चितवन विशेष

चितवनका दुई अनुसन्धानकर्ता रानाभाट र भट्टराईलाई नास्टको पुरस्कार तथा सम्मान

Banner

चितवन, कात्तिक २४-

विज्ञान र प्रविधिको क्षेत्रमा विशिष्ठ योगदान पु¥याउने चितवनका दुई वैज्ञानिक तथा अनुसन्धानकर्तालाई नास्टले बुधबार पुरस्कृत एवम् सम्मानित गरिएको छ ।

देशको विकास र जनताको जीवनस्तरमा गुणात्मक सुधार ल्याउन विज्ञान तथा प्रविधिलाई पूर्णरुपमा सदुपयोग गरी औद्योगिक, सामाजिक क्षेत्रको प्रगतिका लागि वैज्ञानिक खोज र अनुसन्धानलाई प्रोत्साहित गरेको भन्दै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले उहाँहरुलाई २०७८ सालको विभिन्न पुरस्कार वितरण गरेको हो ।

चितवनका जनस्वास्थ्य अनुसन्धानविद् डा कमल रानाभाटले २०७८ सालको ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कार र कुलपति राष्ट्रिय नव–प्रर्वतन पुरस्कार डा अनु भट्टराई सापकोटाले प्राप्त गर्नुभएको छ । भरतपुर–११ भोजाडका  रानाभाटले नारायणी मावि र त्रिभुवन विश्वविद्यालयअन्तर्गत शिक्षण अस्पताल महाराजगन्जबाट अध्ययन गर्नुभएको हो । उहाँ  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसन्धानकर्ताको रुपमा कार्यरत हुनुहुन्छ भने भरतपुर–१० गैँडाचोक स्थायी ठेगाना रहेको भट्टराई वीर अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत हुनुहुन्छ । विश्वकै प्रतिष्ठित हार्वर्ड युनिभर्सिटीमा क्लिनिकल रिसर्च विधामा पोस्टग्राजुएट डिप्लोमा अध्ययन गर्नुभएका रानाभाटले पुरस्कार पाएपछि मेडिकल अनुसन्धान र मेडिकल साइन्सको विकासको लागि योगदान गर्न थप ऊर्जा मिलेको बताउनुभएको छ । स्वास्थ्य अनुसन्धानमा करिब एक दशक लामो योगदान गर्नुभएको उहाँले विशेष गरी नसर्ने प्रमुख रोगहरु (उच्च रक्तचाप, दीर्घ मिर्गौला रोग, मधुमेह आदि) को इपिडेमियोलोजिकल अध्ययन गर्नुभएको छ । उहाँका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरुमा तीन दर्जन भन्दा धेरै अनुसन्धान कृति प्रकाशित छन् ।

त्यसैगरी चितवनका शिक्षाविद्ध रमाकान्त सापकोटाकी बुहारी डा. भट्टराईले जापानको गुन्मा विश्वविद्यालयबाट न्युक्लियर मेडिसिनमा पीएचडी गर्नुभएको हो । उहाँको पनि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलमा अनुसन्धानमुलक लेख प्रकाशित छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको एक विशेष कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले उहाँहरुलाई सम्मान गर्नुभएको छ । नास्टले कोरोना महामारी लगायतका कारण २०७८ सालमा प्रदान गर्न नसकेको विभिन्न १३ विधाका पुरस्कार चितवनका दुई जनासहित अन्य अनुसन्धानकर्ताहरुलाई बुधबार प्रदान गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>