चितवन विशेष
चितवनमा केन्द्रिय नेता र उम्मेदवारले गरे मतदान

चितवन,मंसिर ४-
चितवनमा विभिन्न राजनीतिक दलका केन्द्रिय नेताहरुले मतदान गर्नुभएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्मले यहाँ मतदान गर्नुभएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महानगरपालिका–१४ स्थित राष्ट्रिय आधारभूत विद्यालय शान्तिपुर मतदान केन्द्रमा मताधिकार प्रयोग गर्नुभयो । अध्यक्ष दाहाल बिहान ७ः३२ बजे मतदान गरेर गोरखा जानुभएको छ ।
यस्तै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले भरतपुर महानगरपालिका–५ स्थित तोरीखेत स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ चितवन क्षेत्र नम्वर २ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । राप्रपा उपाध्यक्ष तथा चितवन क्षेत्र नम्वर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विक्रम पाण्डेले भरतपुर २७ मेघौली स्थित जानकी मावी केन्द्रबाट मतदान गर्नुभएको छ । सोही क्षेत्रबाट गठबन्धनका उम्मेदवार डा.भोजराज अधिकारीेले भरतपुर महानगरपालिका–९ स्थित शरदपुर प्राविधिक शिक्षालयमा मतदान गर्नुभएको छ ।
यस्तै चितवन क्षेत्र नम्वर ३ का स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले भरतपुर ६ पारसनगर स्थित शहिदस्मृती मावि केन्द्रबाट मतदान गर्नुभएको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले भरतपुर–१० स्थित नारायणी नमूना माविमा मतदान गर्नुभएको छ । उहाँ यसपटक उम्मेदवार बन्नुभएको छैन । नारायणी नमूना माविमा मतदान केन्द्रबाटै चितवन क्षेत्र नम्वर–२ का उम्मेदवार कृष्णभक्त पोखरेलले मतदान गर्नुभएको छ ।
यस्तै पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डले राप्ती नगरपालिका ५ स्थित भण्डारा मावी केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ चितवन क्षेत्र नम्वर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएको छ ।
चितवन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्व पौडेलले सहिद स्मृती बहुमुखी क्याम्पस मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । एमाले पोलिटव्यूरो सदस्य तथा चितवन क्षेत्र नम्वर २ (ख) का उम्मेदवार देवी ज्ञवाली भरतपुर ४ स्थित राष्ट्रिय मावि बाह्रघरेबाट मतदान गर्नुभएको छ ।
चितवन क्षेत्र नम्वर २ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने चितवनमा मतदान गर्न पाउनुभएन । लामिछानेले आफ्नो मतदान काठमाडौंमा गर्नुभएको छ । उहाँ काठमाडौं क्षेत्र नं.३ का मतदाता हुनुहुन्छ । उहाँले महाकाल पानीटंकी स्थलमा विहान मतदान गर्नुभएको छ । तीन निर्वाचन क्षेत्र र ६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको चितवनमा १६२ वटा मतदानस्थल र ४६० वटा मतदान केन्द्र रहेका छन् । यहाँ ४ लाख ८ हजार ३४२ मतदाता रहेका छन् ।


























