चितवन विशेष
मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्छु: डा भोजराज अधिकारी

चितवन, कात्तिक २९-
प्रतिनिधिसभा चितवन–३ का माओवादी केन्द्रका प्रत्यक्ष उम्मेदवार डा. भोजराज अधिकारीले मेघौली विमानस्थललाई सञ्चालनमा ल्याउन पहल गर्ने बताउनु भएको छ ।
भरतपुर महानगरपालिका–२७ मेघौलीमा भएको चुनावी कोणसभामा उहाँले स्तरोन्नति गरेर विमानस्थललाई सञ्चालन गर्नुपर्ने बताउनु भएको हो । उहाँले पश्चिम चितवनको पर्यटन प्रवद्र्धनका लागि पनि विमानस्थल चल्न जरुरी रहेको बताउनुभयो ।
डा अधिकारीले भन्नुभयो, ‘यहाँको मौलिकता आफ्नै किसिमको छ । यहाँका जनता बढी लाभान्वित हुने गरी हामीले योजना बनाउछौं । व्यवसायिक वातावरण बनाउन नीतिगत सुधार गरेर मेघौली जितपुर, गोलाघाट क्षेत्रका होटल व्यवसाय सुव्यवस्थित बनाउने गरी पहल गर्छाैं ।’
डा. अधिकारीले जनताको जनताको आर्थिक समृद्धिका लागि नीति निर्माण गर्ने बताउनुभयो । ‘नारायणी र राप्ती भेगमा समानान्तर विकास हुने रणनीति बनाउछौं’, उहाँले भन्नुभयो, ‘स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र सामाजिक सुरक्षा हाम्रो प्राथमिकता हो, त्यसै अनुसार काम गर्छाैं । मेघौलीलाई देशकै १०० गन्तव्य क्षेत्रमा समावेश गर्ने उहाँको प्रतिबद्धता छ ।
























