Breaking News

बर पिपलका चौतारा संरक्षण गर्दै भरतपुरको वे ग्रुप

Banner

कृष्ण आचार्य,

चितवन,कात्तिक २५-

चितवनको भरतपुरका युवाहरु बर पिपलका चौतारा संरक्षणमा जुटेका छन् । सडक विस्तार र विकास निर्माणका काम गर्दा बाटो छेउछाउका चौतारा मास्ने क्रम बढेपछि युवाहरु चौतारा संरक्षणमा जुटेका हुन् ।

भरतपुरमा विगत सात वर्षदेखि सक्रिय रुपमा वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको युवाहरुको समूह वे ग्रुप नेपाल (वि आ र द युथ) ले चौतारको संरक्षणका काम गरिरहेको छ । गु्रपका अध्यक्ष भोजनारायण कँडेलले नियमित रुपमा वातावरण र सरसफाइसँगै जीर्ण बनेका चौतारा संरक्षण गरिरहेको बताउनुभयो । भरतपुर महानगरपालिका–४ लंकूमा जीर्ण चौताराको मर्मतका श्रमदान गरिरहेको अवस्थामा भेटिनुभएका उहाँ सबैबाट सहयोग जुटाएर चौतारा मर्मत गरिएको बताउनुहुन्छ ।

‘सबैको सहयोगबाट काम गरिरहेका छौँ’ उहाँले भन्नुभयो, ‘कसैले इँटा ढुङ्गा त, कसैले सिमेन्ट सहयोग गर्नुभएको छ ।’ यसअघि पनि चौतारामा रङरोगन र वृक्षरोपण गरेको उहाँको भनाइ छ । नागरिक भइसकेपछि हामी पनि राज्यको अंग हो भन्ने ठानेर सामाजिक काम गर्दै आइरहेको कँडेलले बताउनुभयो । ‘राज्यप्रति हाम्रो पनि दायित्व छ, आफ्नो गाउँठाउँ आफैँ बनाउने हो । सबै कुरा राज्यको मात्र भर परेर हुँदैन’, उहाँले भन्नुभयो ।

उहाँले कामले मानिसलाई अनुशासित बनाउने भन्दै यो अभियान देशव्यापी रुपमा सञ्चालन गरिनुपर्ने बताउनुभयो । वे गु्रप हरेक सोमबार सरसफाइ लगायतका वतावरण संरक्षणका काम गर्दै आइरहेको छ । १०० बढी युवाहरुको सहभागितामा अभियान सञ्चालन भइरहेको छ । यो अभियानमा साथ दिनेहरु दिन प्रतिदिन बढिरहेका छन् । भरतपुर ४ लंकूका स्थानीय भीमलाल शर्मा खरेलले चौतारा संरक्षण गरेर वे ग्रुपले निकै राम्रो काम गरेको बताउनुभयो ।

‘वे ग्रुपले छ/सात वर्षको अवधिमा थुप्रै राम्रा काम गरेको छ’ उहाँले भन्नुभयो, ‘समाजलाई सुधार्ने बाटोमा यो समूहले काम गरिरहेको छ ।’ सामाजिक काले समाजमा सकरात्मक सुधारहरु भइरहेको भन्दै मानिसहरुमा पनि चेतना फैलिएको उहाँले बताउनुभयो । वे गु्रपका सचिव जीवन खरेलले आफ्नो गाउँठाउँ आफै परिवर्तन गर्ने उद्देश्यका साथ युवाहरु मन, वचन र कर्मले सामूहिक रुपमा काम गरिरहेको बताउनुभयो ।
‘हामीले महत्वपूर्ण समय सामाजिक काममा खर्चेका छौं’ उहाँले भन्नुभयो, ‘विभिन्न पेसा व्यवसायमा आवद्धहरु यो अभियानमा जुटेका छौँ ।’ उहाँले महानगरपालिका, वडा कार्यालय, टोल विकास संस्था र आमा समूहरुसँग सहकार्य गरेर काम गरिरहेको जानकारी दिनुभयो । स्वच्छ, सफा र हराभरा समाज निर्माण गर्ने उद्देश्यले सात वर्षदेखि वातावरणका क्षेत्रमा नियमित काम गर्दै आइरहेको वे ग्रुपका सदस्य विजय सापकोटा बताउनुहुन्छ ।

‘सडक विस्तार गर्दा धेरै चौताराहरु मासिए, रुख काटिए त्यसैले संरक्षणमा जुट्यौं’ उहाँले भन्नुभयो । हाम्रो स्वास्थ्यसँग जोडिएका यी चौताराहरुको संरक्षण गर्न जरुरी रहेको उहाँको भनाइ छ । स्थानीय यमलाल कँडेलले हरेक पाटी, पौवा र चौतारालाई समाजमा जीवित राख्नुपर्ने बताउनुभयो । ‘७०–८० वर्षको बुवाआमाले यहाँ आएर लामो सास फेर्दै गर्दा निदाउँदै गर्दा अक्सिजन नपुगेको बिरामीलाई अक्सिजन पाएजस्तो लाग्छ’ उहाँले भन्नुभयो ।

बर पिपल र समीका रुखको संरक्षण सबै मिलेर गर्नुपर्नेमा उहाँको जोड छ । चौतारा हाम्रो पुर्खाहरुसँग पनि जोडिएकाले यसको संरक्षणमा राज्यले पनि ध्यान दिनुपर्ने उहाँको भनाइ छ । भरतपुर क्षेत्रमा सडक विस्तारका क्रममा छेउछाउमा रहेका अधिकांश चौतारा भत्काइएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रशेन अधिकारीले वातावरणको क्षेत्रमा युवाहरुले गरेको काम निकै सह्रानीय रहेको भन्दै महानगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो । उहाँले महानगरपालिकाले पनि वे ग्रुपसँग सहकार्य गरेर थुप्रै कामहरु गरिरहेको जानकारी दिनुभयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>