राजनीति

सबै भन्दा कम मत खसेका मतदान केन्द्रहरु

Banner

मंसिर ५-

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मुस्ताङको एक मतदान केन्द्रमा जम्मा १३ मत खसेको छ। मुस्ताङको सबैभन्दा कम मतदाता रहेको वारागुङ मुक्तिक्षेत्र—३ समरको समर मावि मतदान केन्द्रमा कुल ३४ मतदाता रहेकोमा १३ मत खसेको छ। यो कुल मत संख्याको ३८ प्रतिशत हो।

त्यसैगरी ताप्लेजुङको सदरमुकामदेखि सबैभन्दा टाढाको मतदानस्थल रहेको फक्ताङ्लुङ गाउँपालिका—७ याङ्मा मतदान केन्द्रमा १६ मत खसेको छ। ६१ मतदाता रहेको याङ्मामा १२ जना पुरुष र ४ जना महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले बताए।

उता बारागुङ मुक्तिक्षेत्र— ३ घ्याकरको अरनिको आधारभूत मतदान केन्द्रमा ६२ मतदातामा ३८ मत खस्यो भने बारागुङ मुक्तिक्षेत्र—१ लुप्रास्थित लुप्रा आधारभूत मतदान केन्द्रमा ६३ मतदातामा ४३ मत खस्यो।

घरपझोङ गाउँपालिका—१ छैरो मतदान केन्द्रमा कुल ७४ मतदाता रहेकोमा ६१ मत खसेको छ। बारागुङ मुक्तिक्षेत्र—५ साङ्ताको हिमाली आधारभूत मतदान केन्द्रमा कुल ३५ मतदाता रहेकोमा ३१ मत खसेको छ। मुस्ताङको लोमाङथान—२ सम्जुङ आधारभूत विद्यालय केन्द्रमा ६० मतदाता रहेकोमा ४५ मत खसेको छ।

३४ मतदाता, ३१ मत खस्यो

सबैभन्दा कम मतदाता रहेको डोल्पाको से–फोक्सुण्डो गाउँपालिका—६ को वडा कार्यालय फोतगाउँ मतदान केन्द्रमा ९१ प्रतिशत मत खसेको छ। जम्मा ३४ जना मतदाता रहेको यहाँ ३१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै कम मतदाता रहेको सूचीमा पर्ने डोल्पाकै छार्का ताङसोङ—२ को आधारभूत स्वास्थ्य केन्द्र मतदान केन्द्र पुङ्गाबगरमा ५४ प्रतिशत मत खसेको छ। जम्मा ८६ जना मतदाता रहेका यहाँ ४७ मत खसेको सहायक मतदान अधिकृत वीरेन्द्र डाँगीले जानकारी दिए। गोरखाको सबैभन्दा कम मत चुमनुब्री गाउँपालिका—४ नाम्रुङ स्वास्थ्यचौकी मतदान केन्द्रमा खसेको छ। स्थानीय नाम्रुङ स्वास्थ्यचौकी मतदान केन्द्रअन्तर्गत ८३ मतदातामध्ये जम्मा ४४ जनाले मात्र मतदान गरेका सहायक मतदान अधिकृत नेत्रप्रसाद पौडेलले जानकारी दिए। उनीहरूले दिउँसो १ बजेभित्रै मतदान गरिसकेका थिए।

त्यस्तै कम मतदाता रहेको सूचीको दोस्रो क्रममा रहेको चुमनुब्री—१ स्थित साम्दो आधारभूत विद्यालय केन्द्रमा जम्मा ६६ मत खसेको छ। ९८ जना मात्र मतदाता रहेका त्यहाँ जम्मा ६६ मत खसेको स्थानीय निमादोर्जे लामाले जानकारी दिए। १ सय ३ जना मात्र मतदाता रहेको क्वाक आधारभूत विद्यालय चुमनुब्री गाउँपालिका— ४ मतदान केन्द्रमा २ बजे नै मतदान सकिएको थियो।

त्यहाँ जम्मा ५८ मात्र मत खसेको मतदान अधिकृत भगवान शाक्यले जानकारी दिए। सोही वडाअन्तर्गत हिमचुली आधारभूत विद्यालय छाकका कुल १ सय ९ मतदातामध्ये जम्मा ६० मत खसेको सहायक मतदान अधिकृत केशरबहादुर भण्डारीले जानकारी दिए। त्यहाँ पनि १२ बजेतिरै मतदान सकिएको थियो।

बारपाक सुलीकोट—३ को स्तूल आधारभूत विद्यालय मतदान केन्द्रका १ सय २३ मतदातामध्य जम्मा ७१ मत मात्र खसेको छ। त्यसैगरी जम्मा १३५ मतदाता रहेका चुमनुब्री—३ को वौद्ध हिमाली आधारभूत विद्यालय न्याकमा ९७ मत खसेको छ।

करिब १२ बजेतिर मतदान सकिएको मतदान अधिकृत अनुपबाबु श्रेष्ठले जानकारी दिए। सोही वडाको १ सय ४४ मतदाता रहेको सिदुङ आधारभूत विद्यालय सस्र्युँमा जम्मा १ सय १८ मत खसेको छ। चुमनुब्री—६ को १ सय ५९ मतदाता रहेको सिम्चेत आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ८० मत मात्र खसेको मतदान अधिकृत प्रकाश गौतमले बताए।

१ सय ६० मतदाता रहेको चुमनुब्री—५ को क्य्राक आधारभूत विद्यालय मतदान केन्द्रमा जम्मा ९५ मत खसेको छ भने १ सय ६७ जना मात्र मतदाता रहेको धार्चे—७ खानीगाउँ मतदानकेन्द्रमा १ सय १ मत मात्र खसेको सहायक मतदान अधिकृत भरत पोखरेलले जानकारी दिए।

ताप्लेजुङमा ५५ प्रतिशत

मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्रारम्भिक तथ्यांकअनुसार ताप्लेजुङमा ५५ प्रतिशत मत खसेको छ। कुल मतदाता ८८ हजार २ सय ८५ थियो। ७५ वटा मतदानस्थलअन्तर्गत १ सय २३ वटा मतदान केन्द्र र २ वटा अस्थायी मतदान केन्द्र तय गरेको थियो।

जिल्ला निर्वाचन अधिकारी खनालका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको ओलाङ्चुङगोला मतदान केन्द्रमा ४५ महिला र ५२ पुरुष सहित ९७ जना, वडा नं ६ को ग्याब्लामा १० महिला र १२ जना पुरुष गरि २२ र घुन्सा मतदान केन्द्रमा ३० महिला र ३० पुरुषसहित ६० जनाले मतदान गरेका हुन्।

यसैबीच, आठराई त्रिवेणी गाउँपालिका—२ स्थित दुर्गा माध्यमिक विद्यालय फुलबारीमा दिउँसो करिब ३ बजेपछि मतदान रोकिएको थियो। जम्मा ९ सय ४६ जनाले मतदान गरेका छन्। उक्त समयअवधिमा महिला ४ सय ४८ र पुरुष ४ सय ९८ जनाले मतदान गरेको हो।

उक्त मतदान केन्द्रमा २ हजार ४ सय १९ मतदाता रहेको तथ्यांक छ। गठबन्धन र एमालेबीच विवाद हुँदा सहमति जुट्न नसकेकाले खसेको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिइन्। उक्त स्थानमा प्रहरीले २ राउन्ड हवाईफायरसमेत गरेको एक स्थानीयले जनाएका छन्। बाँकी ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताए।

फुङलिङ नगरपालिका–२ स्थित याङलेजुङमा दिउँसो १२ बजे बम विस्फोट भएको छ। यद्यपि मतदानस्थलदेखि ५ मिनेटको दूरीमा रहेको मतदानस्थलमा मतदान भने नरोकिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए। जिल्ला कारागारमा ४६ जना थुनुवा तथा कैदीले मतदान गरेका छन्।

कारागारका जेलर तथा मतदान केन्द्र अधिकृत कुलेन्द्र खवासका अनुसार मतदाता नामावली भएका ४६ जनाले नै मतदान गरेका हुन्। कारागार र फुङलिङ नगरपालिका–७ स्थित तोक्मेडाँडामा गरी दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ। तोक्मेडाँडा मतदान केन्द्रमा २२ जनाले मतदान गरेको मतदान अधिकृत देवी खड्काले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>