चितवन विशेष
डा सूर्यकान्त घिमिरेलाई मतदाताले भने: चितवनमा गौतमबुद्ध रंगशाला बनाउन नसक्नेलाई भोट दिँदैनौं

चितवन, कात्तिक २२–
खेल क्षेत्रको विकासका रामपुरमा बन्न लागेको रंगशाला अपरिहार्य रहेको चितवन–३ का मतदाताहरुले बताएका छन् ।
भरतपुर १५ र १६ मा आयोजना गरिएको घरदैलोका क्रममा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार प्रा.डा. सूर्यकान्त घिमिरेलाई युवाहरुले रंगशाला निर्माण र यस क्षेत्रको विकासका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । बन्दै गरेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला अलपत्र पर्दा यहाँका खेलप्रेमी युवाहरुको भविष्य अन्योलमा परेको फूलबारीका युवा लक्ष्मण सुवेदीले गुनासो गर्नुभयो । स्थानीय मतदाताहरुले अलपत्र परेको गौतमबुद्ध रंगशाला बनाउन सक्नेलाई मात्र आफूहरले भोट दिने बताए ।
रंगशाला निर्माणको काम सुरु गरी खेल जगतको विकासमा टेवा पु¥याउने उम्मेदवार अहिलेको आवश्यकता रहेको उहाँले बताउनुभयो । अर्का युवा निरञ्जन सुवेदीले जनताको मर्म अनुसार विकास निर्माणको काममा सहयोग गर्ने उम्मेदवार आबश्यक रहेको विचार राख्नुभयो । यस क्षेत्रको विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अपरिहार्य भएको भन्दै उहाँले अब आउने जनप्रतिनिधिको ध्यान रंगशाला निर्माण तर्फ जानु पर्ने बताउनुभयो । उहाँले घिमिरेसँग गुनासो गर्दै भन्नुभयो ‘समाजमा विकासको खाँचो छ । यसलाई रंगशालाले केही हद सम्म पूरा गर्छ । रंगशालालाई यत्तिकै अलपत्र पार्न पाइँदैन ।’
खाद्यान्न उत्पादनका दृष्टिले समेत महत्वपूर्ण मानिएको भरतपुर महानगरको पश्चिम क्षेत्रका मतदाताहरुले कृषि क्षेत्रमा आधुनिकीकरणको चाहना गरेका छन् । पछिल्लो समय कृषि क्षेत्रमा देखिदैं आएको समस्या समाधानका लागि पहल गर्न समेत मतदाताले घिमिरेसँग आग्रह गरेका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयको संस्थापक रजिष्टार भएर विश्वविद्यालयमा गरेको सुधार अहिले यस क्षेत्रका कृषकले आफ्नो खेतबारीमा देख्न चाहेको स्थानीय नारायण केसीले बताउनुभयो ।
मतदाको अपेक्षा अनुसार विकासका काममा सहयोग पुग्ने गरी काम गर्ने घिमिरेले प्रतिबद्धता जनाउनु भएको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा एबम् प्रदेश सभा निर्वाचनका लागि घरदैलो कार्यक्रमका क्रममा जनताको गुनासोलाई सम्बोधन गर्दै घिमिरेले पश्चिम चिवतनको विकासका लागि आफू निर्वाचित भए पछि सक्दो प्रयास गर्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘गठबन्धनको विजयले मात्रै रंगशाला निर्माण, कृषि क्षेत्रको समस्या समाधान गर्ने छ ।’ आँफूसमेत कृषिको प्रध्यापक रहेको जानकारी दिदैं उहाँले कृषि क्षेत्रको बिकाससँगै यहाँको समस्या समाधानका लागि आफू सधै तयार रहेको बताउनुभयो ।
























