चितवन विशेष

चितवनमा बन्ने रासस तालिम केन्द्रको विषयमा पत्रकारसँग छलफल

Banner

चितवन,कात्तिक २८-

राष्ट्रिय समाचार समिति (रासस) को यहाँ बन्न लागेको केन्द्रीयस्तरको तालिम केन्द्रका विषयमा पत्रकारसँग छलफल भएको छ । नेपाल पत्रकार महासङ्घको सभाकक्षमा आज तालिम केन्द्र निर्माणका विषयमा पत्रकारका केन्द्र र जिल्लाका विभिन्न सङ्घसङ्गठनका नेतृत्वसँग छलफल भएको हो ।

राससका महाप्रबन्धक सिद्धराज राईले तालिम केन्द्रका बारेमा जानकारी गराउनुभएको थियो । विस्तृत अध्ययन प्रतिवेदनको काम सम्पन्न गरेर निर्माण प्रक्रियाअघि बढेको उहाँले जानकारी दिनुभयो । सघन सहरी तथा भवन निर्माण आयोजनाले निर्माणको काम गर्नेछ । महाप्रबन्धक राईले जिल्लामा तालिम केन्द्र बन्दै गर्दा रासससहित जिल्ला र देशभरका पत्रकार लाभान्वित हुने बताउनुभयो ।

प्रशासन प्रमुख शीतलप्रसाद महतोले आवासीय भवनमा १९ वटा सुविधा सम्पन्न कोठा, तीन वटा २५ देखि एक सयसम्म अट्ने सभाकक्ष, पुस्तकालय, स्टुडियो, भूमिगत पार्किङ, झण्डै एक सय अट्ने क्याफ्टेरियालगायत निर्माण हुने जानकारी दिनुभयो । उहाँका अनुसार पाँचतले तालिम भवन बन्ने छ ।

कार्यक्रममा उपस्थित पत्रकारले सुझाव दिनुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सृजना अर्याल, कोषाध्यक्ष कलेन्द्र सिजुवाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवाष पण्डित, नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष अनिल ढकाल, नेपाल पत्रकार महासङ्घ चितवन शाखाका पदाधिकारी, सल्लाहकार, सदस्य एवं अग्रज पत्रकारको उपस्थिति रहेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>