Breaking News

आज खग्रास चन्द्रग्रहण, कुन राशिलाई कस्तो फल ?

Banner

चितवन,कात्तिक २२-

मङ्गलबार (आज) कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ। बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ।

बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि ग्रहण स्पष्ट रूपमा देखिने छ। बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मिलन हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए। बेलुकी ०६ः३४ बजे ग्रहण सकिन्छ। १ घन्टा २३ मिनेट नेपालबाट ग्रहण देखिने छ। चन्द्रग्रहणको ९ घन्टा अघिदेखि सूतक लाग्ने धर्मशास्त्रका ग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले बताए।

आज बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ। बेलुकी ०६ः३४ बजे ग्रहण सकिएपछि मात्र भोजन गर्न हुने पनि उनले जानकारी दिए। खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अति कष्टदायक रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।

समितिका अनुसार यो ग्रहणले मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ र कर्कट राशिलाई सुख फल दिनेछ। यस्तै सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट, तुला राशिलाई स्त्रीपीडा र वृश्चिक राशिलाई सुख फल मिल्नेछ। धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने पनि समितिद्वारा मान्यताप्राप्त पात्रोमा उल्लेख छ।

ग्रहणका बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय वचन छ । यसअघि ८ कात्तिक मङ्गलबार कार्तिक कृष्ण औँसीका दिन सूर्यग्रहण लागेको थियो । यसरी यो वर्षको कात्तिक महिनाका दुवै पक्षमा ग्रहण लागेको छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>