चितवन विशेष
बाजुरामा भएको ऐडी हत्या विरोधमा चितवन प्रशासनमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र

चितवन, मंसिर १३-
मंसिर ४ गते सम्पन्न निर्वाचनको दिन बाजुरामा अनेरास्ववियुका नेता चेतन ऐडीको हत्या भएको घटनाको बारेमा विरोध गर्दै अनेरास्ववियु चितवनले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियु चितवनका संयोजक अमितकुमार गुप्ताको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले घटनाका दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै आज चितवनका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा बाजुरा जिल्ला त्रिवेणी नगरपालिका वडा नं. ७ स्थित मतदान स्थलमा भएको विवादलाई विषयान्तर गरी सत्ता गठबन्धनका कार्यकर्ताहरुले सोही दिन राति आफ्नै घरमा सुतिरहेको बेला हत्या गरेको आरोप लगाइएको छ । ज्ञापनपत्रमा मृतकका परिवारका तर्फबाट सप्रमाण किटानी जाहेरी दिएकाहरुलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरिएको छ । ज्ञापनपत्रमा ऐडीका परिवारका सदस्यलाई उचित क्षतिपूर्ति र भरणपोषणको पनि माग गरिएको छ । ज्ञापनपत्रमा भनिएको छ, ‘चेतन ऐडीको छोराको अहिलेदेखि उच्च शिक्षासम्मको पढाइको जिम्मा नेपाल सरकारले लिनुपर्छ । न्यायका निम्ति शान्तिपूर्ण दबाब कार्यक्रम गर्दा पक्राउ गरी भुटो मुद्दा लगाइएका अनेरास्ववियुका जिल्ला अध्यक्ष सहितका नेता कार्यकर्ताहरुलाई तत्काल मुद्दा खारेज गरी बिना शर्त रिहाइको माग गर्दछौ ।’ स्वर्गीय ऐडीलाई सहिद घोषणा गर्नुपर्ने पनि अनेरास्ववियुको माग छ ।
ज्ञापनपत्रमा हत्यामा संलग्नहरुलाई कारबाही गर्नुको साटो सत्ताको दुरुप्रयोग गरी अपराधीहरुलाई संरक्षण गर्नु र अपराधीलाई कारबाही गर्नुपर्ने माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिरहेका अनेरास्ववियु बाजुरा जिल्ला अध्यक्ष लगायतका नेताहरुलाई गिरफ्तार गरी झुठो मुद्दा लगाई प्रहरी हिरासतमा राख्नुले नेपाल प्रहरी र सरकारले नियोजित रुपमा नै अपराधीहरुलाई संरक्षण गरेको प्रष्ट भएको दाबी गरिएको छ ।


























