Breaking News
चितवनमा डेँगुबाट २७ वर्षीय इञ्जिनियर शोनिसको ज्यान गयो, ग्यालेक्सी होटल चलाउने सपना अधुरै

मधुसूदन दवाडी
चितवन, कात्तिक २१-
डेँगु संक्रमणबाट भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कका २७ वर्षीय इञ्जिनियर शोनिस कर्माचार्यको निधन भएको छ ।
नारायणी सामुदायिक अस्पतालमा एक दिन प्रारम्भिक उपचार गरेर मेडिसिटी अस्पताल काठमाडौँ लगिएको शोनिसको मेडिसिटी अस्पतालमा कात्तिक १९ गते निधन भएको हो । भरतपुरको लंकु यज्ञपुरीमा बन्दै गरेको ग्यालेक्सी गार्डेन रिसोर्ट निर्माणमा संलग्न शोनिस नारायणगढका होटल व्यवसायी सुरेश कर्माचार्य र निरु कर्माचार्यको छोरा हुनुहुथ्यो । पढाइमा अब्बल र नैतिकवान इञ्जिनियर छोरा गुमाउनुपर्दा कर्माचार्य परिवार अहिले शोकमा छन् ।
शोनिसका ठूलो बुबा देबेन्द्र श्रेष्ठका अनुसार स्मल हेभन स्कुलबाट २०६७ सालमा एसएलसी पूरा गर्नुभएको शोनिस पढाइमा सधै अब्बल हुनुहुन्थ्यो । एसएलसीपछि नेशनल कलेज अफ इञ्जिनियरिङबाट सिभिल इञ्जिनियरिङको अध्ययन सकेपछि उहाँ मेलम्ची परियोजनामा केही समय काम गर्नुभयो । काठमाडौँका अन्य परियोजनाहरुमा पनि काम गरेपछि उहाँले चितवन फर्किएर परिवारकै होटल व्यवसाय अगाडि बढाउन इञ्जिनियरको रुपमा ग्यालेक्सी तारे होटल निर्माणमा निरन्तर लाग्नुभयो । आफ्नो बुबा सुरेश कर्माचार्यको ग्यालेक्सी होटलमा लगानी भएकोले पनि उहाँ निरन्तर काममा खट्नुभएको उहाँका साथी इञ्जिनियर विष्णुप्रसाद पोखरेलले नारायणी अनलाइनलाई बताउनुभयो ।
ग्यालेक्सी होटल निर्माण गरिरहेको हेमन्त निर्माण सेवाको शोनिस मुख्य इञ्जिनियर हुनुहुन्थ्यो । उहाँको निधनको खबरले होटल निर्माणमा खटिएका मजदुरहरु र सहयात्रीहरु सबै स्तब्ध छन् । इञ्जिनियर पोखरेलले भन्नुभयो ‘ मजदुरहरुलाई पनि शोनिस इञ्जिनियर जस्तो असल कोही छैन भन्ने छाप परेकोले उनकै स्मरण गरिरहन्छन् । ’ झण्डै डेढ वर्षदेखि सँगै काम गर्नुभएका इञ्जिनियर पोखरेलले शोनिसको स्मरण गर्नुभयो, ‘ दुईपटक कोभिडलाई जितेका उनले डेँगुलाई जित्न सकेनन् । सबैसँग नरम र सहयोगी प्रकृतिको उनलाई गुमाउँदा हामी स्तब्ध भएका छौं ।’ डेँगुले गर्दा शोनिसको आफ्नो बुबाको मुख्य लगानी रहेको तीन तारे ग्यालेक्सी होटल छिट्टै सञ्चालन गर्ने सपना अधुरै रह्यो । विदेशबाट आएको विभिन्न अवसरहरु त्यागेर चितवनमा नै बसेर केही गर्छु भन्ने अठोट बोकेका एक युवा इञ्जिनियर गुमाउनु सारै दुःखद् घटना भएको सोनिसका सहकर्मीहरु स्मरण गर्छन् ।
























