Breaking News

चितवनका मतदाताहरु भन्छन्ः चुनाव जितेपछि केही गर्छन् भन्ने आशा छैन

Banner

पूजा ढकाल

चितवन, कात्तिक २६-

प्रतिनिधि सभा तथा प्रदेशसभा चुनाव आउन आठ दिन बाँकी रहे सँगै मतदाताहरुसँग भोट माग्न चितवनमा नेताहरुको दौडधुप बढ्दै गएको छ । मतदाताको घरघरदेखि खेतबारी र गोठसम्म घोषणापत्र बोकेर उम्मेदवारहरु पुगिरहेका छन् तर अहिलेको निर्वाचन जितेपछि उम्मेदवारले जनताको पक्षमा काम गर्लान् भन्नेमा मतदाताहरुले शंका व्यक्त गरेका छन् ।

चितवनमा अघिल्लो निर्वाचनमा जस्तो यसपटक मतदाताहरुलाई निर्वाचनप्रति खासै उत्साह देखिँदैन । त्यस्तै, चितवन–१ का युवा मतदाता तथा विद्यार्थी हरि सिलवालले निर्वाचनमा उम्मेदवार आउने र भोट माग्ने सामान्य कुरा भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ भोट माग्न आउनु सामान्य जस्तो भएको छ । किनभने उनीहरु अघि कहिल्यै नआए पनि आउने भनेकै चुनावमा हो । अरु समय त उनीहरुको छाया पनि देख्न मुस्किल हुन्छ ।’ सिलवालले पहिले दिएका आश्वासन र घोषणापत्र नेताहरुले पूरा गरेनन् भने अब पनि पूरा गर्छन् भन्ने कुनै आधार नभएको बताउनुभयो ।

क्षेत्र नं २ का मतदाता शंकर अधिकारीले आफ्नो क्षेत्रमा विकास धेरै नै भए पनि अझै पनि केही योजना भने अधूरो नै रहेको बताउनुभयो । उहाँले अबको नयाँ सरकार बनेपछि पूरा हुने अपेक्षा गरेको बताउनुभयो । त्यस्तै उहाँले भन्नुभयो, ‘अहिले किसानलाई धान थन्काउने र बाली लगाउने समय भएकोले स्थानीयले चुनाव प्रति खासै ध्यान दिएका छैनन् ।’ उहाँले राजनीतिक दलरुको चुनावी अभियानमा पहिलेको जस्तो चहलपहल नभएको बताउनुभयो ।

चितवन क्षेत्र नं ३ का मतदाता सूर्य ढकाल भन्नुहुन्छ, ‘चुनावपछिको ५ वर्षे कार्यकालमा उनीहरु एकपटक गाँउमा के प्रगति भयो, के भएन, जनताको समस्या के छ बुझन आउनु पर्ने हो । तर, जनताले नेता देख्ने भनेको चुनावमा नै हो । ’ जनतालाई हरेक समय सांसदसँग भेट्ने समस्या राख्ने अधिकार भए पनि उनीहरु चुनावमा मात्रै बाटो छेक्ने गरी घरघर आउने गरेको उहाँले बताउनुभयो । उहाँले आक्रोश पोख्नुभयो, ‘हामीलाई दिन रात हातका नङ्ग्रा नघोटी परिवार पाल्न मुस्किल हुन्छ । नेताहरुको पछि लागेर उनीहरुलाई भोट दिएर जिताएर खै के भयो र हामीलाई ? उहाँले पछिल्लो समय चुनाव केन्द्रित भएर गाँउ पस्ने नेतासँग जनता खुसी नभएको बताउनुभयो । पहिलेको जस्तै यस पटकको चुनावमा पनि पुरानै अनुहार र पुरानै कार्ययोजना लिएर नेताहरु भोट माग्न आएको उहाँको आरोप थियो । उहाँले प्रश्न गर्नुभयो, ‘जुन योजना पहिलेका जनप्रतिनिधिले पूरा गर्न सकेनन् भने अबका उम्मेदवारले पूरा गर्छन् भन्ने के आधार छ ?

त्यस्तै पाँच दलीय गठबन्धनको सभास्थलमा बदाम र सुन्तला खाँदै गर्नुभएको भरतपुर–११ बसेनीकी मतदाता बच्चु नेपालीले नेताहरुको भाषणमा खासै नयाँपन केही नपाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ २०७४ सालमा र अहिले नेताहरुले गरेको भाषणमा खासै फरक छैन । मत माग्न अनेक आश्वासन दिन्छन् तर जितेर गएपछि कता हराउँछन् । सत्ता र मन्त्री पद हत्याउने भन्दा बढी नागरिकको सेवाको लागि राजनीति गर्ने प्रवृत्ति हाम्रा नेताहरुमा देखिँदैन ।’ उहाँले नेताहरुको भाषण एक नेताले अर्काे नेतालाई तुच्छ गाली गर्ने भन्दा बढी केही नभएको बताउनुभयो । नेपालीले बन्नुभयो, ‘समृद्धि, अग्रगमन, विकास, रोजगारी भनेर भाषण सुन्न थालेकै १० वर्षभन्दा धेरै भइसक्यो । भनाइ र काम गराइमा आकास जमिनको फरक छ ।’ झुठा आस्वासन दिएर भोट फकाउन यसपटक पनि नेताहरु लागिरहेको मतदाताहरुको आरोप छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>