Breaking News

चितवनमा महिला उम्मेदवार विष्ट र गुरुङ गठबन्धनका ढकालसँग प्रतिस्पर्धामा, कसको सम्भावना कति ?

Banner

चितवन, कात्तिक ३०

चितवन–३ ‘ख’ को प्रदेशसभामा दुई महिला उम्मेदवार प्रत्यक्षतर्फ प्रतिस्पर्धामा छन् । जिल्लामा प्रत्यक्ष महिला उम्मेदवारको संख्या धेरै न्यून रहेको अवस्थामा एमालेकी उम्मेदवार सरस्वती विष्ट र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीना गुरुङको प्रतिस्पर्धालाई रोचकरुपमा हेरिएको छ । उहाँहरुसँग  गठबन्धनतर्फबाट माओवादी केन्द्रका उम्मेदवार ठाकुर ढकाल प्रतिस्पर्धामा हुनुहुन्छ । दुई महिलामध्ये एक महिलाले निर्वाचन जितेमा चितवनबाट बाग्मती प्रदेश सभामा प्रत्यक्षबाट महिला प्रतिनिधित्व हुन्छ । त्यसकारणले पनि उहाँहरुले जित्ने सम्भावना के कसो रहेको छ भनेर आम मानिसलाई चासो भएको छ ।

एमालेको बाग्मती प्रदेश सदस्य माडीको कल्याणपुरकी सरस्वती विष्ट विसं २०४० को दशकबाट कम्युनिस्ट राजनीतिमा उदाउनु भएको हो । पार्टीको सांस्कृतिक फाटमा सक्रिय रहनु भएको उहाँ २६ वर्ष शिक्षक सेवामा सक्रिय रहेर सेवा निवृत्त रहनु भएको हो । माडी आसपासको पछाडि परेको समुदायलाई शिक्षा दिनमा विष्टको महत्वपूर्ण योगदान रहेको माडीका स्थानीय बताउँछन् । पार्टीमा रहँदा रहँदै प्रगतिशिल विवाह गर्नुभएकी विष्टले चितवनको महिला आन्दोलनलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानले माडीमै जन्मेर हुर्केर कसैलाई नबिराउने काम गर्नु भएको विष्टको जित सुनिश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ माडीका रहेक समुदायको माझमा लोकप्रिय रहेकोले पनि उहाँले सर्वाधिक भोट ल्याउने हामीले आशा गरेका छौं ।’ जनवादी कलाकारका रुपमा परिचित उमेदवार बिष्ट गाउँदै, बजाउँदै, भोट माग्दै विभिन्न ठाउँमा पुग्नुभएको छ ।

माडीको वडा नम्बर ९ राइटोलमा पुग्दैगर्दा उमेदवार बिष्ट आँफै मादल ठोक्दै महिला दिदिबहिनीको बिचमा बसेर सुरिलो स्वरमा गीत मार्फत आँफुलाई मतदानका लागि मतदाताहरुलाई आह्वान गर्दै हुनुहुन्थ्यो । घेरिएर बसेका स्थानीय चेपाङ दिदीबहिनीहरु ताली बजाउँदै गरेको देखिन्थ्यो । विद्यार्थी राजनीतिदेखि नै जनवादी गीत र अभिनयमा रुचि राख्ने उहाँ निरन्तर जनताका पीडा र मुद्दाहरुलाई गायन र अभिनय मार्फत मुखरित गर्दै आउनुभएको पात्र हुनुहुन्छ । तीन दशक लामो शिक्षण पेशामा संलग्न रहँदा समेत गायनकै माध्यमबाट रचनात्मक शिक्षण गर्ने र विद्यार्थीमा उर्जा भर्ने गरेको उहाँका पुर्व सहकर्मी शिक्षक यमनाथ सुवेदीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यही बिलक्षण प्रतिभा र सयौं विद्यार्थीहरु सहयोग नै उनको जितको आधार बन्न सक्छ ।’

क्षेत्र नम्बर ३ कै ‘ख’ मा विष्टसँग चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ अर्की महिला उम्मेदवार रिना गुरुङ । राप्रपाको सहमहामन्त्रीसमेत रहनु भएकी गुरुङ भरतपुर–२१ पार्वतीपुरको हुुनुहुन्छ । भारतबाट एमबीए गरेर कालिका एफएमको स्टेशन म्यानेजरसमेत हुनु भएकी गुरुङ २०७४ पछि बाग्मती प्रदेशसभाको राप्रपाको समानुपातिक सांसद पनि हुनुभयो । पश्चिम चितवनको क्षेत्रमा राप्रपाको जनमत राम्रो भएकोले पनि यसपटक गुरुङले जित्ने आधार प्रशस्त रहेको राप्रपा समर्थकको दाबी छ । २०७४ सालको स्थानीय निर्वाचनमा भरतपुरको उपमेयरमा पराजित गुरुङ त्यसपछि निरन्तर राप्रपाको राजनीतिमा सक्रिय हुनुहुन्छ । राप्रपा भरतपुर महानगरका सचिव सुलभ सिग्देलले ३ नम्बर क्षेत्र राप्रपाको पकट क्षेत्र रहेकोले पनि जित्ने प्रशस्त आधार रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा रिना गुरुङले प्रदेशबाट बजेट ल्याएर धेरै विकासका काम गर्नुभएको छ । तसर्थ जित्ने प्रशस्त आधारहरु छन् ।’

दुई महिलासँगै प्रतिस्पर्धामा माडी नगरपालिकाका पूर्वमेयर ठाकुरप्रसाद ढकाल पनि हुनुहुन्छ । माओवादी केन्द्रको केन्द्रीय सदस्य रहनु भएको ढकाल पनि यस क्षेत्रको पुरानो कम्युनिस्ट नेता हुनुहुन्छ । दुईपटक गाविस अध्यक्ष र एकपटक मेयर रहनुभएको ढकालको विजय सुनिश्चित रहेको माओवादी नेताहरु बताउँछन् । माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य दिलिप पौडेलले पाँच दलीय गठबन्धनको मतले पनि ढकालको विजय सुनिश्चित रहेको नारायणी अनलाइनलाई बताउनुभयो । उहाँले भन्नुभयो, ‘ उहाँ माओवादी भित्र जनताले मन पराउने नेता हुनुहुन्छ । माडी क्षेत्रमा रहेको पार्टीको बलियो जनाधारकै कारणले पनि उहाँले प्रदेश सभामा जित्ने सम्भावना छ ।’

कसको सम्भावना कति ?

चितवन–३ ‘ख’ मा माडी र पश्चिम भरतपुर क्षेत्र पर्ने भएकोले पनि यस क्षेत्रमा एमाले, राप्रपा र माओवादीको संगठन अन्य क्षेत्रको तुलनामा बलियो रहेको छ । तसर्थ यो प्रतिस्पर्धालाई रोचकरुपमा हेर्न सकिन्छ । स्थानीय निर्वाचनमा एमालेले माडीमा मेयर जितेको छ भने अन्य क्षेत्रमा गठबन्धनसँगको मुख्य प्रतिस्पर्धामा एमाले रहेको छ । राप्रपा सधै तेस्रो शक्तिको रुपमा रहँदै आएको छ । यस क्षेत्रमा कांग्रेसको उम्मेदवार प्रदेशमा नभएकोले कांग्रेसको मत धेरै कम गठबन्धनलाई जाने सम्भावना छ । प्रतिनिधिसभामा कांग्रेस नेतासँग एमालेको चुनावी तालमेल भएकोले कांग्रेसको मत विष्टले पाउने सम्भावना बढी देखिन्छ । अर्काेतिर माडीमा माओवादीको अवस्था पछिल्लो समय कमजोर बन्दै गएको छ । स्थानीय निर्वाचनमा गठबन्धन गर्दा पनि माडीमा मेयर पदमा माओवादी पराजित हुनुले उसको मनोभावना झनै कमजोर रहेको कतिपयको विश्लेषण छ ।

अर्काेतर्फ माओवादीको प्रभावशाली नेता यमबहादुर परियार ‘ईन्द्रजीत’ आफैँ एमाले प्रवेश गरेकोले पनि एमालेकी सरस्वती विष्टलाई यसपटक धेरै सहज देखिन्छ । अघिल्लो पटक प्रचण्डलाई विजयी गराउन परियारको महत्वपूर्ण भूमिका रहेको थियो । राप्रपा आफै एकल चुनावी प्रतिस्पर्धामा रहेकोले पनि एकल भोटबाट रिना गुरुङलाई त्यति सजिलो देखिँदैन । अर्काेतिर पुराना, अनुभवी र पटकपटक अवसर पाएका नेता भएकोले पनि ठाकुरप्रसाद ढकाललाई अहिलेका नयाँ मतदाताले मत नदिन सक्छन् । अर्काेतिर गाउँघरमा रहेको कांग्रेस र माओवादीको पुरानो रिसरागले गर्दा पनि ढकालको मत घट्दा विष्टलाई फाइदा पुग्न सक्ने धेरै मतदाताको अनुमान रहेको छ । निर्वाचनमा मौन अवधि सुरु भएसँगै जनमत बदलिन सक्ने सम्भावना कायमै रहेकोले पनि कसको पल्ला भारी बन्छ भनेर हेर्न अझै केही दिन धैर्यता गर्नुपर्ने हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>