी प्रेस विज्ञप्तिमा माटोको विकल्प फाहोर हुन नसक्ने भन्दै फिलिङ गरिएको फोहोरले नदी प्रणाली र मानव जीवनमा प्रत्यक्ष असर गर्ने जनाइएको छ । बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले पत्रकार सम्मेलनमा भने ‘यसले आर्थिक क्षति, शहरी क्षेत्रमा बाढीको जोखिम र नारायणी नदीको पुलको संरचनालाई कमजोर बनाउने खतरा सिर्जना गर्छ । यी फोहोरहरुले लामो समयसम्म नदीको इकोसिस्टमलाई क्षति पु¥याउनको साथै जलीय नदी प्रजातीहरुलाई असर गर्ने, पानीमा हानीकारक र विषादीयुक्त रसायन मिसिने र ग्राउण्ड वाटरलाई नेक्सान पु¥याउने गर्छ ।’

पत्रकार सम्मेलनमा वातावरण अभियन्ताहरुले वातावरण र मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले यो वातावरण र उपभोक्ता हित विपरितको डरलाग्दो कदम भएको बताएका छन् । उनीहरुले जारी गरेको विज्ञप्तिमा भरतपुर महानगरपालिका र उद्योग वाणिज्य संघ दुवैले मानवीय त्रुटी भएको भनेर स्वीकार गरिसके पनि सुधार्न सक्रियता नदेखाएको जनाइएको छ । अभियन्ताहरुले डम्प गरिएका फोहोरलाई तत्कालै त्यहाँबाट निकालेर सुरक्षित विधि मार्फत् सुरक्षित स्थानमा व्यवस्थापन गर्न पनि माग गरेका छन् ।

नारायणी नदी किनारमा महोत्सव आयोजना गर्ने नाममा १५० भन्दा बढी ट्र्याक्टर फोहोर डम्प गरिएको छ । यसअघि पनि उनीहरुले महानगरलाई खबरदारी पत्र बुझाउँदै  नारायणी नदी मात्र नभएर जलप्राणीहरूको घर हो भन्दै यसलाई दूषित बनाएर हामी कसरी उत्सव मनाउन सक्छौं ? भनेका थिए ।

चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चुननारायण श्रेष्ठ विज्ञहरूको परामर्शका आधारमा फोहोरले खाल्डो पुरेको दाबी गर्दे आएका छन् ।  श्रेष्ठले सोमबार प्रेस विज्ञप्ति निकाल्दै वातावरणीय प्रभावको अध्ययन गरेर महानगरको समन्वयमा विज्ञहरूको राय लिएर कुहिने फोहोरलाई खाल्डोको पिँधमा राखेको र त्यसलाई राम्रोसँग माटोले छोपेको जानकारी गराएका छन् । तर, नकुहिने फोहोर पनि खाल्डोमा राख्दै गरेको तस्बिर सार्वजनिक भएको थियो । श्रेष्ठले त्यसलाई भ्रामक भनेर खण्डन गरेका थिए

अध्यक्ष श्रेष्ठले पनि वातावरणविद्हरूसँगको सल्लाहमै महानगरपालिकाले खाल्डो पुर्ने काम गरेको बताए । माटो नपाउँदाको विकल्पमा गरिएको कामलाई विरोध गर्नुपर्ने कारण नै छैन,’ उनले भने । पुरिसकेको फोहोर निकालेर पुनः नारायणी नदी किनारमै थुपार्ने हो भने त्यसले दीगो समाधान नहुने हुँदा यसलाई मद्दा बनाउनु भन्दा भरतपुर महानगरपालिकाले फोहोर व्यवस्थापन गर्ने विषयमा ध्यान केन्द्रित बनाउन पनि उनले आग्रह गरे।

जमिनभित्र तहतह मिलाएर पुरेको भन्दै त्यसले वातावरणमा असर नपर्ने भरतपुर महानगरपालिकाका वातावरण शाखाले दाबी गर्दे आएको छ । यसबाट कुनै हानिकारक ग्यास ननिस्कने विभागको दाबी छ । विरोधमा उत्रिएका अभियन्ताहरूले भने गाडेको फोहोर निकालेर अन्यत्र नै व्यवस्थापन गर्न दबाब दिइरहेका छन् । यसैको विरोधमा केही दिनयता युवाहरूले टाउको र पाखुरामा कालो पट्टी बाँधेर विरोध गरिरहेका छन् । बुधबार भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीसँग आक्रोश पोखेका अभियन्ताहरूले आज दिउँसो सरकोकारवालाहरुलाई घच्घच्याउन नदी किनारमै पत्रकार सम्मेलनको आयोजना गरेको अभियन्तामध्ये एक पत्रकार निशा श्रेष्ठले नारायणी अनलाइनलाई बताइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>