चितवन विशेष
सुर्खेतका जनप्रतिनिधि र कर्मचारीको टोलीलाई भरतपुरमा स्वागत

चितवन, कात्तिक २०–
भरतपुर महानगरपालिकाले सुर्खेत जिल्लाका तीन वटा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको टोलीलाई आइतबार कार्यालयमा स्वागत गरेको छ ।
अन्तर नगरपालिका सिकाई आदान–प्रदान कार्यक्रको लागि सुर्खेतको भेरिगंगा नगरपालिका, वीरेन्द्रनगर नगरपालिका र लेकबेशी नगरपालिकाबाट जनप्रतिनिधि तथा कर्मचारीहरु अवलोकन भ्रमणका लागि आइतबार भरतपुर महानगर आइपुगेका हुन् ।
उनीहरुलाई भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले एक औपचारिक कार्यक्रमका बीच स्वागत गर्दै भरतपुर महानगरपालिकाको भौगोलिक अवस्था र विपद् व्यवस्थापनमा हुँदै आएका कामका बारेमा जानकारी गराउनु भएको थियो । उपप्रमुख अधिकारीले विकास र समृद्धिमा भरतपुर महानगर देशकै उत्कृष्ट महानगरपालिका सावित भएको बताउँदै आगामी दिनमा पनि आवसी सहयोग र सहकार्यको लागि महानगर तयार रहेको बताउनुभयो । भरतपुर महानगरको विकास देशले नै गर्व गर्न लायकको भएको पनि उहाँको तर्क रहेको थियोे ।
भरतपुर महानगरपालिकाका अधिकृत बालकृष्ण थपलियाले संचालन गर्नु भएको उक्त कार्यक्रममा सुर्खेतका विभिन्न तीन पालिकाका प्रतिनिधिहरुले सम्वन्धित पालिकाको भौगोलिक अवस्था र विपद् व्यवस्थापनमा हुँदै आएका कामका बारेमा जानकारी गराएका थिए ।


























