Breaking News

बैँकले मनपरी व्याजदर बढाएको भन्दै चितवनमा व्यवसायीहरु आक्रोशित, विरोधका कार्यक्रम तय

Banner

चितवन, कात्तिक १९-

बैँकहरुले मनपरी व्याजदर बढाएको भन्दै चितवनका उद्योगी तथा व्यवसायीहरु आन्दोलित भएका छन् ।

व्यवसायीहरुले सामाजिक सञ्जालमा स्टाटस नै लेखेर बैँकहरु विरुद्ध सडकमा आउने चेतावनी दिएका हुन् । नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै बैँक तथा बित्तिय संस्थाको चरम बेथितिविरुद्ध सम्पूर्ण उद्योगी तथा व्यवसायीहरु सडकमा निस्कनुपर्ने भएको बताउनु भएको छ । उहाँले नारायणी अनलाइनलाई भन्नुभयो, ‘ बैँकले नागरिकलाई सेवा दिने हो । मनपरी ब्जायदर बढाउन पाइँदैन । साढे १० प्रतिशत भन्दा बढी लिन नपाइनेमा बढाएर १८ प्रतिशतसम्म पु¥याएका छन् । यसबाट व्यवसायीहरु अप्ठ्यारोमा परेका छन् । ’ उहाँले मनपरी ब्जायदर बढाउँदा व्यवसायीहरुले किस्ता तिर्न पनि कठिन भएको बताउनुभयो ।

यस विषयमा चितवनमा व्यवसायीहरु बैँकहरुप्रति आक्रोशित भएपछि उद्योग वाणिज्य संघ चितवनले पनि विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । काठमाडौँमा भएको विरोधको कार्यक्रममा सहभागी हुन उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठ काठमाडौँमा हुनुहुन्छ । उद्योग वाणिज्य संघ चितवनले पनि भोलि आइबारबाट लागू हुने गरी बैकर्सहरुसँग छलफल, पत्रकार सम्मेलन, विरोध र्‍याली जस्ता कार्यक्रम तय गरेको संघका कार्यकारी निर्देशक निलबहादुर केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ यस विषयमा सम्बन्धित निकायको ध्यान आकर्षण नभए संघले कडा विरोध प्रदर्शनका कार्यक्रम पनि तय गर्न सक्नेछ ।’

बैँकले निक्षेपको ब्याज बढाउँदा कर्जाको पनि ब्याज बढ्ने भएकाले त्यसले उद्योग र व्यापार सञ्चालनमा नकारात्मक असर पार्ने चितवनका व्यवसायीहरुले बताउँदै आएका छन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर बढाए । केही बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतको सीमालाई समेत उल्लंघन गर्दै निक्षेपको ब्याजदर १५ प्रतिशतसम्म पुर्याए । अर्काेतिर बैँकबाट लिएको कर्जा तुरुन्त तिर्न चितवनका बैँकहरुले ताकेता गर्न थालेपछि व्यवसायीहरु झनै समस्यामा परे । बैँकहरुले कर्जा तुरुन्त तिर्न भन्दै धम्की दिन थालेको व्यवसायीहरुको गुनासो छ ।

सप्तगण्डकी बहुमुखी क्याम्पसका व्यवस्थापन विभागका प्रमुख तथा बैँकिङ क्षेत्रका अनुसन्धानकर्ता कपिलदेव सुवेदीले बैँकहरु सामाजिक उत्तरदायित्व भन्दा नाफा कमाउन लागेकोले समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ बैँकहरु नाफामुखी बन्दै एकोहोरो व्याजदर बढाउनु गलत हो । भारतलगायत विश्वका अन्य देशमा ब्याजदर बढेको छैन । नेपालमा मनपरी छ ।’ सुवेदीले बैँकहरुले बैँकहरुले विभिन्न कोषहरुको उपभोग गरेर व्यवसायीहरुलाई कर्जा दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ उद्योग तथा व्यवसाय क्षेत्रमा राहत दिनुपर्छ । पुर्नकर्जाको व्यवस्था गरेर दुई वर्षसम्म तिर्न सक्ने व्यवस्था गर्नुपर्छ । तुरुन्त कर्जा तिर भनेर धम्की दिनु हुँदैन ।’ यहाँले ब्जाजदर घटाउने थुप्रै उपायहरुबारे सोचबिचार गर्न सुझाव दिनुभयो । बैँहरुमा तरलता संकट आएको भन्दै कोरोनाले थला परेको व्यवसाय क्षेत्र बन्द नै गर्नुपर्ने गरी ब्याजदर बढाउनु गलत भएको चितवनका व्यवसायीहरु बताउँछन् । बैँक सञ्चालकहरु भने निक्षेपकर्ताहरुको पैसा बैँकमा नआए व्यवसायीहरुलाई ऋण दिन नसकिने बताउँदै आएका छन् ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>