Breaking News
मतगणनामा दलका शीर्ष चार जना ‘रेड जोन’मा

काठमाडौँ, मंसिर ६-
मंसिर ४ गते सम्पन्न निर्वाचनको जारी मतगणनामा दलका चार शीर्ष नेता रेड जोनमा देखिएका छन् ।
सार्वजनिक भइरहेका मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो रेड जोनमा परेका हुन्।
इलाम १ मा समाजवादीका नेता खनाल एमालेका महेश बस्नेतसँग पछि परेका छन् । एमालेका बस्नेतले पाँच हजार ६२६ मत ल्याउँदा खनालले चार हजार ८५० मत ल्याएका छन्।
साथै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग दोब्बर मतले पछि परेका छन् । राउतले १४ हजार ४६८ मत ल्याउँदा यादवले ७ हजार २७१ मत ल्याएका छन्।
यस्तै लोसपाका अध्यक्ष ठाकुर महोत्तरी ३ मा स्वतन्त्र उम्मेदवार राम आदार कापरसँग पछि परेका छन् । कापरले दुई हजार २०४ ल्याउँदा ठाकुरले एक हजार ९९६ मत ल्याएका छन्। सर्लाही २ मा लोसपाका राजेन्द्र महतो माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवसँग पछि परेका छन् । यादवले एक हजार ८२५ मत ल्याउँदा महतोले एक हजार ३११ मत ल्याएका छन् ।
























